नेपाली काँग्रेसको सात जिल्लाको वडा अधिवेसन सम्पन्न

नेपाली काँग्रेसको सात जिल्लाको वडा अधिवेसन सम्पन्न तरुण खबर ६ आश्विन २०७८, बुधबार ०८:५३
नेपाली काँग्रेसको सात जिल्लाको वडा अधिवेसन सम्पन्न

काठमाडौं । नेपाली काँग्रेस काठमाडौंको वडा अधिवेशन हिजो मंगलबार सम्पन्न भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिएको थियो । तर क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन ।

पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो । काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर काठमाडौं जिल्लालाई पठाइसकेकाले (मंगलबार) वडा अधिवेशन गर्न लागेको जानकारी दिएका थिए ।

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० वटा प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा काँग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरु छन् । क्रियाशिल सदस्यता विवाद समाधान नहुँदा सर्लाही, बारा, रौतहटसहित १३ जिल्लाको नाम सार्वजनिक भएको छैन । काभ्रे, सिन्धुपाल्चोकलगायत सात जिल्लाको वडा अधिवेस सम्पन्न भएको छ ।

काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । देशभर करिब नौ लाखको संख्यामा रहेका काँग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

काँग्रेसले गाउँ÷नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।