काँग्रेसको केन्द्रीय महाधिवेशन एक महिना सार्ने महामन्त्रीको प्रस्ताव

काँग्रेसको केन्द्रीय महाधिवेशन एक महिना सार्ने महामन्त्रीको प्रस्ताव तरुण खबर ८ आश्विन २०७८, शुक्रबार ०८:३२
काँग्रेसको केन्द्रीय महाधिवेशन एक महिना सार्ने महामन्त्रीको प्रस्ताव

काठमाडौं । काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरूमा दसैँअगावै जिल्ला अधिवेशन गर्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार हिमाली जिल्लामा अहिले सार्वजनिक भएको कार्यतालिकाअनुसार दसैँअगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो । तर नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा हिँडेपछि नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा महामन्त्री खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । त्यसैले महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् । ‘मंसिरको सट्टा पुसमा महाधिवेशन गर्ने प्रस्ताव आएको छ बैठकमा सहभागी एक नेताले तरुणलाई जानकारी दिएका छन् । तर यसबारे कुनै निर्णय भएको छैन ।

‘२१ हिमाली जिल्लामा निर्धारित कार्यतालिकाअनुसार नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । क्रियाशील नटुंगिएका १३ जिल्लाको विवाद असोज ९ भित्र सम्पन्न गर्ने निर्णय भयो । निर्वाचन समितिका अनुसार क्रियाशीलको अलग्गै कार्यतालिका बन्ने भयो । हालसम्म कांग्रेसले ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ ।

यता, नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गर्दै कााँग्रेस सर्लाही क्षेत्र नं ४ ले ज्ञापनपत्र बुझाएको छ । काँग्रेस सर्लाही क्षेत्र नं ४ ले सचिव कृष्ण दुलालमार्फत सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई सांसद सिंहको उक्साहटमा दुर्वव्यवहार भएको भन्दै कारबाही माग गरिएको छ ।