एनआरएनएको अध्यक्षमा त्रिपक्षीय भिडन्तको सम्भावना

एनआरएनएको अध्यक्षमा त्रिपक्षीय भिडन्तको सम्भावना तरुण खबर १२ आश्विन २०७८, मंगलवार ०९:०९
एनआरएनएको अध्यक्षमा त्रिपक्षीय भिडन्तको सम्भावना

काठमाडौं । कात्तिक ३ (अक्टोबर २०) मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआएनए) को निर्वाचनमा अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । चुनावका लागि अमेरिका निवासी रविना थापाले आफ्नो टीमसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । रविना थापाको टीमबाट उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । अमेरिका निवासी थापा सन् २०१५ देखि २०१७ सम्म अमेरिका राष्ट्रिय समन्वय परिषद (एनसीसी) की उपाध्यक्ष थिइन् ।

जापानमा रहँदा उनी सामाजिक क्षेत्रमा सक्रिय थिइन् । पछि अमेरिका पुगेर एनआरएनएसँग उनी जोडिएकी हुन् । उनको नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय छ । अहिले एनआरएनमा कुल सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफू अध्यक्षमा निर्वाचित भए संघको सदस्य संख्या १५ लाखसम्म पु¥याउने थापाले बताएकी थिइन् । रविना थापालाई काँग्रेसकै एउटा समूहले साथ दिएको छ । त्यस्तै, अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने बताएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गर्न लागेका छन् । त्यस्तै अर्का प्रत्यासी डा. बद्री केसीले पनि काठमाडौंबाटै उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् । संस्थापन पक्षका निकट उम्मेदवार बद्री केसीलाई एनआरएनएकै केही प्रभावशाली व्यक्तित्व र एमालेका दुबै समूहको साथ समर्थन रहेको छ ।

काठमाडौंको फर्पिङमा जन्मिएका बद्री केसी एनआरएनएभित्र बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी भएका उनले एनआरएनएलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइनुपर्नेमा जोड दिँदै आएका छन् । यद्यपि उनी आफैंपनि एमालेको समर्थनमा एनआरएनएको अध्यक्ष बन्न लागेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार रहेका कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् । करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताएका छन् । आचार्यले नेपाली काँग्रेसको एक पक्षको समर्थन पाएका छन् ।

विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानवीन गर्न माग गरेका छन् ।

एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु– अध्यक्षका उम्मेदवार कुल आचार्यले भने । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे । आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झण्डै दुई तिहाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले समर्थन गरेका छन् । सोही कार्यक्रममा एनसीसी अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिएका छन् । घोषणा सभामा एनआरएनए उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आरके शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्वकोषाध्यक्ष हिक्मत थापा लगायतले शुभकामना दिएका थिए ।

त्यस्तै, गैरआवासीय नेपाली अभियन्ताहरू जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङ लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।