काभ्रेको बेथाञ्चोक, नारायणथानबाट लिइएको दृष्य (फोटो फिचर)

काभ्रेको बेथाञ्चोक, नारायणथानबाट लिइएको दृष्य (फोटो फिचर) तरुण खबर २३ आश्विन २०७८, शनिबार ०९:४६
काभ्रेको बेथाञ्चोक, नारायणथानबाट लिइएको दृष्य (फोटो फिचर)

काठमाडौं । गत वर्षको माघ महिनामा एक जना प्रसिद्ध फोटो ग्राफर सुरज पत्रवंशलाई लिएर नेपालको राजधानी काठमाडौंदेखि ४५ किमी दक्षिणमा रहेको बेथाञ्चोक गाउँपालिकामा गएका थियौं । वागमती प्रदेशमा रहेको काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहमध्ये एक हो । बेथाञ्चोक गाउँपालिका साविकका पाँचवटा गाविसहरू चलालगणेशस्थान, ढुंंखर्क, च्याम्राङ्गबेसी, च्यासिङ्गखर्क, भुग्देउ–महांकालचौर मिलेर बनेको छ । बेथाञ्चोकको उत्तरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाउँपालिका, पूर्वमा रोशी गाउँपालिका रहेको छ भने पश्चिममा ललितपुर जिल्लाको महांकाल गाउँपालिका रहेको छ । र, समुद्री सतहबाट करिब ३ हजार १८ मिटर अग्लो स्थानमा रहेको बेथाञ्चोक नारायण मन्दिरको नामबाट बेथाञ्चोक गाउँपालिकाको नामाकरण गरिएको हो ।

बृद्धाश्रमका लागि बनाइएको भवन, जहाँ गाउँपालिकाको कार्यालयलाई भाडामा दिइएको छ ।

पहाडी मुलुकका रूपमा चिनिने नेपालमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका हिमालय, महाभारत र चुरे गरी तीन प्रकारका पर्वत शृंखलाहरू छन् । जसमध्ये काभ्रे जिल्लाको महाभारत पर्वत शृंखलाको सर्वोच्च शिखर हो– ‘बेथाञ्चोक नारायणस्थान ।’ ३ हजार १८ मिटर उचाइको यो शिखर काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण पश्चिम भेगमा पर्छ । सत्रौं शताब्दीमा भक्तपुरका राजा भूपतिन्द्र मल्लले पहिचान नगर्दासम्म यो शिखरमा कुनै देवदेवीको स्थान (मन्दिर) रहेको कसैलाई थाहा थिएन । अर्काथरीको मत– ‘अनुसार सत्रौं शताब्दीमा राजा भूपतिन्द्र मल्ललाई चाँगुनारायणले भक्तपुरबाट यो शिखरमा बसाइँ सरेको सपनामा अवगत भयो । त्यसपछि उनी गई पूजा अर्चाना गरे, बेलामौकामा पूजाआजाको प्रबन्धसमेत मिलाए, तर स्थान (मन्दिर) निर्माण गरेनन्, त्यसकारण बेथान भनिएको हो । बेथाञ्चोक–२ का वडा अध्यक्ष भगवान घिमिरेले यो तर्कलाई खण्डन गरेका छन् । उनी भन्छन्– नारायणको मन्दिर बनाउँने क्रममा खन्दा धेरै नै पुराना सामान पाइएको थियो ।

बेथाञ्चोक–४ पार्थली भन्ज्याङमा बनाइएको पर्यटकीय भ्यूटावर, जहाँबाट बेथाञ्चोकका वडा नम्बर २, ३, ४ र ५ सजिलै देख्न सकिन्छ ।

बेथाञ्चोकको वडा नम्बर २ र ३ का प्रबुद्ध नागरिक पर्यटन विकासका लागि जुर्मुराउन खोज्नु पहिलो सम्भाना हो । बेथाञ्चोक गाउँपालिकाको ३ नम्बरमा रहेको नारायणस्थान÷झन्डागाडे साउथ एसियामा फैलिएको महाभारत रेञ्जको काभ्रे जिल्लाकै सबैभन्दा अग्लो डाँडो हो । जहाँबाट पूर्वको मकालुदेखि धौलागिरी हिमालय रेञ्ज र पश्चिममा बिहारसम्म खुला आँखाले नियाल्न सकिन्छ । नारायणस्थानमा दुईवटा पौराणिक गुफालाई प्रचारमा ल्याउन सक्ने हो र व्यवस्थापन गर्ने हो भने पोखराको महेन्द्र गुफालाई माथ दिने बेथानचोक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भगवान घिमिरेले जानकारी दिएका छन् ।

विहानीपखको दृष्य: बेथाञ्चोक–२, ढुंखर्कको गेल्डुङ बजार, पनौती, बनेपा र धुलिखेललगायतका ठाउँहरु ।

परिवर्तित संरचनाअनुरूप एक संघ, सात प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह कायम गरिएको छ । जसअनुसार स्थानीय तहमा महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६, गाउँपालिका ४६० र वडा ६,७४३ रहेका छन् । परिवर्तित नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघका लागि जनप्रतिनिधिहरूको निर्वाचनसमेत सम्पन्न भई निर्वाचित जनप्रतिनिधिमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास भइरहेको छ ।

बेथाञ्चोक–३ को नारायणथानबाट विहानीपख लिइएको दक्षिण–पश्चिममा रहेको हेटौडा बजारको दृष्य ।

वागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा ६ वटा नगरपालिका र सातवटा गाउँपालिका गरी जम्मा १३ वटा स्थानीय पालिका छन् । जिल्लाका १३ वटा स्थानीय पालिकामध्येको बेथानचोक गाउँपालिका पनि एक हो । जसलाई ६ वटा वडाहरूमा विभाजन गरिएको छ । २०३६–३७ सालअघिसम्म ढुंखर्कमा तीन वटा प्राथमिक विद्यालय मात्र थिए, हामीले देखेभोगेकै कुरा हो । २०४० सालसम्म ढुंखर्कको विकासको गति चिप्ले किराको जस्तो थियो, तर आज खरायोको गतिमा यहाँको विकासले फड्को मारेको छ । २०४१ सालमा माध्यमिक विद्यालय, २०४९ सालमा सडक, २०६२ सालमा कृषि क्रान्ति आरम्भ, २०६३ सालमा उच्च माध्यमिक विद्यालय, २०६९ सालमा स्नातक तहसम्मको बहुमुखी क्याम्पस स्थापना र सडक कालोपत्रे हुनु भनेको छोटो समयको ठूलो प्रगति नै हो ।

काठमाडौबाट सिधै काभ्रे जिल्लाको बेथाञ्चोक गाउँपालिका–२ ढुंखर्कका लागि बस सेवा सञ्चालनमा छ । राजधानीबाट पनौती र पनौतीबाट खोपासी हुँदै ढुंखर्कलागि पनि बस सेवाको सुविधा छ । काठमाडौंबाट करिब ४५ किलोमिटर ढुंखर्क अर्थात बेथाञ्चोक गाउँपालिका पुगिन्छ । फोटो: सुरज पत्रवंश