मेरो बुवा नारायणदत्त २००४ सालतिरै राष्ट्रिय काँग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो

मेरो बुवा नारायणदत्त २००४ सालतिरै राष्ट्रिय काँग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो तारानाथ रानाभाट १५ आश्विन २०७८, शुक्रबार ०९:२६
मेरो बुवा नारायणदत्त २००४ सालतिरै राष्ट्रिय काँग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो

मेरो राजनीतिक जीवनको औपचारिक सुरुवात २०१४ सालदेखि भएको हो । २०१४ सालमा पोखरामा भएको भद्रअवज्ञा आन्दोलनमा विद्यार्थी स्वयंसेवकको रूपमा खटिएदेखि म औपचारिक रूपमा राजनीतिमा होमिएको हुँ । नेताहरूसँगको चिनजान त २०११ सालदेखि नै हो । मेरो बुबा नारायणदत्त रानाभाट २००४ सालदेखि नै नेपाल राष्ट्रिय काँग्रेसको कार्यकर्ता हुनुहन्थ्यो । उहाँलाई राष्ट्रिय काँग्रेस श्रीभद्र शर्माले बनाउनुभएको हो ।

त्यतिखेर हामी ‘एकताको सूत्रमा देश यो बेर्दै, बढाऊ कदम जोडले तीन तारा हेर्दै’ गीत गाउँथ्यौं । म त्यतिखेर सानो केटाकेटी थिएँ । हाम्रो घरमा राति फाट्टफुट्ट मान्छेहरू आउँथे । कास्कीको कन्धनी डाँडामा हाम्रो घर थियो । राति आउने मान्छेहरूलाई हामीले चिन्ने कुरै थिएन । समय बित्दै गयो । त्यसपछि बुबासित सँगै आउने साथीहरू आएनन् । कारण के रहेछ भने राष्ट्रिय काँग्रेसमा फुट आएछ । बीपी गुट र डिल्लीरमण गुट भएछ । हाम्रो गाउँमा पनि त्यसको प्रभाव प¥यो । बरालडाँडाका तीन–चारजना राष्ट्रिय काँग्रेस डिल्लीरमणतिर लागे । कन्धनी डाँडाका हाम्रो बुबा बीपी गुटतिर लाग्नुभयो । २००६ सालमा राष्ट्रिय काँग्रेसको बीपी गुट र सुुवर्णशमशेरजीहरूको प्रजातान्त्रिक काँग्रेस मिलेर नेपाली काँग्रेस बन्यो । त्यसपछि फेरि हाम्रो घरमा पाहुनाहरू आउने क्रम जारी रह्यो । हामीले उनीहरूलाई पनि चिन्ने कुरा थिएन । हामी सानंै थियौं, तैपनि हामीलाई बीपी, सुवर्ण, गणेशमानको नाम कण्ठै हुन्थ्यो । यस्तो हुदाँहँुदै २००७ सालको क्रान्तिताका सबै कुरा थाहा भयो । तीन तारे झण्डाको ठाउँमा चारतारे हुन थाल्यो ।

२००७ सालमा केटाकेटी जम्मा भएर आफ्नै गाउँमा जुलुस गर्दै हिँडेको मलाई अझै सम्झना छ । २०११ सालमा हामीले भर्खरै अंग्रेजी पढ्न सुरु गरेका थियौं । प्रख्यात साहित्यकार भैरवप्रसाद अर्यालले हामीलाई अंग्रेजी पढाउनु हुन्थ्यो । उहाँ सरकारी शिक्षकको रूपमा काठमाडौंबाट हाम्रो गाउँमा जानुभएको थियो । उहाँ हाम्रो घरमा बस्नुभयो । त्यो भन्दा पहिले हामी दुर्गा कबच, चण्डी अंकगणित पढ्थ्यौं ।

