नेपाली साहित्यमा गोकर्णेश्वर नगरपालिका क्षेत्रको योगदान

नेपाली साहित्यमा गोकर्णेश्वर नगरपालिका क्षेत्रको योगदान तरुण खबर ८ आश्विन २०७८, शुक्रबार ०८:२९
नेपाली साहित्यमा गोकर्णेश्वर नगरपालिका क्षेत्रको योगदान

काठमाडौं । नेपाली साहित्यमा गोकर्णेश्वर नगरपालिकाको योगदान उल्लेखनीय छ । भैरव अर्याल, रमेश विकल, प्रा.डा. ऋषिराम पोखरेल, विजय चालिसे, कञ्चन पुडासैनी, गोविन्द घिमिरे वेदमणि, बाजुराम पौडेलजस्ता चर्चित साहित्यकारहरूको योगदान राष्ट्रियस्तरमै छ । नयाँ पुस्ताका कविहरू तथा कथाकारहरू पनि गोकर्णेश्वर नगरपालिकामा धेरै छन् ।

प्रसिद्ध हास्यव्यंग्यकार भैरव अर्याल
नेपाली साहित्याकासमा प्रसिद्ध हास्यव्यंग्यकार हुन् भैरव अर्याल । उनी नेपाली हास्यव्यंग्य निबन्ध फाँटमा निकै चर्चित छन् । भैरव अर्यालको जन्म १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । नेपालीमा एमए, साहित्यरत्न र संस्कृतमा मध्यमासम्मको अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरेका थिए । पत्रकारितामा अध्यापन र खोज तथा अनुसन्धानमा संलग्न उनका भतिजा निर्मल अर्यालले लेखेका छन्– पेट मिचिमिची हँसाउने गरी सामाजिक बेथिति, विसंगतिविरुद्ध आफ्नो तिखो व्यंग्यवाण मात्र भैरवले चलाएनन्, धुरुधुरु रुवाउने सिर्जना (विशेषगरी कविता)समेत रचना गरेका थिए । (नयाँ पत्रिका दैनिक २३ मंसिर) । प्रजातन्त्रको अभ्युदय २००७ सालपछिसँगै ठोस आकार ग्रहण गर्दै गरेको नेपाली पत्रकारितामा भैरव अर्यालको उच्चकोटिको श्रम, सीपका विषयमा भने खासै व्याख्या भएको छैन ।

रोजीरोटीका लागि सुरुवाती दिनहरूमा भैरव अर्याल शिक्षक रहे पनि ०१५ सालदेखि औपचारिक रूपमा पत्रकारितामा आबद्ध भएका थिए । ०१५ सालमा त्यतिवेलाको चर्चित दैनिक ‘हालखबर’ मा संलग्न भएलगत्तै भाषामा बलियो पकड राखेका भैरवको व्यंग्य साहित्यसँगै पत्रकारिता पनि व्यावसायिक भएको देखिन्छ । त्यतिवेला ‘हालखबर’मा मदनमणि दीक्षित प्रधान सम्पादक थिए ।

उनी ०१८ फागुन ५ देखि सहायक सम्पादकको रूपमा ‘गोरखापत्र’मा प्रवेश गरेको उनका भतिजा एवं वरिष्ठ साहित्यकार निर्मल अर्यालले उल्लेख गरेका छन् । अझै खोज तथा अनुसन्धानको खाँचो महशुस भएको छ । ‘गोरखापत्र’मा रहँदै उनले पूर्वी जर्मनीको कलेज अफ सोलिडारिटीबाट पत्रकारितामा डिप्लोमा गरे र अंग्रेजी भाषा पनि बलियो बनाएका थिए । नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बंगलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाश कहिल्यै ननिभ्ने तारा हुन् । उनको निधन २०३३ असोजमा काठमाडौको गोकर्णमा भएको हो ।

भैरव अर्यालको साहित्यिक यात्रा
उनले सर्वप्रथम २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन् । उनको पहिलो रचनाका रूपमा २०१३ मा ‘नव निर्माण’ शीर्षकको कविता प्रकाशित भएको थियो । उनले हाँस्यव्यंग्य, काव्य आदिमा कलम चलाए । २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा भैरव अर्याल प्रथम भएका थिए । उनका केही चर्चित निबन्धहरूमा जय भुँडी, चुरोट ः केही झिलिमिली संस्मरण, लाहुरेको यात्रा–संस्मरण, भान्सा भो हजुर ?, विकृति प्रतियोगिताको आयोजक समिति, नाम फेर्ने धुनमा, ‘उडाउनु’ सित एकछिन उड्दा, केही राष्ट्रिय रोग ः एक अनुसन्धान, मपाईं जस्ता कृति सार्वजनिक भएका छन् । जीवनभर सबैलाई हँसाएका भैरव अर्यालले २०३३ असोजमा गोकर्णमा देहत्याग गर्नुअघि कोरेको यो कविताले धेरैलाई रुवाएको छ ।

