स्थानीय स्रोतबाटै उल्लेख्य राजश्व संकलन हुन्छ

स्थानीय स्रोतबाटै उल्लेख्य राजश्व संकलन हुन्छ केशव गुरुङ ६ आश्विन २०७८, बुधबार ०८:५२
स्थानीय स्रोतबाटै उल्लेख्य राजश्व संकलन हुन्छ

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७ काठमाडौं महानगरपालिकाको बौद्धनाथ स्तुपको करिब तीन किलोमिटर पूर्वतर्फ बागमती नदी किनारमा पर्छ । क्रिकेट मैदान, ग्रिनसिटीबाट पश्चिम, गोकर्णेश्वर सफारी पार्क, गोकर्णेश्वर मन्दिरबाट दक्षिण, कागेश्वरी मनहरा–८ बाट उत्तर क्षेत्रमा फैलिएको छ । चारधाम, दक्षिणकाली, दक्षिणढोका, ढुंगानागाउँ, अर्यालगाउँ, शिवचोक, हत्यामोचनघाट, चन्द्रसूर्यटोल, वनदेवी मार्ग, रामजानकी मार्ग आदि ठाउँ यही वडामा पर्छ ।

धार्मिक दृष्टिले महत्वपूर्ण यो ठाउँमा सिद्धिविनायक मन्दिर, मनकामना मन्दिर, सरस्वती मन्दिर र विन्देश्वरी मन्दिर रहेका छन् । १८१० सालमा स्थापना भएको मन्दिर हो यो । रोगव्याधिले सताउने र प्राकृतिक प्रकोप पनि बढ्दै गएकाले सिद्धिविनायक मन्दिरको स्थापनी गरी पूजाआजा चलाएपछि रोगव्याधि नियन्त्रणमा आएको बूढापाकाहरूको भनाइ छ ।

गोकर्णेश्वर नगरपालिकाका नौवटा वडामध्ये सम्भवतः सानो भूगोल र जनसंख्या पनि थारै भएको वडा हो यो । २०६८ सालको जनगणनामा करिब तीन हजार जनसंख्या थियो, अहिले पाँच हजार होला । थप दुई हजार जति अस्थायी जनसंख्या होला । ६ वटा विद्यालय र केही उद्योग तथा ठूला पसलहरू पनि यो वडामा छन् । तत्कालीन जोरपाटी गाविसको वडा नम्बर ५ थियो यो क्षेत्र ।

रोगव्याधिले सताउने र प्राकृतिक प्रकोप पनि बढ्दै गएकाले सिद्धिविनायक मन्दिरको स्थापनी गरी पूजाआजा चलाएपछि रोगव्याधि नियन्त्रणमा आएको बूढापाकाहरूको भनाइ छ ।

संविधान निर्माणपछि स्थानीय तहको संरचना निर्माण गर्दा वडाहरूको संख्या घटाएर नौ बनाउने क्रममा यो वडा ७ नम्बर कायम भएको हो । एकदशक अघिसम्म स्थानीय जनताकै बाहुल्यता थियो । तिब्र शहरीकरणसँगै देशभरका मानिसहरूको स्थायी बसोबास सुरु भयो । खासगरी सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोकबाट बसाइँ सरी आउनेहरूको संख्या यो वडामा उल्लेख्य छ । स्वयं मेरो पुख्र्यौली थलो पनि सिन्धुपाल्चोक हो । यो वडामा बाहुन, नेवार, क्षेत्री, गुरुङ, तामाङलगायत विभिन्न जातजातिको बसोबास छ ।

पहिलो कुरा त, हाम्रो वडाको भूगोल नै सानो छ, दोस्रो कुरा प्रायः सबै जग्गामा घर बनिसकेका छन् । ठूला संरचना निर्माण गर्नका लागि जग्गाकै अभाव छ । यो करिब चार वर्षको अवधिमा हामीले वडास्तरीय विकास निर्माणको काममा करिब १२ करोड रुपैयाँ खर्च गरिसक्यौं । आधारभूत विकास निर्माणका काम करिब करिब सम्पन्न हुन लागेका छन् । बाँकी अरु काम केही वर्षमा सम्पन्न हुनेछन् । त्यसपछि के गर्ने भन्ने सन्दर्भमा योजना बनाउँदैछौं, विज्ञहरूसँग सल्लाह गर्दैछौं । किनकि स्थानीय स्रोतबाट पनि उल्लेख्य राजश्व संकलन हुने गरेको छ । पहिलो वर्ष ५५ लाख रुपैयाँ संकलन भएको थियो । दोस्रो वर्ष ७२ लाख पुग्यो । कोरोनाको कहर नभएको भए यो वर्ष एक करोड नाघ्ने अवस्था थियो, तर गत वर्षकै हाराहारीमा संकलन हुने अनुमान गरेको छ ।

यो करिब चार वर्षको अवधिमा हामीले वडास्तरीय विकास निर्माणको काममा करिब १२ करोड रुपैयाँ खर्च गरिसक्यौं ।

हाम्रो वडाले विकास निर्माणका लागि नगरपालिकाबाट पहिलो वर्ष तीन करोड रुपैयाँ पाएको थियो । दोस्रो वर्ष तीन करोड पायो, तेस्रो र चौथो वर्ष दुई करोड २५ लाख रुपैयाँको दरले पाएको छ । खानेपानी, सडक कालोपत्रे तथा ढलानको काम करिब करिब सकिएको छ । पुरानो बस्ती अर्यालगाउँ र दक्षिणढोकामा वर्षायाममा ढलको समस्या हुने गर्छ ।

यो समस्या अलि जटिल नै छ । ऐतिहासिक तथा पुरातात्विक सम्पदा हाम्रो वडामा खासै छैन । दक्षिणढोकामा गणेश मन्दिर छ । अर्यालगाउँमा १० रोपनी क्षेत्रफलमा फैलिएको शिव पञ्चायन धार्मिक वनलाई थप संरक्षण तथा व्यवस्थित गरिएको छ । यसैगरी, प्रसिद्ध साहित्यकार भैरव अर्यालका दाजुभाइ खलकहरूले यहीँको अर्यालगाउँमा बस्नुभएको छ । उहाँहरूको सक्रियतामा भैरव अर्यालको नाममा पुस्तकालय स्थापना भएको छ ।
(गोकर्णेश्वर नगरपालिका–७ का केशव गुरुङ वडाअध्यक्ष हुन् । उनको यो लेख गोकर्णेश्वर नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)