बीपीसँग पहिलो भेट
२०११ सालमा मैले पहिलो पटक नेताहरूलाई नजिकबाट देखेको थिएँ । बीपी कोइराला, सुवर्णशमशेर, गणेशमानजी, तुलसी गिरी, विश्वबन्धु थापालाई देखें । उहाँहरू हाम्रै गाउँको बेसी अर्घौ भन्ने बजारमा आउनुभयो । अर्घौ उहाँहरूको मुकाम रह्यो । बिहानको खाना खान पोखरा बजारबाट उहाँहरू आउनुभयो । हामी स्वागतको निम्ति अर्घौ गयौं । वीर विश्वेश्वर जिन्दावाद, नेपाली काँग्रेस जिन्दावाद भन्दै नारा लगायौं । त्यतिबेला गाडीको सुविधा बाटोघाटो केही थिएन ।

२०२५ मंसिर ८ गतेको घटना हो । यसरी हामीले खुसियाली मनायांै । त्यसको चर्चा देशव्यापी भयो । त्यस कार्यक्रममा हरेक नेता बोलेको फोटो मसँग थिए, तर धेरै हराए । फोटो हेरांै भन्ने, फोटो देखाउँदा कसैको बाबु हुन्छ, कसैको मामा हुन्छन्, त्यसपछि उनीहरूले म नभएको बेला झुक्काएर, चोरेर लैजाने पनि गरे ।

नेताहरूलाई फूलमाला चढाएको अहिले नै हो जस्तो लाग्छ । त्यतिखेर म १० वर्षको थिएँ । त्यतिबेला सोफा थिएन । राडीमाथि चकटी बिछ्याएर नेताहरू लामो लाइन लगाएर बस्नुभएको थियो । सुवर्णजी केही बोल्नुभएन । अरु नेताहरू पनि बोलेनन् । बुबाले यो मेरो छोरा हो, यो पण्डितजीको छोरा हो भनेर मसँगै रहेको अर्को साथीलाई पनि बीपीसँग चिनाउनुभयो । त्यसपछि बीपीले ‘ए यिनीहरू पढ्छन् पनि । कहाँ पढ्छन् ?’ भनी सोध्नुभयो । त्यसपछि बुबाले ‘आफ्नै गाउँमा स्कुल छ । भैरवप्रसाद भन्ने काठमाडौंकै मास्टर हुनुहन्छ, उहाँले अंग्रेजी पढाउनुहुन्छ’ भन्नुभयो । त्यसपछि बीपीले ‘राम्रो गरी पढ । म फेरि फेरि आउँछु’ भन्नुभयो । बीपीले भनेको कुरा मेरो कानमा अहिले नै हो कि जस्तो लाग्छ । सम्झना ताजै छ । यो २०११ सालको शिवरात्रीको अघिल्लो दिनको कुरा हो । शिवरात्रीका लागि उहाँहरू लमजुङको भोर्लेटार जान भनेर हिँड्नु भएको थियो । हाम्रो गाउँमा खाना खाएर जाने सिलसिलामा उहाँहरू त्यहाँ आउनु भएको रहेछ ।

त्यसपछि नेताहरूप्रति जिज्ञासा बढ्न थाल्यो
भैरवप्रसाद मास्टरसाबले ‘तिमीहरूले नेताहरूलाई भेट्यौ, ओ हो’ भन्नुभयो । त्यसपछि त हामी केटाकेहीहरूमध्ये सबैभन्दा बढी गफ लगाउने भयौं । किनभने त्यति ठूला नेताहरूलाई हामीले नजिकबाट देखेका थियांै । त्यतिखेर हामीलाई जय नेपाल भन्नुपर्छ भनेर सिकाएका थिए । हामीले पनि नेताहरू बसेको ठाउँमा गएर जय नेपाल भनेका थियौं । त्यसपछि मैले नेताहरू चिन्न थालें । घरमा आउने मान्छेहरूलाई पनि चिन्न थालें ।

