तरुण खबर
२० आश्विन २०७८, बुधबार ०८:३८
काठमाडौं । नुवाकोटकी सोमिका तामाङले पाँच वटा शिशु जन्म दिएको आज ठिक एक वर्ष पूरा भएको छ । अहिले तीन छोरीहरूको स्याहारसुसारमा व्यस्त सोमिकालाई आफू संसारकै भाग्यमानी आमा लागेको बताएकी छन् । उनी भन्छिन्– नानीहरूको स्याहारसुसारमा एक वर्ष बितेको पत्तै पाइनँ । बिहे गरेको ९ वर्षपछि बच्चा हुँदा, एकै पटक ३ छोरीहरू हुर्काउन पाउँदा अनेकौँ दुख कष्ट भए पनि बच्चाको हाँसोमा आफूले सबै पीडा बिर्सिने गरेको सोमिका बताउँछिन् । उनले भनिन्– गर्भावस्थाका बेला जीवन र मृत्युको दोसाँधमा लड्दै गरेकी जस्ती भएकी थिएँ । बच्चा जन्माएपछि अहिले एक वर्ष खुसी भएरै बिताएकी छु । शिशुहरूको स्याहारसुसारमा परिवार र एक जना सहयोगी समेत दत्तचित्त छन् । बीबीसी नेपाली न्यूजका अनुसार राजनीतिमा सक्रिय सोमिकाका श्रीमान्ले पनि सहयोग गर्ने गरेको बताउँछिन् । एकैपल्ट तीन देवी जन्म दिएको भनेर परिवार खुशी छ । तर समाजका कैयौँले तीन छोरी जन्मे अब फेरी छोरा पाउने होला भन्ने गर्छन् । त्यस्तो सुन्दा दुख लाग्छ, यो समाजले किन छोरालाई बढी महत्व दिएको होला भनेर उनले भनिन् ।
सोमिकाको शुरूका दिन
सोमिकाको दूधले एक महिनासम्म तीन छोरीलाई पुग्थ्यो । तर दोस्रो महिनादेखि नै उनले अन्य दूध खुवाउन थालिन् । साढे पाँच महिनादेखि भने लिटो, जाउलो तथा फलफूलहरू पनि खुवाउँदै आएको उनले बताइन् । कैयौँ जुम्ल्याहा, तिम्ल्याहा बच्चाहरूको रुचि र स्वभाव एउटै हुने भए पनि उनका छोरीहरूका स्वभाव भने फरक फरक रहेको सोमिकाले बताइन् । राती नौ दश बजेतिर भने पालैपालो केही समयको फरकमा निदाउने गरेका छन् । खाने खुवाउने बेला भने बच्चाहरूको व्यवस्थापन चुनौतीपूर्ण रहने गरेको छ । उनी भन्छिन्– खान खुवाउन करिब डेढ घण्टा लाग्छ ३ जनानै एकै ठाउँमा झुम्मिन्छन् । कहिले कहिले एक अर्कालाई दलिदिने, कपडाहरू तान्दिने अनि रुने, एकलाई खुवाए अर्की अन्तै गइरहेकी हुन्छे फेरि तानेर ल्यायो अर्की के गरिरहेकी हुन्छे । कहिले त आ–आफ्नो बिहानको खान खाने समय नै घर्किन्छ । उनले बच्चाहरूलाई हप्तामा एक पटक नुहाइदिने गरेकी छन् । त्यस दिन उनी अन्य दिनभन्दा बढी नै व्यस्त हुन्छिन् । पालैपालो नुहाउने, तेल लगाउने अनि सुताउने गर्दा दिन बित्छ । उनले आफ्ना छोरीहरूको नाम भने अझै राखेकी छैनन् । सोमिका भन्छिन्– तीनै जनाको उस्तै सुनिने नाम राख्ने सोचमा छु । शुरूमा भिडिओ एक्स–रे गर्दा जुम्ल्याहा बच्चा छन् भन्ने सुन्दा उनको खुशीको सीमा रहेन । अर्को पटक भिडिओ एक्स–रे गर्दा भने उनी छाँगाबाट खसे झैँ भइन् । मरिन्छ कि झैँ लाग्थ्यो । नर्सहरूले अरूले पनि चार वटा बच्चा जन्माएका छन् केही हुन्न आराम गरेर बस्नु भन्थे । तर मनमा अनेक कुरा खेलिरहन्थ्यो, त्यसैले एक जना साथी अनिवार्य साथमा राख्थेँ ।
सोमिका र हरिकुमार तामाङको बिहे भएको ९ वर्ष भइसकेको थियो । त्यस बीचमा दुई पटकसम्म गर्भ खेर गएको थियो । त्यसपछि लामो समयसम्म बच्चा नभएपछि उपचार गरेर गर्भ बसेको थियो । पेटमा चार बच्चा भएको थाहा पाउने बित्तिकै उनीहरू राजधानी काठमाडौं बस्न थाले । पहिलो पटक गर्भमा बच्चा चल्दा उनको फेरि एक पटक होस उडेको थियो । मुटुमुनि केही बुरुकबुरुक भयो । म त आत्तिएर जुरुक्क उठेँ । क्षामा (सानिमा) ले बच्चा चलेको हो । तिम्रो पेटमा धेरै वटा भएकाले त्यस्तो लाग्यो तिमिलाई भन्नुभयो । अनि बल्ल डर लागेन । एक बच्चा मृत जन्मियो, चार जीवित थिए ।
जन्मिँदा शिशुहरूको तौल १९ सय ग्राम, १८ सय ग्राम, १६ सय ग्राम र ८ सय ग्राम रहेको थियो । ८ सय ग्राम मात्र रहेको शिशुको तौल न्यून भएकाले स्वास्थ्यकर्मीको सुझाव अनुसार जन्मे लगतै आईसीयूमा राखे पनि एक हप्तापछि मृत्यु भएको अस्पतालले जानकारी दिएको सोमिकाका श्रीमान् हरिकुमार तामाङले बताए । जेठी छोरी १८ सय ग्राम जन्मेकोमा अहिले ९ किलोकी भइन् । माइली १९ सय ग्राम रहेकोमा अहिले पौने ९ किलोकी छन् । र, कान्छी १६ सय ग्रामकी जन्मिएकीमा अहिले ८ किलोको भएकी छन् ।


