मंगला भाउजू ०१५ सालमै चुनाव लड्न चाहनु हुन्थ्यो

मंगला भाउजू ०१५ सालमै चुनाव लड्न चाहनु हुन्थ्यो श्यामलाल श्रेष्ठ १६ आश्विन २०७८, शनिबार ०९:३०
मंगला भाउजू ०१५ सालमै चुनाव लड्न चाहनु हुन्थ्यो

त्यसबेला गणेशमानजीले रुसमा पानी प-यो भने यहाँ छाता ओढ्ने नेताहरू छन् भन्नु हुन्थ्यो । पछि त्यो कुरा उखान जस्तै बन्यो । २०१५ सालको आमनिर्वाचनका बेला कम्युनिस्टहरूले रुसको समर्थन गर्दै चर्का भाषण दिन थालेपछि त्यसको काउन्टरमा गणेशमानजीले उक्त कुरा बताउनु भएको हो । कोणसभाका अलावा त्यतिबेला पनि काठमाडौंमा ठूला आमसभा हुन्थे ।

२०१५ सालको आमनिर्वाचनका सन्दर्भमा एउटा बिर्सनै नहुने प्रसंग छ । जुन प्रसंग सार्वजनिक भएको छैन । २०४८ सालको आमनिर्वाचनमा काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये ३ र ४ मा मंगला भाउजू र प्रकाशमान सिंह चुनाव लड्नु भयो । दुवैले भारी मतअन्तरले चुनाव हार्नुभयो । आमा छोरा दुवैजना चुनाव लडेको काठमाडौंका जनताले रुचाएनन् । जसका कारण राजधानी काठमाडौंमा नेपाली कांग्रेसले निकै ठूलो मूल्य चुकाउनु प¥यो । मंगला भाउजूको चुनाव लड्ने धोको २०१५ सालको आमनिर्वाचनदेखि नै हो ।

२००४ सालमै नेपाल महिला संघ गठन गरी उहाँ ठूलै नेतृका रूपमा स्थापित भइसक्नुभएको थियो । त्यो जमानामा यस्ता पढेलेखेका र जुझारु महिला थिएनन् । नेपाल महिला संघले तत्कालीन प्रधानमन्त्री पद्मशमशेरलाई दबाब दिएर केही प्रजातान्त्रिक अधिकार जनतालाई दिलाइसकेको थियो । २००७ सालको जनक्रान्तिमा पनि भित्रभित्रै नेपाल महिला संघले उल्लेखनीय काम गरेको थियो । यो हिसाबले मंगलादेवी सिंहको राजनीतिक उचाइ नेपाली कांग्रेसका कुनै नेताको भन्दा कम थिएन । २०१५ सालको आमनिर्वाचनमा गणेशमानजी त काठमाडौंबाट चुनाव लड्नु हुने भयो । मंगला भाउजूले पनि भक्तपुरबाट चुनाव लड्ने भनेर फर्म ल्याउनु भएछ । त्यो थाहा पाएपछि बीपीले तुरुन्तै बोलाउनु भएछ । बीपीले कुरा उक्काउन नपाउँदै मंगला भाउजूले भन्नुभएछ– ‘बीपीबाबु मैले त भक्तपुरबाट उम्मेदवारी दिने तयारी गरेकी छु, उम्मेदवारी मनोनयन पत्र पनि ल्याएकी छु ।’

२०१५ सालको आमनिर्वाचनका सन्दर्भमा एउटा बिर्सनै नहुने प्रसंग छ । जुन प्रसंग सार्वजनिक भएको छैन । २०४८ सालको आमनिर्वाचनमा काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये ३ र ४ मा मंगला भाउजू र प्रकाशमान सिंह चुनाव लड्नु भयो । दुवैले भारी मतअन्तरले चुनाव हार्नुभयो । आमा छोरा दुवैजना चुनाव लडेको काठमाडौंका जनताले रुचाएनन् । जसका कारण राजधानी काठमाडौंमा नेपाली कांग्रेसले निकै ठूलो मूल्य चुकाउनु प¥यो । मंगला भाउजूको चुनाव लड्ने धोको २०१५ सालको आमनिर्वाचनदेखि नै हो ।