२०१४ सालमा भद्र अवज्ञा आन्दोलनमा हामी विद्यार्थी स्वयंसेवकमा भर्ती भएका थियौ । अनौपचारिक रूपमा भन्नुपर्दा नेपाली काँग्रेस र प्रजातन्त्रप्रति मेरो सम्बन्ध मेरो बुबाका कारणबाट घरबाटै सुरु भएको हो । सानो अबोध बालकदेखि नै प्रजातन्त्रप्रति आस्था प्रारम्भ भयो । पछि विस्तारै बुझ्दै, जान्दै गएँ । २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा पोखराको मालपोत कार्यालय, त्यतिखेर तहसिल भनिन्थ्यो, यसैगरी बडा हाकिमको ढोका, जिल्ला अदालतमा सत्याग्रहीहरू लाम लागेर सुतेका थिए । हामीहरूको जिम्मामा जिल्ला अदालत परेको थियो । हामीलाई सत्याग्रहीहरूलाई पानी खुवाउने, कसैले लछारपछार गरे, घाइते भए, बेहोस भए उद्धार गर्ने भनी पार्टीले तालिम दिएको थियो । त्यतिखेर अस्पताल थिएनन् । नजिकका बैद्यहरू काँहा लैजाने तालिम दिइएको थियो । त्यसका लागि हामीलाई नेपाली काँग्रेसको कार्यालयमा चार दिनको तालिम दिइएको थियो ।

भद्र अवज्ञामा हामी स्वयंसेवक भयौं । सत्याग्रही सुतेका छन् । हाकिमहरू, पुलिस, कर्मचारीहरू कुल्ची कुल्ची भित्र जाने गरेका थिए । त्यतिखेर जेल पनि त्यही नजिक थियो । करिब डेढ सय मिटरको गल्लीको बाटोमा हिँड्नै नसक्ने गरी सत्याग्रहीहरू सुतेका थिए । सत्याग्रहीहरूलाई त्यस्तो घाउ घत त केही भएन । लछारपछार पनि गरेनन् । खुट्टा पन्छ्याउँदै टेक्दै गए । हामीले पानी खुवायौं । त्यसपछि मसहित धेरै विद्यार्थीहरू पार्टीका प्रतिबद्ध कार्यकर्ता भयौ । २०१४ सालमा पोखरामा महासमितिको बैठक भयो । त्यतिखेर पनि स्वयंसेवक भएर नेताहरूलाई फूलमाला चढायौ । बीपीसहितका नेताहरूलाई हातमा फूलमाला चढाएको अझै सम्झना छ । त्यतिखेर हामीले बोल्ने मौका त पाएनौं । तर त्यसबेलादेखि नेपाली कांग्रेसमा मेरो क्रियाशिलता अहिलेसम्म निरन्तर रहिरहेको छ र प्राण छउञ्जेल रहिरहन्छ ।

काठमाडौं जानै कठिन हुन्थ्यो
बीपीसँग २०११ सालमा एकहोरो कुरा भयो । उहाँले हामीलाई सुझाब दिनुभयो । आशीर्वाद पनि दिनुभयो । त्यसपछि २०१५ सालमा चुनाव भयो । २०१६ सालमा उहाँ प्रधानमन्त्री हुनुभयो । त्यतिखेर मान्छेहरू काठमाडौं जाँदा नेपाल जाने भन्ने गर्थे । काठमाडौं कि हिँडेर जानुपथ्र्यो कि हवाईजहाजमा जानुपथ्र्यो । त्यसैले पनि होला, बीपीलाई भेट्ने मौका मिलेन । राजाले उहाँको सरकार अपदस्थ गरे ।

बीपी जेलबाट मुक्त भएपछि खुसियाली
बीपी एकैपटक २०२५ सालमा जेलबाट मुक्त हुनुभयो । उहाँसहितका नेताहरू जेलमुक्त हुनु भएको अवसरमा सम्भवतः विराटनगरपछि कास्कीमा हामीले औपचारिक रूपमा खुसियाली कार्यक्रम मनायौं । यो कार्यक्रम कास्कीका हामी तरुणहरूले आयोजना गरेका थियौं । कास्कीको लेखनाथ नगरपालिको डाँडानाक भन्ने ठाउँमा म आयोजक रहेर कार्यक्रम भयो । मेरो नाममा चिठी वितरण गरेर औपचारिक खुसियाली कार्यक्रम ग-यौं । कस्को नामबाट चिठी पठाउने भनेर कुरा उठ्दा मैले मेरो नामबाट वितरण गर्ने भनें र गरे । त्यतिखेर गरिएका कार्यक्रमका फोटो अहिले पनि मसँग छन् । केही फोटोहरू चोरी भए ।

