क्यानडाका प्रधानमन्त्रीको पार्टीले बहुमत ल्याउँन सकेन

क्यानडाका प्रधानमन्त्रीको पार्टीले बहुमत ल्याउँन सकेन तरुण खबर ६ आश्विन २०७८, बुधबार ०८:५५
क्यानडाका प्रधानमन्त्रीको पार्टीले बहुमत ल्याउँन सकेन

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोले सांसदका रूपमा आफ्नो सिट सुनिश्चित गरेका छन् । उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेको उनको पार्टी सीबीसीले जनाएको छ । लिबरल पार्टीले सन् २०१९ मा भएको निर्वाचनमा पाएको जति नै सिटमा अहिले जित हासिल गरेको छ । सन् २०१५ देखि जस्टिन ट्रुडो निरन्तर क्यानडाको सत्तामा छन् । गत सोमबार भएको निर्वाचनमा लिबरल पार्टीले १५७ सिटमा जित हात पारेको छ । २०१९ मा पनि लिबरल पार्टीले त्यति नै सिट पाएको थियो ।

क्यानडाको संसद हाउस अफ कमन्समा बहुमतको लागि १७० सिट आवश्यक पर्छ । कन्जर्भेटिभ्स पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । २०१९ मा पनि यो पार्टीको अवस्था यस्तै थियो । वामपन्थी न्यु डेमोक्रेट्स २९ सिटमा अगाडि छ । अघिल्लोपटकको तुलनामा यो पार्टीले पाँच सिट बढी जितेको छ । ब्लक क्युबेकोइसको सिट घटेर २८ मा आइपुगेको छ । यद्यपि प्रधानमन्त्री जष्टिनको पार्टीले बहुमत भने हात पार्न सकेन । प्रधानमन्त्री जस्टिन ट्रुडोले मध्यावधि संसदीय निर्वाचनको घोषणा गरे पनि उनका लागि यो निर्वाचन त्यति फलदायी भने रहन सकेन ।

केही समयअघि प्रधानमन्त्री जष्टिन ट्रुडोले आफ्नो गृह जिल्ला पुगेका थिए । त्यस क्रममा उनले संवाददाताहरूलाई आफूले पापीनोका उत्कृष्ट सांसदलाई मत दिएको बताएका थिए । प्रधानमन्त्री ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गरेका छन् । यसअघि उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए । सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका छन् ।