जनताबाट आएका मागलाई रित्तो हात फर्काउनु परेको छैन

जनताबाट आएका मागलाई रित्तो हात फर्काउनु परेको छैन मनोजकुमार ढुंगाना १० आश्विन २०७८, आईतवार १०:०१
जनताबाट आएका मागलाई रित्तो हात फर्काउनु परेको छैन

मैले प्रतिनिधित्व गरिरहेको वडा नम्बर ८ मा करिब २२ हजार १६९ (२०६८ को जनगणना) जनसंख्या छ । त्यो भन्दा कम जनसंख्या भएका नगरपालिकाहरू मुलुकमा उल्लेख्य छन्, गाउँपालिकाहरूको त कुरै छाडौं । जनसंख्या वृद्धिदर पनि हाम्रो वडामा निकै धेरै छ । २०६८ सालको जनगणनाअनुसार हाम्रो वडाको जनसंख्या १८ हजार हो, तर एक वर्षअघि हामी आफैले गणना गर्दा ३० हजार नाघेको पायौं । एक दशकको अवधिमा लगभग दोब्बर जनसंख्या वृद्धि मुलुकका अन्य वडामा सायदै भएको होला ।

स्थानीय तह संरचनाका क्रममा साविकको जोरपाटी गाविसको अत्तखेल,बेशी गाँउ,आरुबारी र माकलबारी क्षेत्रमा पर्ने वडा नम्बर ६ र ७ लाई समेटेर गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ८ कायम गरिएको हो । यो क्षेत्र पहिलदेखि नै गलैंचा कारखानाहरूका कारण चर्चित थियो, बस्ती पनि घना हुँदै गएको थियो । पछि नेपाल मेडिकल कलेज पनि यहीँ स्थापना भयो । मुलुकमा १० वटा ठूला अस्पतालको सूचीमा पर्ने नेपाल मेडिकल कलेजको स्थापनापछि सातै प्रदेशका मान्छे बसोवासको क्षेत्र बन्न पुग्यो । तीव्र सहरीकरणसँगै बस्ती पनि निकै घना भयो । पहिले जस्तो घरघरै गलैंचा उद्योग त यहाँ छैन, तर अहिले पनि चार–पाँचवटा ठूला गलैंचा उद्योगहरू छन् । केही काष्ठ उद्योगहरू पनि छन् ।

मुलुककै ठूलो तथा आकर्षक मानिने शहीद पार्क पनि यसै वडामा जोडिएको छ । गोकर्णेश्वर मन्दिर तथा नेपाल ट्रस्टअन्तर्गत रहेको गोकर्ण उद्यान पनि यही वडासँग जोडिएको छ । सरकारी विद्यालय एउटा पनि छैन, तर निजी विद्यालय १९ वटा छन् । अरु वडाबाट समेत धेरै विद्यार्थीहरू पढ्न यही वडामा आउँछन् । ८ नम्बर वडामा मात्र नौवटा मठमन्दिर छन्, मान्छेहरूमा धर्मप्रति आस्था भएकै कारण मठमन्दिर बनेका हुन् भन्ने लाग्छ । डाँडागाउँमा रहेको महाकांल भैरव, आरुबारीमा रहेको रामजानकी मन्दिर, छहारी क्लब नजिकै रहेको कृष्ण मन्दिर, कृष्णनगरमा रहेको राधाकृष्ण मन्दिर, मिजारटोलमा रहेको गणेश मन्दिर ढुंगासाँघुमा आनन्द गणेशको मन्दिर, माकलबारीमा रहेको सरस्वती मन्दिर, बाटुलेचौर,ढिक पीपलबस्तीमा रहेको सिद्धिदात्री भगवतीको मन्दिर, पीपलबस्तीमै रहेको ढुङझुङ स्तुप पनि यहाँका परम्परागत आस्थाको केन्द्र हुन् ।

