इन्द्रजात्रामा १५ नाचमध्ये चार वटा नाच मात्र सहभागी

इन्द्रजात्रामा १५ नाचमध्ये चार वटा नाच मात्र सहभागी तरुण खबर ८ आश्विन २०७८, शुक्रबार ०८:३०
इन्द्रजात्रामा १५ नाचमध्ये चार वटा नाच मात्र सहभागी

काठमाडौं । उपत्यकाको प्रसिद्ध इन्द्रजात्रामा भक्तपुरबाट काठमाडौं आएर नाचिने महाकाली देवी नाच आर्थिक अभावका कारण खुम्चिँदै गएकोप्रति उक्त नाचका मूल नाइके तुल्सी नारायण दण्डेख्याले चिन्ता व्यक्त गरेका छन् । विगत वर्षहरूमा सात टोलीका नाच सहभागी हुने गरेको महाकाली देवी नाचमा यसपटक रामचन्द्र नाच सहित जम्मा प्रमुख चारवटा टोलीले मात्र सहभागिता जनाएका थिए । राज्यस्तरबाटै यसको संरक्षणमा सक्रियता नभए आगामी दिनमा यो नाच थप समस्यामा पर्ने आयोजक तथा कलाकर्मीहरूको गुनासो छ । इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् ।

वि.सं. १८८५ मा गोरखाली सेनाले काठमाडौंमाथि आक्रमण गर्दैगर्दा तत्कालीन राजा जयप्रकाश मल्ल जैशीदेवलको डबलीमा देवी नाच हेर्दै थिए । यो नाचमा भावना जोडिएको हुन्छ, नाचमा प्रयोग गर्ने मुकुटमा प्राण प्रतिष्ठा गरिएको हुन्छ । यही नाचका पात्रमा भगवानको स्वरूप पाइने जनविश्वास छ । नाच यति मन्त्रमुग्ध हुन्छ कि आफ्नै राज्यमा शत्रुले आक्रमण गर्दा पनि नाचमा रमाएका राजाले थाहा पाउँदैनन् । यही विशिष्टताको फाइदा उठाएर पृथ्वीनारायण शाहले काठमाडौंमाथि इन्द्रजात्राकै दिन आक्रमण गरेका थिए ।

जति बाँकी छन् तिनीहरु, पनि अस्तित्व रक्षाका लागि संघर्षरत अवस्थामा छन् । पुरातत्व विभाग अन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाले यस्ता नाचहरुको संरक्षणका लागि सघाउन खासगरी इन्द्रजात्रामा नाचिने १५ थरी नाचको सूची तयार पारेको छ । यीमध्ये धिमे बाजा, नगरा बाजा र ढाडी भजनलाई शुद्ध नाचको श्रेणीमा राख्न सकिँदैन । त्यसैले प्रचलनमा रहेका १२ थरी नाच इन्द्रजात्रामा नाच्ने गरिएको इन्द्रजात्रा व्यवस्थापन समितिका प्रमुख गौतम शाक्य बताउँछन् । यी नाचहरु प्रस्तुत गर्न काठमाडौंको हल्चोक, किलागल, भक्तपुर लगायत क्षेत्रबाट स्थानीय समुदायहरू आउने गर्छन् ।