तरुण खबर
२१ आश्विन २०७८, बिहीबार ०९:३९
काठमाडौं । राजनीतिक अस्थिरताका कारण ओरालो लागेको अर्थतन्त्र र महामारीका कारण लगाइएका प्रतिबन्धले म्यान्मारका गरिबहरूले भोकमरीको सामना गरिरहेका छन् । सहायता समूहले दिने खानेकुरा लिनका लागि म लाइनमा बसेको थिएँ । आधा घण्टाभन्दा धेरै कुरेँ तर मेरो पालो आउनुअघि नै खानेकुरा सकियो– आँसु पुछ्दै म वेले भनिन् । म रित्तो हात फर्किएँ । चार वर्षीया छोरीलाई केही खुवाउन पाइनँ भन्ने लाग्यो– उनले भनिन् । मध्य म्यान्मारस्थित मोन्याकी ४२ वर्षीय म वे धनी परिवारका घरमा सरसफाइको काम गर्ने गर्थिन् । तर जुलाईमा कोभिड हुनेहरूको संख्या ह्वात्तै बढेपछि उनले काम गर्ने घरका मालिकले काम गर्न नआउन भने । त्यति बेला सरकारले सबैलाई घरमै सुरक्षित रहन भनेको थियो । चित्रकार रहेका उनका पति पनि कोभिड प्रतिबन्धका कारण कामविहीन बने । हालसालै मेरा श्रीमानले काम सुरु गर्ने प्रयास गरे । म उनका लागि खाना बनाउने भएँ– उनले भनिन् । तर सेनाले उनलाई रोके र घर फर्कन भने । त्यसैले उनले काम गर्न पनि पाएनन् ।
म वे र उनका श्रीमान सात महिनादेखि बेरोजगार छन् । उनीहरूका चार सन्तान र आमा खाद्य सहायतामा आश्रित छन् । कहिलेकाहीँ हामीलाई दिनमा एक छाक मात्रै खानेकुरा मिल्छ– उनले भनिन् । हामीले यस्तो कठिनाइ कहिल्यै महसुस गरेका थिएनौँ । विश्व बैङ्कले यो आर्थिक वर्षमा म्यान्मारको अर्थतन्त्र १८ प्रतिशतले खुम्चिने र गरिबीको दर सन् २०२२ सम्ममा दोबरभन्दा बढी हुने जनाएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार चामलको मूल्य १८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । विगत १२ महिनामा खाने तेलको मूल्य पनि दोबर भएको छ । म वे बस्ने समुदायका धेरै मानिसहरूले फेब्रुअरी १ तारिखमा भएको सैन्य कूको विरोधमा भएका आन्दोलनहरूमा भाग लिएका थिए । त्यो समयमा सेनाले हाम्रो क्षेत्रमा बन्दुक हानेको थियो । केही छिमेकीहरूको ज्यान गयो भने केही गोली लागि घाइते भए– उनले सम्झिछन् । कूयता शिक्षकदेखि रेलवेमा काम गर्ने कर्मचारी, चिकित्सक र नर्सहरूलगायत दसौँ हजार सरकारी कर्मचारीहरूले पनि सेनाका लागि काम गर्न अस्वीकार गर्दै आएका छन् । पदबाट निकालिएका सांसदहरूबाट बनेको राष्ट्रिय सहमतिको सरकारका अनुसार चार लाख दश हजारभन्दा बढी सरकारी कर्मचारीहरू अझै पनि आन्दोलनरत छन् । फेब्रुअरीयता देशभरका स्वास्थ्यकर्मीहरू सिभिल डिसअबिडियन्स मुभमेन्टमा आवद्ध छन् ।
