तरुण खबर
२२ आश्विन २०७८, शुक्रबार ०९:१९
काठमाडौं । नेपाली काँग्रेसले दशैंका अवसरमा हरेक वर्ष आयोजना गर्दैै आएको चियापान यस वर्ष पनि नहुने भएको छ । कोजाग्रत पूर्णिमाका दिन नेपाली काँग्रेसले प्रत्येक वर्ष चियापान गर्दै आएको थियो । दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गर्नु भएको चियापान कार्यक्रम दशंैको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको थियो ।
बीपी कोइराला, गणेशमान सिंह, खुमबहादुर खड्का, शैलजा अचार्यलगायतका नेताहरु भारत निर्वासन जीवन त्यग्दै नेपाल आउनु भएको थियो । आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किनु भएको थियो ।
काँग्रेस नेतृत्वको सरकारले खोपको व्यापक गरे पश्चात् महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन काँग्रेसको विज्ञप्तिमा भनिएको छ– खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो ।
काँग्रेसले चियापानमा सबै राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, सुरक्षा निकाय, निजामती कर्मचारी, नागरिक समाजलाई बोलाउँदै आएको थियो । अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण काँग्रेसले चियापन आयोजना गरेको थिएन ।


