तरुण खबर
१९ आश्विन २०७८, मंगलवार ०९:०५
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै सभापति पदका तीन आकांक्षी विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको फेरी पनि भेटवार्ता भएको छ । नेपाली काँग्रेसका उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच सोमबार दिउँसो छलफल भएको हो । निधि निवास मध्यबानेश्वरमा भएको छलफलमा महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा छलफल भएको बताइएको छ । काँग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच निरन्तर छलफल भएपनि नेतृत्वका लागि एक जनाको नाममा सहमति हुन सकेको छैन । १४औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भन्दै विमलेन्द्र, शशांक र प्रकाशमानबीच पटक–पटक छलफल हुँदै आएको छ । पार्टी सभापतिमा तीनै जनाको दावी छ ।
रामेछापमा तामाङ: नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो । तर पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत पाएका लबश्री न्यौपानेले समर्थन गरेका हुन् । पहिलो चरणमा तामाङले ६६८ मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी न्यौपानेले ३५६ र अर्का उम्मेदवार कृष्णबहादुर महतले ३२८ मत पाएका थिए । दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने कांग्रेस विधानको व्यवस्था छ । दोस्रो मत पाएका न्यौपानेले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।
गोरखामा न्यौपाने : नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए । न्यौपाने हालका जिल्ला सचिव छन् । यसअघि उनी नेपाल विद्यार्थी संघको जिल्ला सभापति र क्षेत्रीय सभापति पनि भएका थिए ।
दोलखामा बर्मा लामा निर्वाचित: नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । दोस्रो चरणमा हिजो (सोमबार) भएको मतदान र मतगणनाअनुसार बर्माले ८७७ मत ल्याएर सभापति जितेका हुन्। सभापतिका अर्का उम्मेदवार तारा खड्काले ४८५ मत मात्रै ल्याएका थिए भने ११ मत बदर भएको थियो।


