तरुण खबर
२१ आश्विन २०७८, बिहीबार ०९:४८
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेसन मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने भनिएकोमा करिब एक महीना पर सर्ने भएको छ । हिमाली क्षेत्रका २१ जिल्लाको अधिवेशन असोज १८ गतेसम्म सकिसक्ने गरि कार्यतालिका सार्वजनिक गरिएको थियो । अहिलेसम्म १३ जिल्ला काँग्रेसको अधिवेशन सम्पन्न भएको अनौपचारिक सार्वजनिक रुपमा आएको छ । सम्पन्न भएका जिल्लाका तथ्यांक हेर्दा ४० प्रतिशतभन्दा बढी महाधिवेन प्रतिनिधि युवाहरु आएका छन्, जसले कामको आधारमा मत दिने देखिन्छ ।
पुराना र पाका महाधिवेसन प्रतिनिधि १५ देखि २० प्रतिशत मात्र आएको तथ्यांकमा पाइएको छ । उनीहरु भने देउवा समूह र कोइरा–पौडेल समूहमा विभाजित भएका छन् । त्यसैले अधिकांश महाधिवेशन प्रतिनिधि बनेर नयाँ पुस्ता आउँने भएकाले केन्द्रीय सभापतिमा कसले जित्न सक्छ भनी अहिले नै अनुमान लगाउँन सकिएको छैन ।
अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पौडेल पक्षको कडा टक्कर देखिएको छ । मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७पालिकामध्ये करिब २ सय वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंह लगायत पक्षका भने २ सय ४९ जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना र केही पालिका सभापतिमा कुन पक्षको हो भन्ने खुल्न सकेका छैनन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ५४ जना छन् । बागमती, कर्णाली र सुदूरपश्चिममा देउवा पक्ष बलिएको देखिएको छ भने प्रदेश एक र लुम्बिनी र गण्डकीमा पौडेल पक्ष अगाडि देखिएको छ ।
प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल–कोइराला पक्षले ६३ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् । बागमती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ४० स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् । त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका ४६ जनाले पालिकाको सभापतिमा जित हासिल गरेका छन् ।
लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशन भएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने ४८ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् । कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिकामध्ये देउवा पक्षले ३६ स्थानमा जितेको छ ।
त्यस्तै कोइराला र पौडेल पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कतिपय निर्वाचित सभापतिहरू कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् । सुदूरपश्चिम प्रदेशका सम्पन्न ७७ पालिका अधिवेशनमा देउवा पक्ष ५५ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने २७ ठाउँमा मात्रै जितेको छ । सुदूरपश्चिममा केही पालिका अधिवेशन हुन बाँकी छ । प्रदेश दुईमा भने अधिवेशन हुन सकेको छैन ।


