नियात्रा : बेथान र साहित्य यात्रा

नियात्रा : बेथान र साहित्य यात्रा दीपक कथित २३ आश्विन २०७८, शनिबार १०:११
नियात्रा : बेथान र साहित्य यात्रा

काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक दुई वर्षअघि पुस ८ गतेबाट शुरु भएको तीन दिने ‘बेथानचोक पर्यटकीय साहित्यिक यात्रा–२०६८’ पुस १० गते आइतबार सम्पन्न भएको थियो । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिक रूपले पर्यटकीयस्थल बेथाञ्चोकको पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यसहित यो यात्राको आयोजना गरिएको हो ।

साहित्य सञ्जाल नेपाल र तेस्रो आँखा नेपालको संयोजनमा भएको यो कार्यक्रमको आयोजना काभ्रे जिल्लामा क्रियाशील ५० भन्दा बढी साहित्यिक र अन्य संघसंस्थाले गरेका थिए । नेपालका ख्यातिप्राप्त साहित्यकार, पत्रकार, फोटोपत्रकार, पर्यटनसँग आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, धार्मिक व्यक्तित्व तथा संस्कृतिकर्मीलयागत १०० भन्दा बढीको सहभागिता रहेको सो यात्राले बेथानचोक नारायणस्थानको मात्र नभई काभ्रे जिल्लाको अन्य पर्यटकीय स्थलहरूलाई विश्वसामु चिनाउन मद्दत मिल्ने बताइएको छ ।

लेखन र सिर्जनामा रम्ने साहित्यकार पत्रकारहरूले तीन दिने बेथाञ्चोक पर्यटकीय साहित्यिक यात्रामा स्वागतै स्वागत पाएका थिए । उनीहरूलाई गाउँगाउँमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो । काठमाडौंको भृकृटीमण्डपबाट महाभारत क्षेत्रकै अग्लो बेथानचोक नारायणस्थान (समुन्द्री सतहबाट ३ हजार १८ मिटरको उचाइमा) को यात्रामा हिँडेका उनीहरूलाई काभ्रेका विभिन्न ११ स्थानमा स्वागत गरिएको थियो । स्थानीय कला, संस्कृति, नाचगान, बाजागाजासहित स्वागत गरिएको थियो, उक्त यात्रामा कविता, गीत, गजल, कथा, नियात्रा, निबन्ध, चित्रकारिता, विचार लेखनलगायतका क्षेत्रमा ख्याति कमाएका उनीहरूलाई साँगा, बनेपा, धुलिखेल, शंखु, कामीडाँडा, च्याल्टी, महांकालथान, महादेव मन्दिर, गेल्डुङ, पार्थली र पनौतीमा स्वागत गरिएको थियो ।

नेपाल प्रहरी स्कुल साँगामा पहिलो स्वागत र सत्कार पाएर गरिएको यो यात्राको सुरुवात पनौती साहित्य समाजले पनौतीमा स्वागत गरी त्यही समापन गरिएको थियो । पहिलो दिन नै उनीहरूलाई जनमत प्रकाशनले बनेपामा स्वागत गरेको थियो भने धुलिखेल उद्योग वाणिज्य संघ र हजार सिंढी निर्माण समितिले धुलिखेलमा स्वागत गरेको थियो । प्रसिद्ध पर्यटकीय क्षेत्र नमोबुद्धको सुन्दरताको अवलोकनपछि उनीहरूलाई शंखुका समाजसेवी धु्रव ढुंगानाले सुन्तला बगैँचामा रम्ने व्यवस्था गरेर स्वागत गरेका थिए । सबैले आफूले चाहेजति सुन्तला आफैंले टिपेर खाने व्यवस्था भएको यो कार्यक्रममा सबै सहभागीहरू झन्डै आधा घन्टा सुन्तलाको बगंैचामा रमाएका थिए । त्यसपछि साँझ च्यासिङ्गखर्कको कामीडाँडामा नाँचगानसहित ढ्यांग्रेनाँच र डफ्फूसहित उहाँहरुलाई स्वागत गरिएको थियो । गुन्द्रुक, मकै, सिस्नु र ढिडोको स्वाद पाएर सहभागी दंग परेका थिए । उनीहरूलाई राजनीतिक रूपमा चर्चित र पर्यटकीय दृष्टिकोणले पनि रमणीय कामीडाँडा राति ११ बजेसम्म विभिन्न स्थानीय तामाङ नाच, भेषभुषा प्रदर्शनी, झाँकी र संस्कृतिसहित स्वागत गरेका थिए । सो स्वागत तथा सांस्कृतिक कार्यक्रममा तीन सयभन्दा बढी स्थानीय सर्वसाधारण सहभागी थिए ।

वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, मनोज न्यौपाने, दिल कार्की, शारदा शर्मालगायतको साहित्यिक सिर्जनाले कार्यक्रमलाई तताएको थियो । ‘यस्तो रातिसम्म यति धेरै स्थानीयबासी जम्मा हुँदा दंग प¥यौ, उनीहरूमा कला, संस्कृतिप्रति कति मोह रहेछ,’ गजलकार पौडेल भन्छन् । भोलिपल्ट कामीडाँडाबाट साहित्यकार प्रतीक ढकाल, राधेश्याम लेकाली, युवराज नयाँघरे, भीष्म उप्रेती, रोशन शेरचनलगायतको ८० जनाभन्दा बढीको टोली बेथाञ्चोक नारायणस्थानको पैदल यात्रामा निस्केका थिए भने पौडेल, श्रीओम श्रेष्ठ रोदन लगायतका साहित्यकारहरू भने कामीडाँडा हुँदै गेल्डुङसम्मको यात्रामा निस्केका थिए । उनीहरूलाई आत्मा विकास मावि च्याल्टी र ढुंखर्कको कृष्णगोपाल माविमा भव्य स्वागत गरिएको थियो । बेथाञ्चोक डाँडामा पुगेर फर्कने तथा अन्य टोलीलाई ढुंखर्कका स्थानीय बासिन्दाले बाजागाजासहित स्वागत गरेका थिए । राति सांस्कृतिक कार्यक्रम, त्यहाँको लोक संस्कृति, भेषभुषा प्रदर्शन गरिएको थियो ।

तेस्रो दिन यात्रामा सहभागीलाई चलालगणेशस्थानको सरस्वती मावि पार्थलीमा स्वागत गरिएको थियो । त्यसअघि ढुंखर्कको पार्वती उच्च माविमा पनि उनीहरूलाई भव्य स्वागत गरिएको थियो । स्थानीयबासीले उनीहरूलाई फूलमालासहित स्वागत गरेका थिए । त्यहाँ आयोजित बृहत् साहित्यिक कार्यक्रममा स्थानीय र यात्रामा सहभागीहरू गरी करिब ८० जनाजतिले आफ्नो सिर्जना सुनाएका थिए । कार्यक्रममा नायिकका श्वेता खड्काका बुबा लोकबहादुर खड्काको गीत तथा नृत्यले सबैको ध्यान तानेको थियो । स्थानीयबासीले पनि स्थानीय कला, संस्कृति, भजन, श्लोक प्रस्तुत गरेका थिए । पाँच दिनअघि सो स्थानमा गई सो स्थानको लोकजीवन, संस्कृतिलाई प्रतिनिधित्व गर्ने गरी बनाइएको चित्रकला पनि त्यहाँ प्रदर्शन गरिएको थियो । सो कार्यक्रमपश्चात फर्केको सो समूहलाई पनौती साहित्य समाजले पनौतिमा नेवारी परिकार योमरी ख्वाएर यात्राको समापन गरेको थियो ।

साहित्यको माध्यमबाट पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानलगायत काभ्रेको अन्य पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने साहित्यिक यात्रालाई अधिकांशले अविस्मरणीय रूपमा लिएका छन् । ‘गाउँगाउँमा यस्तो स्वागत पाइयो कि साँच्चिकै काभ्रेका यी गाउँका बासिन्दा साह्रै साहित्यप्रेमी रहेछन् भन्ने हामीले देख्यौ, यात्रामा अविस्मरणीय स्वागत पाइयो, सुन्दरता देख्न पाइयो र मनोरमतासँग रमियो,’ साहित्यकार श्रीओम रोदन श्रेष्ठले भने ।

‘बेथाञ्चोकलगायत काभ्रेका विभिन्नस्थललाई पर्यटकीयस्थलको रूपमा विकास गराउन आवश्यक भौतिक पूर्वाधार बनाउनसमेत सम्बन्धित निकायलाई घचघच्याउन र सो स्थललाई साहित्यका विभिन्न विधामा अभिलेखिकण गर्न सकेमा यसको महत्व पुस्तौँपुस्तासम्म पनि जीवित रहन सक्छ भन्ने उद्देश्यले यो यात्रा थालिएको हो,’ साहित्य सञ्जालका अध्यक्ष दीपक कथितले भने । यात्राका क्रममा रचना गरिएका साहित्यिक रचना, फोटा, चित्रकला एउटा संग्रहका रूपमा प्रकाशित गरिने र त्यहाँ सिर्जना गरिएको चित्रकला र उत्कृष्ठ फोटाहरू चाँडै नै काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनीमा राखिने कुरा सो कार्यक्रमका संयोजक जयराम तिमल्सिनाले बताए । साभार ः साहित्य संग्रहालयबाट