लिच्छविकालमै स्थापना भएको भनिएको महाकांल भैरवमा बलि दिने चलन अहिले पनि छ । दुई रोपनीको कम्पाउन्डभित्र बनेको राधाकृष्ण मन्दिर, करिब एक रोपनीको कम्पाउन्डभित्र बनेको गणेश मन्दिर, डेढ रोपनीको कम्पाउन्डभित्र बनेको आनन्द गणेश मन्दिर र १० आना जग्गाभित्र बनेको ढुङझुङ स्तुप पनि यही वडामा छन् । चाबहिल–सुन्दरीजल सडकअन्तर्गतको नगरपालिका कार्यालय रहेको चोकदेखि शिवपुरी चोकसम्मको करिब डेढ किलोमिटर सडकखण्ड वडा नम्बर ८ भित्रै पर्छ । तर यो सडक संघीय सरकारको हो । पहिले नै बस्ती बसिसकेका कारण नयाँ सडक बनाउनेभन्दा पनि साविककै सडकको मर्मत तथा स्तरोन्नतिलाई वडाले प्राथमिकता दिएको छ । विकास निर्माणका लागि जनताबाट आएको मागलाई रित्तो हात फर्काउनु परेको छैन । तर बाहिरबाट घुम्न आउने मान्छेहरूले देख्ने तथा महसुस गर्ने गरी सुन्दरीजल जाने बाटो संघिय सरकारका मातहतका कारण विकास निर्माणको काम गर्न भने हामीले सकेनौं । हामीलाई यो कुरा धेरै नै खड्किएको छ ।

हाम्रो वडाबाट वर्षको दुई करोड ५० लाख रुपैयाँ राजश्व संकलन हुन्छ । यो रकम माथि बुझाउँछौ । वडा र नगर परिषद मार्फत यो वडालाई विकास निर्माणबापत वार्षिक साढे दुई करोड रुपैयाँ बजेट आउँछ । कोरोनाको यो कहरमा पनि हाम्रो वडाको राजश्व संकलन खासै घटेन । दैनिक सरदर २–३ सय सेवाग्राहीहरू वडा कार्यालय आउनु हुन्छ । उहाँहरूको कामको सिफारिस गर्दैमा समय बित्दो रहेछ । सिफारिसका लागि आउने कागजातको पनि सरकारी नियम तथा कानुनअनुसार रीत पुग्नुपर्छ । तर धेरैजसो सेवाग्राहीहरू रीत नपु¥याई आउनुहुन्छ । ‘वडामा हामीले चुनेर पठाएको जनप्रतिनिधि छँदैछ, उसले यति सिफारिस त गरिदिइहाल्छन् नि’ भन्ने भरोसा र विश्वासका साथ आउनु हुन्छ, तर हामीले सिफारिस गरिदिँदैमा रीत नपुगेको काजगात कर्मचारीहरूले अघि बढाउने कुरै भएन । सेवाग्रहीहरूलाई यो कागज पुगेन, ऊ कागज पुगेन भनेर फिर्ता गर्न मनले मान्दैन । तर के गर्नु ? यस्ता काम मिलाउँदैमा समय बित्दो रहेछ ।

वडाको कामबाट संघिय सरकारले सिक्नु पर्ने कुरा के हो भने हामीले वाषर््िाक ९४ प्रतिशत बजेट खर्च गर्न सकेका छौ, त्यसको एक मात्र कारण जनताको उत्साहजनक माग नै हो । जनताको आबश्यकताको आधारमै यो रकम खर्च हुन सम्भव भएको हो, त्यसैले म ती सम्मानित नागरिकहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।

पालिकाको प्रवक्ता पनि भएकाले मैले भन्नै पर्छ–गोकर्णेश्वर नगरपालिकाले १५ शैयाको अस्पताल बनाउन शहीद पार्कको छेउमै आबश्यक जग्गा छुट्याएको । त्यस्तै वडा नम्बर १ को आख्रेनीमा अरुणोदय उच्च माविमा गत वर्षदेखि प्राविधिक (ईञ्जिनियरिङ) शिक्षा दिन थालिएको छ । अहिले लगानी भएको छ, पाँच वर्षपछि लगानीको प्रतिफल जनताले पाउन थाल्छन् ।
(मनोज ढुंगान गोकर्णेश्वर नगरपालिका–८ का वडा अध्यक्ष हुन् । उनको यो लेख नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)