गोकर्णेश्वर पूजा विधि र उपत्यकामा १००८ घाट

गोकर्णेश्वर पूजा विधि र उपत्यकामा १००८ घाट तरुण खबर ७ आश्विन २०७८, बिहीबार ०९:२९
गोकर्णेश्वर पूजा विधि र उपत्यकामा १००८ घाट

काठमाडौं । पशुपतिनाथको मन्दिर जस्तै गोकर्णेश्वर मन्दिरमा पनि दक्षिण भारतबाटै आएका भट्टहरूद्वारा पूजा आराधना हुने परम्परा छ । यो परम्परा युगौंदेखि सुरु भएको बताउँदै मूल पुजारी जगदीशचन्द्र भट्ट भन्नुहुन्छ– ‘भगवान ब्रह्माजीले आफैंले यहाँको पूजाआजाको परम्परा सुरु गर्नुभएको हो, उहाँका सन्ततीले नै अहिलेसम्म निरन्तरता दिँदै आएका छन् । ब्रह्माजीका सन्तती नेपालमा नभएका होइनन्, तर वंशानुगत रूपमै माछामासु सेवन नगरेको र तान्त्रिक विधि जानेको पुजारी हुनुपर्ने भएकाले दक्षिण भारतबाट भट्ट ल्याउन थालियो । आदिशंकराचार्यको नेपाल आवागमनपछि पशुपतिनाथको महिमा पनि बढ्दै गयो, दक्षिण भारतबाट गोकर्णेश्वरका भट्टहरूले नै पशुपतिनाथको पूजा चलाउन थाले । तर पशुपतिका भट्ट नेपाली नागरिक हुन नमिल्ने, परम्परा बसाइयो भने गोकर्णेश्वरका भट्टलाई नेपालीकरण गरियो ।’

तत्कालीन मल्ल राजा जयस्थिति मल्लले नेपाल संवत् ५१२ मा दक्षिण भारतको कर्नाटक राज्यबाट पहिलो भट्ट पूजारीका रूपमा नारायण भट्टलाई निम्त्याएर पूजापाठ नियमित गराएको इतिहास छ । नारायण भट्ट भारतनै फर्किएपछि फेरि अर्का भट्टलाई ल्याएका थिए । त्यसउप्रान्त महेश्वर भट्ट, गोपाल भट्ट, गणेश भट्ट, राजाराम भट्ट, पुरुषोत्तम भट्ट, केशव भट्ट, जगदीशचन्द्र भट्ट यहाँको मूल पुजारी रहिसकेका छन् ।

विक्रम संवत् १८५७ सालदेखि गोकर्णेश्वरका भट्टलाई नेपालीकरण गरिएको हालका मूल पुजारी जगदीशचन्द्र भट्ट बताउनुहुन्छ । गोकर्णेश्वर मन्दिर र पशुपतिनाथ मन्दिरको पूजा विधि करिब करिब उस्तै हो, तर पशुपतिनाथ मन्दिरमा दक्षिण भारतका भट्टहरूलाई पुजारी नियुक्त गर्ने परम्परा यथावत् राखिएको छ भने गोकर्णेश्वर मन्दिरका भट्ट पुजारीलाई नेपालीकरण गरिएको छ । यसो किन गरियो ? भन्ने कुरा पनि अनुसन्धानको छुट्टै पाटो हो । ६२ वर्षीय मूल पुजारी भट्ट भन्नुहुन्छ– ‘नेपालीकरण भएको म पाँचांै पुस्ताको हुँ । मेरा छोरानातिले यो परम्परालाई निरन्तरता दिए भने ठीकै हुन्छ, दिएनन् भने फेरि दक्षिण भारतबाटै भट्ट खोजेर ल्याउनुपर्ने हुन्छ, तर यी दुवै विकल्प म सहज देख्दिनँ ।’ किन सहज छैन त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘गुठी प्रायः सबै मासिइसक्यो, तलब मासिक पाँच हजार पाँच सय हुन्छ, त्रिभुवन विश्वविद्यालयमा जागिरसमेत भएकाले मैले त्यसैको आम्दानीबाट घर खर्च धान्न सकेको छु ।

उदाहरणका लागि शिवरात्रीको पूजा गर्न गुठी संस्थानबाट २६ रुपैयाँ ७८ पैसा आउँछ, तर खर्च भने एक लाख रुपैयाँभन्दा माथि हुन्छ । मेरा छोराहरूमध्ये एउटा इन्जिनियर छ, ऊ धेरै नै व्यस्त छ, अर्को छोरा बैंकमा अफिसर छ, उसलाई पनि फुर्सद हुँदैन, आफ्नो पेसा छाडेर उनीहरूले मेरो विरासत सम्हाल्लान् भन्ने कुरामा मलाई शंका छ । त्यसैगरी हातमुख जोर्नै समस्या हुने तलब सुविधाका कारण दक्षिण भारतबाट भट्ट आउने सम्भावना पनि न्यून देख्छु ।’ तर सृष्टिकर्ता स्वयं ब्रह्माजीले नै स्थापना गरेर आफंैले पूजा आराधना सुरु गरेको पवित्र तीर्थस्थल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँको पूजा परम्पराले निरन्तरता पाउने कुरामा म विश्वस्त छु ।’