त्यो कार्यक्रममा कास्की, तनहुँ, लमजुङ, तनहुँका कार्यकर्ता आएका थिए । जेलबाट छुटेका आमोद, ओमकारराज शर्मा पनि कार्यक्रममा आएका थिए । लमजुङ प्रतिनिधि श्रीकान्त अधिकारीलगायतले बोलेका थिए । त्यसबेला कांग्रेसले बोलाएको ठाउँमा जानेलाई पक्रने गरिन्थ्यो । त्यसमा पुलिस पनि त्यत्तिकै थिए । पुलिस चौकी अगाडि पुलिसको घेरामा कार्यक्रम गरेका थियौं । त्यहाँ ठूलो जमघट थियो । यो २०२५ मंसिर ८ गतेको घटना हो । यसरी हामीले खुसियाली मनायांै । त्यसको चर्चा देशव्यापी भयो । त्यस कार्यक्रममा हरेक नेता बोलेको फोटो मसँग थिए, तर धेरै हराए । फोटो हेरांै भन्ने, फोटो देखाउँदा कसैको बाबु हुन्छ, कसैको मामा हुन्छन्, त्यसपछि उनीहरूले म नभएको बेला झुक्काएर, चोरेर लैजाने पनि गरे ।

त्यसपछि मलाई पुलिसले पक्रियो
२०२५ सालमा यस्तो खुसियाली कार्यक्रम गरेबापत मलाई प्रहरीले पक्रियो । धेरै दिन ठानामा राखियो । मलाई राजकाजमा मुद्दा चलाउन खोजियो । तर मुद्दा चलाउन प्रमाण पुगेन । त्यतिबेला कांग्रेसका नेता श्रीकान्त अधिकारी, प्रेमबहादुर कुँवरको जमानीमा मलाई कास्की जिल्ला छाड्नुपर्दा पुलिसलाई भन्नुपर्ने गरी एरिया बन्दीमा छाडियो । र, हरेक शुक्रबार ठानामा हाजिर हुनुपर्ने भनियो । त्यतिखेर म स्कूल पढाउँथें ।

स्कुल टाढा थियो । शुक्रबार स्कुलमा पनि हाजिर हुनुप–यो । अनि ठानामा पनि हाजिर हुनुप–यो । त्यो दिन मलाई जान र आउन गरी आठ घन्टा हिँड्नुपर्ने भयो । त्यो झन्झटबाट स्कुलका हेडमास्टर सूर्यनाथ शर्माले मलाई मुक्ति दिनुभयो । उहाँले मप्रति अत्यन्तै सहानुभूति राख्नुभयो । उहाँ काँग्रेस हुनुुहुन्छ र अहिले पनि जीवित हुनुहुन्छ ।

उहाँले ‘हेर भाइ शुक्रबारको हाजिर मैले गर्ने भएँ । शुक्रबारको अघिल्लो दिन गर्ने कि भोलिपल्ट गर्ने त्यो म मिलाउँला, तर अबदेखि शुक्रबार नआइज । स्कुलमा आउने समय मिलाएर ठानामा जानू । ठानामा छिटो गए स्कुल किन छाडेको भन्लान् । २–३ बजेतिर ठानामा जानू । अब शुक्रबार स्कुल नआउनू’ भन्नुभयो । उहाँले मलाई त्यति ठूलो सहुलियत दिनुभयो । त्यसपछि म २–साढे २ बजेतिर ठानामा जान थालें ।

स्कुल लाग्दासम्म त मलाई सजिलै भयो, तर असार साउनतिर स्कुल बिदा भयो । अब के गर्ने भन्ने भयो । त्यसपछि मेरो बुवा, श्रीकान्त अधिकारी, प्रेमबहादुरले छलफल गरेर अबदेखि जे पर्छ पर्छ, नजाने भन्ने सुझाव दिनुभयो । म नगएपछि ठानाले पनि वास्ता गरेन । हामीले पनि वास्ता गरेनौं । मंसिरको अन्तिम सातादेखि जेठसम्म करिब सात महिना म हरेक शुक्रबार ठानामा हाजिर भएँ । यो कुरा बीपीले थाहा पाउनुभएको रहेछ ।