खोइ दिनोस् त भनेर बीपीले फर्म माग्नु भएछ र च्यातिदिनु भएछ । अनि भन्नुभएछ– ‘भाउजू, तपाई सांसद बन्न योग्य हो, तपाई जस्तो व्यक्तित्व भएका महिला हाम्रो पार्टीमा छँदै छैनन्, तर गणेशमानजीले चुनाव नजिते अरु सबै ठाउँमा कांग्रेसले जिते पनि कुनै अर्थ राख्दैन, राजधानी काठमाडौंमा कांग्रेसले चुनाव जित्नै पर्छ र त्यसमा पनि गणेशमानजीले कुनै पनि हालतमा चुनाव हार्नु हुँदैन । गणेशमानविरुद्ध पुष्पलाल उठ्दैछन्, सारा कम्युनिस्टहरू पुष्पलाल जिताउन लागिपरेका छन्, प्रतिक्रियावादीहरूले पनि गणेशमानलाई हराउन कम्युनिस्टलाई साथ दिने लक्षण देखिएको छ । प्रेमबहादुर शाक्य जस्ता लोकप्रिय उम्मेदवार पनि गणेशमानजीकै विरुद्ध चुनाव लड्दैछन्् । गणेशमानविरुद्ध कांग्रेसकै नेवार समुदायको कुनै नेतालाई बागी उठाउने तयारी पनि प्रतिक्रियावादीहरूले गरेका छन् । यस्तो अवस्थामा तपाईले एकछिन पनि गणेशमानजीको साथ छाड्न मिल्दैन, यसपटकलाई चुनाव लड्ने कुरा छाडिदिनोस् ।’ यसरी बीपीले सम्झाएपछि मंगला भाउजू नाजवाफ भएर फर्कनु भएछ ।

त्यो चुनावमा गणेशमानजीको आग्रह के थियो भने– ‘मैले मुलुकका लागि यत्रो सेक्रिफाइस गरेँ, मलाई भोट आउँछ ।’ तर धरातलीय यथार्थता त्यस्तो थिएन । एकातिर कम्युनिस्टहरूको अवस्था राम्रै थियो भने अर्कातिर अन्य पार्टीका उम्मेदवार पनि कमजोर थिएनन् । शाक्यहरूको भोट प्रेमबहादुर कंसाकारलाई जाने स्थिति बन्यो, प्रतिक्रियावादीहरूले जसलाई भोट दिँदा कांग्रेस हार्छ, उसैलाई भोट दिने रणनीति बनाए । त्यतिबेला राजा महेन्द्रले त कांग्रेसलाई हराउन ठूलो धनराशि खर्च गरिरहेका थिए ।

काठमाडौं मात्रै होइन, देशका सबै निर्वाचनमा राजा महेन्द्रले कांग्रेसविरुद्ध पैसाको खोलो बगाइरहेका थिए । काठमाडौंमा दरबारियाहरूको भोट पनि राम्रै थियो । यो स्थिति देखेपछि बीपी कोइरालाले मंगलमान, प्रेमबहादुर कंसाकारलगायतको उम्मेदवारी फिर्ता गराएर कांग्रेसको समर्थनमा ल्याउनुभयो । व्यक्तिगत रूपमा उनीहरूको पक्कड राम्रै थियो । त्यसपछि मात्रै अन्तिम अवस्थामा गणेशमानजीका पक्षमा मोहोल बन्यो । राम्रै मतअन्तरले गणेशमानजीले चुनाव जित्नुभयो ।

कांग्रेसलाई चुनाव हराउन सकिने र धेरैजसो ठाउँबाट स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने परिस्थिति निर्माणका लागि नै राजा महेन्द्रले चुनाव टार्दै लगेका हुन् । २०१५ सालसम्म आइपुग्दा आफूले सोचेजस्तो परिस्थिति निर्माण भयो भन्ने राजा महेन्द्रले ठानेपछि चुनाव सम्भव भएको हो । कुनै पार्टीको बहुमत आएन र धेरैजसो स्वतन्त्र उम्मेदवारले जिते भने शक्ति मेरै हातमा हुन्छ भन्ने सोचाइ राजा महेन्द्रको थियो । तर चुनावी परिणाम राजा महेन्द्रले सोचेजस्तो आएन । नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । राजा महेन्द्रले खर्चपर्च दिएर उम्मेदवार बनाएका स्वतन्त्रहरू एकजनाले पनि चुनाव जितेनन्, उनीहरू प्रायः सबैको जमानत जफत भयो ।