घाट तथा तीर्थहरूको सहर
काठमाडौं उपत्यकामा भएका घाट र धार्मिकस्थलहरू कति छन्, हामीमध्ये धेरैलाई जानकारी नहुन पनि सक्छ । अघिल्लो पुस्ताले गरेको नामाकरण र धार्मिकस्थलहरूको महत्वबारे जानकारी राख्नु, राख्न प्रेरित गर्नु स्थानीय सरकारहरूको कर्तव्य नै हो । गोकर्णेश्वरको सुन्दरीजलदेखि चोभारभन्दा तल रहेको सुन्दरीघाटसम्ममा कुल १००८ वटा घाट तथा धार्मिकस्थलहरू रहेका छन् । ती सबै घाटहरूको आ–आफ्नै महत्वपूर्ण विशेषता रहेको बताउनुहुन्छ प्रा.डा.ऋषिराम पोखरेल । गोकर्णेश्वरको वरपरको तीनदेखि चार किलोमिटरको क्षेत्रभित्र मात्रै पनि दर्जनौं तीर्थस्थल तथा घाटहरू छन् । तिनीहरूमध्ये केहीको नाम निम्नानुसार छ । सप्तर्षिघाट, कपोलतीर्थ, पिंगलादेवी घाट, कोलमतेश्वर महादेव (खडानन्द ब्रह्मचारीलगायतले तपस्या गरेको स्थान), कैलाशपुर, उत्तर बाहिनी, कान्तिघाट, कोलमति, चोलमति र बाग्मतीको संगम (जसमा नुहाउँदा १६ हजार गाई दान गरे बराबरको पुण्य हुन्छ भन्ने विश्वास गरिन्छ), पुडासैनीघाट, मसानेश्वरघाट (नेवार समुदायहरूको घाट), अत्रि घाट, सुवेदी घाट, पोखरेलहरूको घाट, ढकाल घाट, उनलिंगेश्वर, काकेश्वर (काकगंगेश्वर), बराह कर्णेश्वर (बराह घाट), गणेश घाट (घटक गणेशको घाट), सहश्रेश्वर घाट (दशरामा नुहाउने घाट), दधिचि घाट, अगत्स्य घाट, बाग्मती, नागमति र स्यालमतिको संगम, यी पवित्रस्थलहरू अहिलेको जोरपाटी र मूलपानी जोड्ने पुलभन्दा माथिको चार किलोमिटरको दूरीमा यी घाटहरू छन् भनिन्छ ।

१२ तीर्थमध्ये पहिलो गोकर्णेश्वरमै
काठमाडौं र ललितपुरमा मात्र १२ वटा तीर्थ छन् । गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा पुण्य तीर्थ छ । यो पुण्य तीर्थ नै पहिलो हो । यसपछि क्रमशः गुह्येश्वरीमा शान्त तीर्थ, शंखमूलमा शंकर तीर्थ, धनवन्तरीमा राज तीर्थ (ललितपुर, ज्वागल), टोखा जानेबाट (फुसिंख्यः) मा मनोहर तीर्थ, शोभाभगवतीमा (भचा खुसी) निर्मल तीर्थ, विष्णुमती (कंकेश्वरी) मा निधान तीर्थ (काठमाडौं गणेशस्थानबाट जाँदा जहाँ विष्णुमती भेट हुन्छ), कालमिाटीमा ज्ञान तीर्थ (प्रहरी चौकी पछाडि), चिन्तामणि तीर्थ (बागमती र विष्णुमती भेटिने दोभानमा, पचली), प्रमोद तीर्थ (दानगाःबयोधा अस्पतालसँगै), सुलक्षण तीर्थ (चोभार) जया तीर्थ (नक्खुखोलाको नाम प्रभावती हो, त्यो नदी बागमतीमा मिलेपछिको दोभान) रहेका छन् । हरेक तीर्थहरूबारे किंवदन्ति र जनश्रुतिहरू छन् भने कतिपय त चाखलाग्दा पनि छन् । यी तीर्थमा स्नान गर्ने र दान गर्ने फरक फरक विधि र सामानहरू छन् । तर अहिले कतिपय तीर्थ लोप भएर गएका छन् भने कतिपय लोपोन्मुख छन् । अझै खोज तथा अनुसन्धानको खाँचो महशुस भएको छ ।