सिम्रौनगढको उत्खनन् र संरक्षण : पर्यटकीय सम्भावना

सिम्रौनगढको उत्खनन् र संरक्षण : पर्यटकीय सम्भावना तारानन्द मिश्र ९ आश्विन २०७८, शनिबार १०:१२
सिम्रौनगढको उत्खनन् र संरक्षण : पर्यटकीय सम्भावना

विश्वकै ध्यान आकृष्ट हुने प्रचीन सभ्यता स्थानहरु अति थोरै छन् । त्यही थोरैमध्येको एक हो सिम्रौनगढ । नेपालको वर्तमान भौगोलिक सीमांकनअनुसार सिम्रौनगढ प्रदेश २ को बारा जिल्लाको दक्षिणी भेगमा पर्छ । आजभन्दा करिब एक हजार वर्षअघि दक्षिण एशियामा धेरै राज्यहरु अस्तित्वमा थिए, जसमध्ये ज्यादै सम्पन्न र बैभवशाली राज्यहरु एक दर्जन थिए । तिनै एक दर्जन वैभावशाली राज्यहरुमध्येको तिरुहत राज्यको राजधानी थियो– सिम्रौनगढ । सिम्रौनगढको तत्कालिन शहर सातवटा पर्खाल, असंख्या खाइ ( दरबारको वरिपरि खाडल खनेर पानी भर्न बनाइएको पोखरी) चक्रव्यूहकार रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । पानीजन्य विद्यामा महारत हासिल गरेका तत्कालिन शासकहरुले इनार, नहर, पोखरी धेरै नै बनाएको र यसैलाई समृद्धिको आधार बनाएको देखिन्छ । यो क्षेत्रको महत्व यसकारण पनि बढी छ कि यो प्राग ऐतिहासिक स्थल हो ।

हडप्पनपछिको सभ्यताका रुपमा सिम्रौनगढलाई लिन सकिन्छ । कुनै समय लुम्बिनी, सिञ्जाजस्तै सिम्रौनगढ पनि अति समृद्ध स्थान थियो । जंगबहादुरको हत्यापछि उनका छोरा जगतजंगले सिम्रौनगढ दरबारको मूल भवन रहेको स्थानमाथि नै रानीवास मन्दिर बनाएका थिए । प्रसिद्ध इतिहासविद् हड्सनले समेत अहिले मन्दिर रहेकै स्थानमा सिम्रौनगढ दरबार रहेको अनुमान गरेका छन् । सिम्रौनगढ दरबारमाथि नै मन्दिर बनाइएपछि यसको इतिहास हराउँदै गएको छ । त्यही स्थानमा दुईवटा दुर्लभ अभिलेखसमेत फेला परेका छन् । सिम्रौनगढको समृद्धि र प्रविधिको प्रभाव हालसम्म काठमाडौं उपत्यकामा समेत परेको देखिन्छ ।

काठमाडौं उपत्यकाको परम्परागत मानिने तेलिया इँटाको प्रविधि सिम्रौनगढबाटै भित्र्याइएको हो भनिन्छ । सिम्रौनगढ क्षेत्रमा हालसम्म पूर्ण उत्खनन् गरिएको छैन । इटालियनहरुको सहयोगमा नमुना उत्खनन् ट्राइल ट्रेञ्चिङ मात्र गरिएको थियो । तत्कालिन सिम्रौनगढका मूर्तिकला, नेवारी संगीत र नेवारी खानपीनसमेत सिम्रौनगढबाट अत्याधिक प्रभावित भएको देखिन्छ । ट्राइल ट्रेञ्चिङमा रानीवास मन्दिर क्षेत्र नै सिम्रौनगढ दरबार क्षेत्र भएको यथेष्ट संकेत पाइएको छ । सिम्रौनगढको अर्को विशेषता भनेको यहाँ हालसम्म प्राप्त मूर्ति र कलाकृति सबै हिन्दु धर्मसँग सम्बन्धित छन् ।

इतिहासमा यो स्वप्न हिन्दु धर्मावलम्बीका लागि निकै प्रसिद्ध थियो । गयासुद्धिन तुगलकले आप्mनो सेनापतिद्वारा भएको बंगालको विद्रोह दबाएर फर्कदा यो स्थानमा आक्रमण गरेका हुन् । इटालियन र नेपाली पुरातत्वविद्हरुले गरेको सानो ट्राइल ट्रेञ्चिङमै भेटिएका अनेकौं दुर्लभ मूर्ति, स्थान लगाएतले यो स्थानको गरिमालाई सहजै बुभ्mन मद्दत गर्छ । सरकारले यो स्थानमा बृहत्तर उत्खनन् गरेर संरक्षणको कार्य अगाडी बढाउँने हो भने नेपालको पर्यटकीय विकासमा साह्रै ठूलो फड्को मार्न सक्ने देखिन्छ । यो स्थानमा उत्खनन् र संरक्षणको कार्यमा गरिएको ढिलाइले मुलुककै समृद्धिको एउटा पाटो इतिहासको गर्भमा हराउँन सक्छ ।
(पुरातत्व विभाग पूर्वउपमहानिर्देशक तारानन्द मिश्रसँग तरुणले तीन वर्ष अघि सिम्रौनगढको सन्दर्भमा कुाकानी गरेको थियो । करिब डेढ वर्षअघि उहाँको निधन भैसकेको छ ।)