टाढाटाढा एउटा गाउँमा
बाजेबराजु मरेकै ठाउँमा
म पनि अचानक अस्ति खसेको छु
त्यसैले आपूm आप्mनै किराया बसेको छु ।
ए कोही नआओ बोलाउन मलाई
मभित्र आप्mनै कोलाहल छ
निषेधको कोरा बारी बसेको छु
आप्mनै वियोग वेदनाको हलाहल छ ।

वरिष्ठ साहित्यकार रमेश विकल
अर्का वरिष्ठ साहित्यकार रमेश विकल (रामेश्वर शर्मा चालिसे) देशकै नामी साहित्यकार हुन् । रमेश विकलको जन्म गोकर्णेश्वर नगरपालिका, जोरपाटी आरुबारीमा १९८५ कात्तिक २२ गते भाइटीकाको दिन भएको हो । चन्द्रशेखर र छायादेवी चालिसेको कोखबाट जन्मेका विकलको वास्तविक नाम रामेश्वरप्रसाद चालिसे हो । वरिष्ठ आख्यानकार रमेश विकलको न्वारानको नाम इन्दुशेखर हो । रमेश विकलको विवाह १२ वर्षको उमेरमा सात वर्षकी सुशीलासँग भएको थियो । विकलका दुईजना छोरा र चारजना छोरीहरू रहेका छन् । उनका छोरा विजय चालिसे पनि वरिष्ठ साहित्यकार हुन् ।

विकलका पिता चन्द्रशेखर उपाध्याय हार्मोनियम र तबला बजाएर भजन गाउँथे । यही प्रभावबाट विकलले हार्मोनियम, तबला, भ्वाइलिन र बाँसुरी बजाउन सिके, तर रेडियो नेपालको स्वर परीक्षामा असफल भएपछि यो क्षेत्रबाट टाढिए । उनले चित्रकलाको आधारभूत शिक्षा भने चन्द्रमानसिंह मास्के र आनन्दमुनि शाक्यबाट लिएका हुन् ।

प्रगतिवादी साहित्यकार विकलको २००५ र २००६ सालतिर हस्तलिखित पत्रिका ‘सन्देश’को पहिलो अंक (२००५) मा पहिलो कविता प्रकाशित भएको थियो । उनको सार्वजनिक साहित्यिक यात्रा भने २००६ सालमा शारदा पत्रिकामा ‘गरिब’ कथा प्रकाशित भएपछि भएको हो । उनले कथाकार र उपन्यासकारका रूपमा प्रसिद्धि पाएका थिए । अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि थिए । नयाँसडकको गीत कथासंग्रहका लागि उनले २०१८ सालको मदन पुरस्कार पाएका थिए, त्यतिबेला उनको उक्त कथासंग्रह पाण्डुलिपिमै थियो ।

नेपाली साहित्यिक भण्डारमा कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यंग्य र बालसाहित्यका ५५ वटा पुस्तक प्रकाशित गरेर रमेश विकलले नेपाली साहित्यलाई महत्वपूर्ण योगदान पु¥याएका छन् । उनका कथासंग्रह ७, उपन्यास ४, नाटक एकांकी ४, यात्रासाहित्य ३, आत्मसंस्मरण २, व्यंग्य १, बालसाहित्य २७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन् ।

वरिष्ठ साहित्यकार प्रा.डा.ऋषिराम पोखरेल
वेदमा पीएचडी गरेका डा.ऋषिराम पोखरेल साहित्यकारका रूपमा स्थापित नाम हो । गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा जन्मे–हुर्केका डा.पोखरेलले कविता, निबन्ध, समीक्षा, मनकामना स्तोत्र संग्रह, मनकामना पूजाविधिजस्ता कृति प्रकाशित गरेका छन् । २००० साउन २४ गते जन्मिएका प्राध्यापक पोखरेल नेपालको समन्वयात्मक दर्शन, चरित्र विज्ञानजस्ता उच्चकोटिका दर्शन लेखेका छन् । उनी वेद, उपनिषद्, धर्मपुराण, इतिहास र संस्कृतिका ज्ञाता मानिन्छन् ।

