गोकर्णेश्वर नै स्थानीय पाठ्यक्रम प्रकाशित गर्नेमा पहिलो

गोकर्णेश्वर नै स्थानीय पाठ्यक्रम प्रकाशित गर्नेमा पहिलो तरुण खबर १२ आश्विन २०७८, मंगलवार ०९:१५
गोकर्णेश्वर नै स्थानीय पाठ्यक्रम प्रकाशित गर्नेमा पहिलो

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले २०७६ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम ‘मेरो गोकर्णेश्वर’ लागू गरेको छ । गोकर्णेश्वर नगरपालिकाले आधारभूत तह (कक्षा १ देखि ८ सम्म) को स्थानीय पाठ्यक्रम २०७६ सालको नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको हो । कृष्णप्रसाद नेपालको संयोजकत्वमा निर्माण गरिएको पाठ्यक्रममा नगरको भौगोलिक, सांस्कृतिक, भाषिक, जातीय विविधताका साथै विभिन्न धार्मिक, ऐतिहासिक, पुरातात्विक विषयवस्तु समेटिएको छ । यो पाठ्यक्रम गोकर्णेश्वर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य रूपमा लागू गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाले प्रकाशित गरेको पाठ्यपुस्तकमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रममा स्थानीय सम्पदा, धर्म, संस्कृति, भाषा, सभ्यता, कला, चाडपर्व र स्थानीय पहिचानका विषयहरू राखिएकोे छ । कुनै पनि पाठ्यक्रम शिक्षण प्रक्रियाको मूलआधार हो र यसकै आधारमा शैक्षिक क्रियाकलाप सञ्चालन हुने भएकाले स्थानीय पाठ्यक्रम पनि स्तरीय, समसामयिक र परिवेश अनुकूल निर्माण गरिनुपर्छ । वर्तमान लोकतान्त्रिक परिवेशमा यसै मान्यताअनुसार कक्षा १ देखि ८ सम्मको आधारभूत शिक्षा पाठ्यक्रममा रहेको स्थानीय अंशलाई व्यवहारोपयोगी बनाउन यो पाठ्यक्रम विकास गरिएको हो ।

यो पाठ्यक्रम लागू गर्दा सरोकारवालाहरूबाट प्राप्त पृष्ठपोषणलाई समायोजन गरी यसलाई अझ बढी व्यापक र प्रभावकारी बनाउँदै लगिने नगरपालिकाको योजना छ । पाठ्यक्रममा बालबालिकाले जान्नुपर्ने र सिक्नुपर्ने विषयहरूका सन्दर्भमा विभिन्न व्यक्तिका सुझाव, नगरस्तरीय गोष्ठी तथा शिक्षा समिति तथा पाठ्यक्रम विशेषज्ञ आदिबाट प्राप्त पृष्ठपोषणसमेतका आधारमा विषयगत क्रमबद्धतासमेतलाई विशेष ध्यान पु-याइएको छ ।

पाठ्यक्रम निर्माण गर्न गठित शिक्षक, विशेषज्ञहरूको कार्यदल, शिक्षकको कार्यशाला तथा शिक्षा समितिका अतिरिक्त नगर कार्यपालिकाका सदस्यहरूको सुझावसमेतलाई समावेश गरिएको छ । पाठ्यक्रममा नगरपालिकाको सबै पक्षलाई चिनाउने विषयवस्तु छन् । विद्यालयका लागि छापिएका २४ हजार थान पुस्तकमा स्वास्थ्य, योग, वातावरण, उत्प्रेरणामूलक पाठ पनि समावेश छन् । वैदिक सनातन धर्म, बुद्ध जयन्ती, रक्षाबन्धन जस्ता धार्मिक, सांस्कृतिक विषय पनि पाठ्यक्रममा समेटिएका छन् । साथै, गोकर्णेश्वर नगरपालिका व्यवस्थापनको संरचनाबारे पनि पुस्तकमा सामग्री समावेश गरिएको छ । शिक्षाविद्, प्राध्यापक, स्थानीय शिक्षक, संस्कृतिविद्, स्थानीय बुद्धिजीवीको सहभागितामा निर्माण गरिएको पाठ्यक्रम कक्षा १ देखि ८ सम्म एकैपल्ट लागू गरिएको हो ।

पाठ्यक्रम प्रकाशनमा गोकर्णेश्वरका मेयर सल्लाहकार
गोकर्णेश्वर नगरपालिकाले पाठ्यक्रम प्रकाशनका लागि नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा सल्लाहकार समिति, लेखन तथा सम्पादन समिति, विषय तथा भाषा सम्पादन समिति प्रकाशन तथा व्यवस्थापन समिति गठन गरेको थियो । समितिमा संलग्न पदाधिकारीहरूमा कृष्ण राई सदस्य,माननीय प्रतिनिधिसभा सदस्य क्षेत्र नं ३, काठमाडौँ, शान्ति नेपाल सदस्य, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर, अग्निप्रसाद अधिकारी सदस्य तत्कालिन प्रमुख प्रशासकीय अधिकृत, विजयप्रसाद आचार्य सदस्य, दिपक रिसाल सदस्य, टेकेन्द्रप्रसाद ढकाल सदस्य, लेखन तथा सम्पादनमा रहनेहरुमा कृष्णप्रसाद नेपाल संयोजक, रामनारायण साह सदस्य–सचिव, र प्रकाशन तथा व्यवस्थापन समितिमा रहने संयोजक र सदस्यहरुमा दिपककुमार भण्डारी संयोजक, गीता सिंखडा सदस्य, चन्द्रप्रसाद पौडेल सदस्य, रामनारायण साह सदस्य–सचिव थिए ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (परिमार्जित २०६५), आधारभूत तह (कक्षा ६–८) पाठ्यक्रम २०६९ तथा स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका २०६४ स्थानीय पाठ्यक्रम प्रारूप २०७१ मा रहेको प्रावधानअनुरूप यो पाठ्यक्रम निर्माण गरिएको हो । यस पाठ्यक्रमले मूलभूत रूपमा गोकर्णेश्वर नगरपालिका क्षेत्रको सेरोफेरोलाई समेट्ने प्रयास गरेको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान, सीप प्रदान गर्ने यसको मुख्य अभिप्राय रहेको छ । पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक,.सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ र यहाँको प्राकृतिक, सांस्कृतिक तथा सम्पदाको संरक्षण र सम्बद्र्धनलाई महत्व दिएको छ ।