राजा महेन्द्रको मुख्य मिसन नेपाली कांग्रेसलाई जसरी भए पनि सिध्याउने भन्ने नै थियो । २००७ सालको क्रान्ति सफल बनाएको जस राजा त्रिभुवनलाई एकलौटी रूपमा दिलाउने मिसन महेन्द्रको थियो । वास्तवमा भागेर गएका राजा त्रिभुवनलाई नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षले नै पुनर्बहाली गराएर गद्दीमा स्थापित गराएको थियो । यो इतिहास जसरी पनि मेटाउने मिसनमा रहेका राजा महेन्द्रका लागि नेपाली कांग्रेसलाई समाप्त नपारी सुखै थिएन । यसैका लागि उनले अनेक षड्यन्त्र गरिरहे, भएभरको ताकत नेपाली कांग्रेसविरुद्ध प्रयोग गरे । तर राजा महेन्द्र धेरै नै कृतघ्न व्यक्ति हुन् । उनलाई राजा त्रिभुवनले फिटिक्कै मन पराउँदैनथे । उनको सट्टा बसुन्धरा र हिमालयमध्ये एकजनालाई उत्तराधिकारी बनाउने अभियानमा राजा त्रिभुवन लागेका थिए ।

तर यो अभियानमा उनी किन लागे भन्ने वास्तविक रहस्य अहिलेसम्म खुल्न सकेको छैन । तर भन्न चाहिँ आफ्नी साली रत्न राणासँग युवराज महेन्द्रको अवैध सम्बन्ध रहेको र उनैलाई दुलही बनाएर भित्र्याउन उनी आशक्त भएको चर्चा थियो । रत्नलाई भित्र्याएर उत्तराधिकारी छाड्नुपर्ने सर्त त्रिभुवनले राखेको र रत्नलाई भित्र्याउन उत्तराधिकारी त्याग्न महेन्द्र तयार रहेको चर्चा त्यतिबेला चलेको थियो । त्यो चर्चालाई बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा पुष्टि गर्नुभएको छ ।

यी दुई बाबु छोराबीचको द्वन्द्वको वास्तविक कारण यति मात्रै होइन जस्तो मलाई लाग्छ । बाबुछोरा भए पनि त्रिभुवन र महेन्द्रबीच उमेरमा खासै धेरै अन्तर थिएन । १२–१३ वर्षको उमेर अन्तर थियो । यसबारे इतिहासले रहस्योद्घाटन गर्ने नै छ । बीपीले त्यति मद्दत नगरेको भए महेन्द्रले राजा हुने अवसर पाउने थिएनन्, तर महेन्द्रले बीपीमाथि नै सबैभन्दा ठूलो घात गरे । बीपीलाई नै सिध्याउन उनी भष्मासुरका रूपमा प्रकट भए ।

आफू राजा बन्नेवित्तिकै महेन्द्रले विष्णुमणि आचार्यलगायतका मान्छे भेला पारेर छुट्टै गुट बनाए । चुनाव भयो भने नेपाली कांग्रेसको पोजिसन के हुन्छ भनेर बुझ्न गाउँगाउँमा आफ्ना दूत पठाए । ती दूतहरूले नेपाली कांग्रेसको पोजिसन राम्रो नभएको जाहेर गरे । उनले नेपाली कांग्रेसका नेताहरूसँग पनि सोधे । नेपाली कांग्रेसका नेताहरूले पनि साँचो कुरा भनेनन्, हाम्रो ३०–४० सिट जति आउला, हामीले हारे पनि प्रजातन्त्र दिगो हुुन्छ भनेर चुनाव मागेका हौं भन्ने कुरा का्रग्रेसका नेताहरूको मुखाट सुनेपछि मात्रै संसद्को निर्वाचन गराउन राजा महेन्द्र तयार भएका हुन् । राजाको नियत कांग्रेसले बुझिसकेको थियो । आफ्ना मान्छेबाट पनि राजा महेन्द्रले यस्तै सूचना पाए ।
(श्यामलाल श्रेष्ठसँग परशु घिमिरेले करिब चार वर्षअघि गरेको कुराकानीका आधारमा बनाइएको हो यो लेख ।)