आन्दोलनमा सेनाको स्वामित्व रहेका सबै सेवाहरू बहिष्कार गर्न आह्वान गरिँदै आएको छ । आन्दोलनकारीको उद्देश्य भनेको आम्दानीको मुख्य स्रोतबाट सेनालाई वञ्चित गराउने हो । मानिसहरू आफूले तिरेको पैसा सेनाको ढुकुटीमा जाने भन्दै बिजुलीका बिलहरू पनि तिर्न मानिरहेका छैनन् । यीलगायत सेनाविरुद्धका अन्य सार्वजनिक प्रतिबन्धले महत्वपूर्ण रूपमा असर पारेको छ । सेनामा दोस्रो स्थानमा रहेका जेनरल सो विनले गत अगस्टमा भएको बजेट बैठकमा सरकारले थोरै राजश्व पाइरहेको बताएका थिए । यान्गुनको ६० किलोमिटर पूर्वमा रहेको केयन नगरस्थित विद्युत् कार्यालयमा रहेका ४३ कर्मचारीमध्ये देखा पर्ने एक जनामात्रै छन्, जो सेनाका पूर्वकप्तान हुन् । बाँकी सबै आन्दोलनमा गएका थिए । १५ जना अझै प्रतिरोध गरिरहेका छन् । उनीहरूको सामूहिक कार्यले सेनाको कूलाई असर पु¥याए पनि त्यसका कारण व्यक्तिगत मूल्य भने धेरै चुकाउनुपरेको छ । मेरो आम्दानी छैन तर म र मेरा सहकर्मीहरू सेनाका लागि काम गर्न नजानेमा प्रतिबद्ध छौँ, किन की तारले भनिन् । मेरो तलब ८३ डलर थियो र एप्रिल महिनायता मैले तलब पाएको छैन । हाम्रो नगरमा रहेको एउटा समूहले मलाई मद्दत गरेको थियो तर त्यसका नेताले भने अन्यत्रै जानुप-यो– उनले भनिन् । विपक्षी न्याश्नल युनिटी गभर्मेन्टले गत अगष्टमा अनलाइन चिट्ठा सुरु गरेको थियो, मानिसहरूको पीडा कम गर्न राष्ट्रिय सहमतिको सरकारले एउटा अनलाइन चिट्ठा कार्यक्रम गत अगस्टमा सुरु ग-यो ।
त्यो कार्यक्रमको उद्देश्य आन्दोलनरत सरकारी कर्मचारीलाई सहायता रकम उठोस् भन्ने रहेको छ । बीबीसी न्यूजका अनुसार उक्त समूहका अनुसार त्यसरी उठेको रकमको ७० प्रतिशत आन्दोलनरत मानिसले पाउँछन् भने बाँकी ३० प्रतिशत पुरस्कारका रूपमा दिइन्छ । मानिसहरूले सरकारले चलाएको चिट्ठाहरू किन्न छोडेका थिए र राष्ट्रिय सहमतिको सरकारको चिट्ठा पहिलो एक घण्टामै धेरै बिकेको थियो । त्यसको प्रतिक्रियामा सेनाले उक्त चिट्ठा कार्यक्रमलाई प्रतिबन्धित गर्दै चिट्ठा किनेका ब्याङ्क खाता रोक्का गरिदिएको थियो ।
ब्याङ्क धराशायी हुने खतरामा
म्यान्मारको ब्याङ्किङ प्रणाली धराशायी हुने खतरामा छन् । कूपछि मानिसहरू आफ्नो बचत गरेको रकम झिक्न व्यग्र भए । तर ब्याङ्कहरूले सीमित रकम मात्रै दिन थाल्यो । मार्चयता म्यान्मारको केन्द्रीय बैङ्कले सातामा व्यक्तिले एघार सय अमेरिकी डलरभन्दा बढी निकाल्न नपाउने र धेरै कम्पनीले एघार हजार डलरभन्दा बढी निकाल्न नपाउने नियम बनायो । यान्गुनका धेरै मानिसजस्तै मा खिन पनि पैसा झिक्न पाइने आशामा बिहान सबेरै उठेर एटीएम मेसिनको बाहिर लामो लाइनमा बसेकी छन् । म्यान्मार प्लाजाको केबीजेड ब्याङ्क छ बजे खुल्छ र सीमित सङ्ख्यामा ग्राहकहरूलाई टोकनहरू दिन्छ । तर तपाईँ भाग्यमानी भएर टोकन पाउनुभयो भने पनि पैसा झिक्नका लागि तपाईँको पालो आउँदासम्म त्यहाँ पैसा रहन्छ कि रहन्न टुङ्गो छैन । दशमध्ये तीन वटा मेसिनले मात्रै काम गर्छ र ब्याङ्कले तिनीहरूमा पनि पैसा थप्दैन– खिनले भनिन् । तपाईँ कुर्न सक्नुहुन्न भने तपाईँले कालो बजारमा कमिसन दिनुपर्छ– उनले भनिन् । गत महिना उनले आफ्नै पैसा झिक्न पनि १२ प्रतिशत कमिसन तिर्नुपरेको थियो ।