साधारण अर्थमा स्थानीयस्तरका विषयवस्तुहरू समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो । यसले स्थानीय क्षेत्रका प्राथमिकतापूर्ण विषयवस्तुलाई समेटी तिनीहरूलाई विद्यालयको नियमित कार्यक्रमअनुरूप कक्षा–कोठामा पु¥याउँछ । यसमा विशेष गरी स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवं ऐतिहासिक विषयवस्तुका साथै पेसा, व्यवसाय र विपद्व्यवस्थापन आदि विषयहरू समावेश गर्न सकिन्छ । जसलाई स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका, २०६४ ले निर्दिष्ट गरेको छ ।

विश्वमा सूचना तथा सञ्चार क्षेत्रमा देखापरेका विकास, विश्वव्यापीकरण तथा स्थानीयकरणलाई विद्यालय तहको शिक्षामा समाहित गरी सामाजिक मूल्य मान्यता, ज्ञान–विज्ञानका विविध पक्षहरू एवंविषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी यो पाठ्यक्रम तयार पारिएको छ । पाठ्यक्रममा आधारभूत तहको ढाँचा, विषयको परिचय, शिक्षण विधि र मूल्यांकन प्रक्रिया समावेश गरिएको छ । बालबालिकामा देखापर्ने गुणात्मक परिवर्तनको मूल्य निर्धारणका लागि आधारभूत तहमा कक्षा १ देखि ८ सम्म शिक्षण सिकाइमा आधारित प्रयोगात्मक मूल्यांकन प्रणालीलाई विशेष महत्व दिइएको छ ।

यसैगरी, बालबालिकामा देखापर्ने परिमाणात्मक परिवर्तनहरूको लेखाजोखा गर्न उपलब्धि परीक्षाहरू पनि कक्षागत रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार विद्यालयहरूले मूल्यांकनका विविध साधनहरू प्रयोग गर्नसक्ने छन् । हाम्रो देशमा परिमार्जित प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३), २०६५ (कक्षा ४–५) का अनुसार कक्षा १–५ मा सामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको ८०% पाठ्यक्रम केन्द्रले र २०% पाठयक्रम स्थानीय तहबाट निर्माण गर्ने प्रावधान छ र सोहीअनुरूप धेरैजसो विद्यालयमा कार्यान्वयन हुँदै आएको छ ।

त्यसैगरी, साप्ताहिक ४ पाठ्यभारको स्थानीय विषय मातृभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने दायित्व स्थानीय तह (विद्यालय, स्रोतकेन्द्र र जिल्ला) लाई दिइएको छ । यसरी हाम्रो देशको स्थानीय तहबाट निर्माण भई कार्यान्वयन हुने उल्लेखित तीन विषयको २०% अंशको पाठयक्रम साप्ताहिक चार पाठ्यभार (वार्षिक १२८ घन्टी) रहेको १०० पूर्णांकको स्थानीय विषय वा मातृभाषाको पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भन्ने गरिएको छ । आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यक्रम २०६९ का अनुसार कक्षा ६–८ मा समेत जम्मा ८०० पूर्णांकमध्ये स्थानीय विषय वा संस्कृत वा अन्य विषयको ५ पाठ्यभार र १०० पूर्णांक कायम गरी १७५ वार्षिक घन्टी दिइएको छ । यस आधारमा पनि कक्षा (६–८) को पनि स्थानीय आवश्यकताअनुसार स्थानीय पाठ्यक्रम बनाउने प्रावधान छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा तयार भई २०६३ सालदेखि देशभरका विद्यालयहरूमा कार्यान्वयन हुँदै आएको प्राथमिक तहको पाठ्यक्रममा व्यवस्था भएअनुरूप कक्षा १ देखि ५ सम्मको कुल ६०० पूर्णांकमध्ये १०० पूर्णांक एवं १२८ घन्टी वार्षिक पाठ्यभार रहेको स्थानीय विषयको पाठ्यक्रम निर्माण गरी अध्यापन गर्नुपर्दछ । आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यक्रम २०६९ मा समेत जम्मा ८०० पूर्णांकमध्ये स्थानीय विषय वा संस्कृत वा अन्य विषयको ५ पाठ्यभार र १०० पूर्णांक एकाइ कायम गरी १७५ घन्टी वार्षिक पाठ्यभारको पाठ्यक्रम निर्माण गरी अध्यापन गर्न सकिन्छ । यसै आधारमा स्थानीय विद्यालय वा स्रोत केन्द्रद्वारा सोसम्बन्धी पाठयक्रम् निर्माण गर्नुपर्ने साथै स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका २०६४ र वर्तमान स्थानीय पाठ्यक्रम प्रारूप २०७१ ले समेत यसलाई थप अनिवार्य गरेको छ ।