विजय चालिसे (विजयकुमार चालिसे)
विजय चालिसेको जन्म २००८ असार २२ गते काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिकाको जोरपाटी आरुबारीमा भएको हो । उनी साहित्यकार रमेश विकलका छोरा हुन् । नेपालीमा एमए र बीएड, पत्रकारितामा डिप्लोमा गरेका चालिसेले कथा, उपन्यासमा कलम चलाउँदै आएका छन् । उनको पहिलो रचनाका रूपमा २०३० मा ‘आँसुमा रुझेको जीवन’ शीर्षकको कथा प्रकाशित भएको थियो । उनका कृतिहरूमा अनि कुइरो फाट्छ (उपन्यास), होटेल राँकिमा हत्या (उपन्यास), प्रयोग–प्रत्यारोपण (कथासंग्रह), त्रिविध (सहलेखन–कथासंग्रह), भग्न आस्थाको खण्डहर (कथासंग्रह), अग्निचक्र (कथासंग्रह), विज्ञानको कैदी (कथासंग्रह), खोसिएको सपना (कथासंग्रह), अप्रिलको बेलायत यात्रा (निबन्ध), मनका तूलिकामा स्मृतिका बिम्बहरू (निबन्ध), ओह्…नेपारु (निबन्ध), डोटेली लोक संस्कृति र साहित्य (संस्कृति), दयालु राजकुमार (बालचित्र कथा), समाचार संकलन, लेखन र सम्पादन (पत्रकारिता), आमसञ्चारका विविध पक्ष (पत्रकारिता), आमसञ्चार, द्वन्द्व र आतंकवाद (पत्रकारिता), ःभमष्ब बलम ऋगतिगचभ (पत्रकारिता), आमसञ्चारका सिद्धान्तहरू, सेवाका प्रतिमूर्तिः दयावीरसिंह कंसाकार (जीवनी), अनौठोभूमिमा एलिस (अनुवाद उपन्यास), हाम्रो वरिपरिको विज्ञान (बालविज्ञान), बादलका बुट्टाहरू (बाल नाटकसंग्रह), हराएको मूर्ति (बालकथा संग्रह), विजय चालिसेका बालकथाहरू, टाटेपांग्रे (संयुक्त कथासंग्रह), विश्वप्रद्धि बालकथाहरू (खण्ड–१) अनुवादलगायत धेरै कृतिहरू प्रकाशित भएका छन् ।

साहित्यकार चालिसेले साहित्यिक पत्रकारिता पुरस्कार, २०४६, हराएको मूर्ति बालकथा संग्रहका २०५६, टाटेपांग्रेका लागि जनकप्रसाद हुमागाईं र रञ्जुश्री पराजुलीसहित २०५७ सालको साझा बालसाहित्य पुरस्कार, पशुपति बहुमुखी क्याम्पस सम्मान तथा पुरस्कार, २०५७ र चटकीको बाँदर कथा संग्रहका लागि नेपाल बालसाहित्य पुरस्कार–२०५९, बालसाहित्य प्रतिष्ठान अभिनन्दन–२०६४, साहित्य सञ्जाल, चन्द्रनिगाहपुर रौतहटद्वारा देवकोटा शताब्दी सम्मान २०६५, सुनकोसी साहित्य सम्मान, सुनकोसी साहित्य प्रतिष्ठान, २०६६ र विशिष्ट शिक्षासेवी सम्मान–२०६६, राष्ट्रिय विकास तथा सम्मान केन्द्रलगायत अनेकौं पुरस्कार पाएका छन् ।

कञ्चन पुडासैनी
साहित्यकार कञ्चन पुडासैनी गोकर्णेश्वरकै हुन् । कञ्चन बाबु चन्द्रशेखर पुडासैनी र आमा विष्णुमायाका सुपुत्रका रूपमा १९९३ फागुन २९ गते गोठाटार, काठमाडौंंमा जन्मेका हुन् । गोकर्णेश्वर नगरपालिका जोरपाटीमा स्थायी बसोवास भएका पुडासैनीले २०४१ सालमा प्रत्यागमन उपन्यासका लागि मदन पुरस्कार र २०६३ मा छिन्नलता गीत पुरस्कारसमेत पाएका छन् । उनका अधूरो उपन्यास अधूरा इच्छा (उपन्यास, (२०६५), कवि, प्रेमिका, चालीस पुकार, आखिर, जतमतको सवाई, कवितै कविता, प्रेमको चिठ्ठी, कला, अक्षरहरू, भूमिसुधार अधिकारी, सान्त्वनालगायत दुई दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन् ।

साहित्यमा संलग्न अन्य केही व्यक्तित्वहरू
साहित्यकार गोविन्दप्रसाद घिमिरे वेदमणि र बाजुराम पौडेल पनि गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुन् । साहित्यकार वेदमणिले नगरपालिकाको साहित्यिक कार्यक्रमहरूमा सहयोग पु¥याउँदै आउनु भएको छ । २०२३ सालमा पानी समान ज्ञानी कवितामार्फत साहित्यमा उदाएका यिनका २० भन्दा बढी कृति प्रकाशित छन् ।