त्यतिखेर नेपाली कांग्रेसको प्रारम्भिक जिल्ला समिति बनेको थिएन । नेपाली काग्रेसको धीरबहादुर गुरुङ नेता हुनुहुन्थ्यो । उहाँ बनारसबाट आउजाउ गर्नुहुन्थ्यो । त्यतिखेर बीपी बनारस पुगिसक्नु भएको थियो । मेरो घटनाबाट बीपी खुसी हुनुभएछ । धीरबहादुलाई मलाई धन्यवाद दिएर आउनु भन्नु भएछ । त्यसपछि राजनीतिमा मलाई झनै उत्साह जाग्यो ।

त्यसपछि हामी बीपीलाई भेट्न बनारस गयौं
तनहुँका रामचन्द्र पोखरेल, कास्कीका सोभियतबहादुर अधिकारी, तेजबहादुर पन्थ र म गरी चारजना भएर हामी बीपीलाई भेट्न बनारस गयांै । यो २०२६ सालतिरको घटना हो । बनारस पुगेपछि बीपीलाई भेट्यौ । उहाँले बडो स्नेह गर्नुभयो । बाटोमा कस्तो भयो, अब नुहाइधुवाइ गर्नुपर्छ जस्ता कुरा सोध्नुभयो । उहाँले ‘यिनीहरू थाकेर आएका छन् । यिनीहरूलाई फलफूल र दूध खुवाउनुपर्छ’ त्यतिसमेत भन्नुभयो । त्यो कुरा हामीलाई सुनाउनका लागि मात्र थिएन । उहाँ त्यति ठूलो नेता हुनुहुन्छ । त्यहाँ सुशीला भाउजू र हामीसँगसँगै बसेर खाना खायौं । त्यसपछि अनेक ढंगबाट हामीसँग कुरा गर्नुुभयो । मेरो बुबालाई पनि उहाँले सम्झनुभयो । रामचन्द्रको बुबालाई पनि उहाँले सम्झनुभयो ।

उहाँले सानो सानो कुरामा पनि चासो दिनुभयो । तिमीहरू सिनेमा हेर्दैनांै, सिनेमा हेर्न जाऊ भन्नुभयो । फलानो हलमा राम्रो सिनेमा चलेको छ पनि भन्नुभयो । तिमीहरू यहाँ आएको बेला यो यो किताब किनेर पढ्नु है भन्नुभयो । त्यसपछि उहाँले कोलकाता जानु, सुवर्णजीलाई पनि भेट भन्नुभयो । त्यो कुरालाई साथीहरूले कसरी बुझे, तर मैले त सुवर्णजीसँग भेट गरेर सम्पर्क सूत्र बुझ्न र आइडिया लिन सकून् भन्न उहाँले पठाउनु भएको हो कि भनेर मैले बुझें । हामीलाई उहाँले त्यस्तो योग्य देख्नुभयो कि जस्तो लाग्यो । त्यसपछि उहाँले शैलजालाई बोलाउनुभयो । ‘यिनीहरू कोलकाता जान्छन् । कोलकाता जाँदासम्मको टिकटको बन्दोबस्त गरिदेऊ’ भन्नुभयो । त्यसपछि उहाँले हामीलाई पनि भन्नुभयो, ‘तिमीहरूलाई कोलकातासम्मको टिकटको शैलजाले बन्दोबस्त गर्नेछन् । सुवर्णकहाँ गएपछि सबै कुराको बन्दोबस्त उहाँले गर्नुहुन्छ । नेपाल फर्कने खर्च पनि उहाँले दिइहाल्नुहुन्छ । तिमीहरूले चिन्ता गर्नु पर्दैन भन्नुभयो । त्यसपछि हामी कोलकातातिर लाग्यौं ।
(नेपाली काँग्रेसका नेता तथा पूर्वसभामुख तारानाथ रानाभाटसँगको कुराकानीमा आधारित)