वायु प्रदूषणका कारण विश्वभरी ७० लाखभन्दा बढीको मृत्यु

वायु प्रदूषणका कारण विश्वभरी ७० लाखभन्दा बढीको मृत्यु तरुण खबर ८ आश्विन २०७८, शुक्रबार ०८:२४
वायु प्रदूषणका कारण विश्वभरी ७० लाखभन्दा बढीको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ । उसले वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको छ । डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ । आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका छन् ।

ह्युमन राइट्स वाचका अनुसार ७५ प्रतिशत कोभिड–१९ खोप १० देशमा पुगेका छन् । द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको आँकडा अनुसार अहिलेसम्म बनेका कोभिड खोपमध्ये आधा जसो विश्वका १५ प्रतिशत मानिसहरूसम्म पुगेको छ । विश्वका धनी देशहरूले गरिब देशका तुलनामा १०० प्रतिसतसम्म बढ्ता कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जुन महिनामा जी–सेभेन सदस्य राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिकाले अर्को वर्ष गरिब देशहरूका लागि एक अर्ब मात्रा खोप दान गर्ने बाचा गरेका थिए । खोप निर्माताहरूले हरेक महिना १.५ अर्ब मात्रा उत्पादन गरिरहेका छन् । ११ अर्ब यो वर्षको अन्त्यसम्ममै उत्पादन भइसक्ने बाइएको छ ।

डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ । नोभेम्बरमा हुन लागेको कोप–२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ । बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम २.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ । त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन् । अद्यावधिक निर्देशिकामा प्रस्ताव गरिएअनुसार विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम २.५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्थ्यो– डब्ल्यूएचओले भनेको छ । उसले पीएम–१० भनिने सूक्ष्म कणको स्वीकार्य तह पनि २५ प्रतिशतले घटाइदिएको छ । उक्त निर्देशिकामा ओजोन, नाइट्रोजन डाईअक्साइड, सल्फर डाईअक्साइ र कार्बन मनक्साइडलाई पनि हानिकारक प्रदूषकका रूपमा खुट्ट्याइएको छ ।

वायु प्रदुषणबाट कस्ता–कस्ता रोग ?
वायु प्रदूषणका कारण मुटुको रोग र स्ट्रोक हुन सक्छ । बालबालिकामा प्रदूषित वायुले फोक्सोको विकास रोकिदिन सक्छ र नराम्रो किसिमको दम गराउन सक्छ । “वायुको गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन रोक्ने प्रयासलाई प्रश्रय दिन सक्छ तथा उत्सर्जन रोक्दा वायुको गुण सुधार हुनसक्छ– डब्ल्यूएचओले भनेको छ ।