त्यस्तै, साहित्यकार बाजुराम पौडेलका सिर्जना फस्टाउनुपर्छ खण्डकाव्य र कविता संग्रह प्रकाशित भएका छन् । अर्का सहित्यकार वासुदेव अर्यालको जन्म पनि जोरपाटी, दक्षिणढोकामै भएको हो । २०२७ सालमा कामना शीर्षको यिनको कविता गोरखापत्रमा छापिएको छ । २०६४ सालमा अर्थमूलक नेपाली उखान प्रकाशित भएको छ । बद्रीनाथ आचार्यले २००८ सालमै जनक्रान्ति शीर्षकको काव्य लेखेर आप्mनो नाम साहित्यकारका रूपमा स्थापित गराएका हुन् । जोरपाटीको अर्याल गाउँमा जन्मिएका आचार्यले अष्टावक्र गीता नेपाली भाषामा अनुवाद गरेका छन् ।

जोरपाटी, नारायणटारमा जन्मिएका अर्का श्रष्टा हुन् ओम शर्मा पौड्याल । उनका इतिहासको बाह्र वर्ष, पक्षघात, नेताश्री, चट्यांग–पुराणजस्ता कृति प्रकाशित भएका छन् । उनी पेसाले इन्जिनियर हुन् । साहित्यकार डा.देवी शर्माको २०४४ सालमा शोध समीक्षा नामक समालोचना संग्रह प्रकाशित भएको छ । निरन्तर समालोचनामा कलम चलाउँदै आएकी उनको मधुपर्क र गरिमाजस्ता साहित्यिक पत्रिकामा कविता छापिएका छन् ।

२००७ माघ ७ गते जोरपाटी आरुबारीमा जन्मिएका श्यामबहादुर लामाको मेरो गोरु नामक हास्यव्यंग्य प्रकाशित भएको छ । २०२८–२९ सालमा धर्मपुत्र शीर्षक कथा गोरखापत्रमा प्रकाशित गरेका लामा गद्य र पद्यमा पनि हास्यरस मिसाएर सिर्जन गर्न सक्ने साहित्यकार हुन् । २०६१ सालमा कविता, कथा र निबन्धको संयुक्त संगालो मन नामक साहित्यिक संगालो प्रकाशित गरेका साहित्यकार निर्मल अर्याल प्राध्यापन, खोज तथा अनुसन्धानमा संलग्न छन् । जेके चालिसे उपनामबाट चिनिने जगदीशकुमार चालिसेको पहिलो कृति जासुसी उपन्यासका रूपमा २०२६ सालमा प्रकाशित भएको हो– सुनौलो तारा । नरमेन्द्र लामाको जन्म पनि जोरपाटी आरुबारीमै भएको हो । लामाको २०५८ सालमा प्रकाशित सांसदको पाडो र कुखुरीको दूध हास्यव्यंग्य प्रकाशित छ । जोरपाटीमा स्थायी बसोबास गर्दै आएका नारायणकुमार आचार्यका मनभित्रका आवाजहरू, अधुरो तिमीबिना जस्ता कविता संग्रह प्रकाशित छन् ।

योग साधक प्रह्लाद चालिसेका प्र्रारम्भिक योग र प्रयोगात्मक योग प्रकाशित कृति हुन् । यिनका पिता लीलानाथ चालिसे वेद, पुराण र योग साधानमा सिद्ध मानिन्थे, त्यसको प्रभाव प्रह्लाद चालिसेमा परेको छ, जुन स्वाभाविक हो । अंग्रेजी साहित्यमा कलम चलाउँदै आएका मोहन कार्की गोकर्णेश्वर जोरपाटीका स्थायी बासिन्दा हुन् । साहित्य सेवा र पत्रकारिता गरिरहेका कार्कीले नेपाली साहित्यलाई कोरियन भाषमा र कोरियन भाषबाट नेपालीमा अनुवाद गरिरहेका छन् ।

अर्का साहित्यकार अच्युतप्रसाद चालिसे अंग्रेजी र संस्कृति साहित्यमा रुचि राख्ने विद्धान पनि हुन् । वरिष्ठ साहित्यकार रमेश विकल र भैरव अर्यालसँग निकट सम्बन्ध रहेका चालिसे वेदका शुक्ति अथ्र्याउन सिपालु छन् । वसन्त रिजाल, द्वारिका चालिसेजस्ता सहित्यकारको जन्मथलो हो गोकर्णेश्वर नगरपालिका । गोकर्णेश्वर नगरपालिका जोरपाटीमा बसोबास गर्ने शान्ति रिसालको ‘म दुख्छु या मन’ कविता संग्रह प्रकाशित भएको छ । प्राध्यापन गर्दै आएकी रिसाल विभिन्न स्थानीय साहित्यिक प्रतिष्ठानमा संलग्न छिन् । गोकर्णेश्वर अर्याल गाउँमा जन्मिएका बलराम अर्यालले २०१८ सालदेखि कविता प्रकाशित गर्न सुरु गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाका विभिन्न साहित्यिक संघ–सस्थामा अर्याल संलग्न छन् ।