रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा चारको मृत्यु

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा चारको मृत्यु तरुण खबर २५ आश्विन २०७८, सोमबार १०:३९
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा चारको मृत्यु

काठमाडौं । रुपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा ’जग्गा कब्जा गर्न गएका सुकुम्वासी’ र प्रहरीबीचको झडपमा कम्तीमा चार जना मारिएको अधिकारीहरूले बताएका छन् । दुवै पक्षका कैयौँ घाइते भएका बताइएको छ । बुटवलको मोतीपुरमा विवादास्पद जग्गाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच भएको विवादले उग्र रुप लिए पछि प्रहरीले गोली चलाएको बताइएको छ ।

उक्त झडपमा चार जनाको मृत्यु भएको छ तर उनीहरू को को हुन भनेर सनाखत गर्न बाँकी रहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए । मृतकका शवहरू अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा राखिएको छ । स्थानीयको विरोधका बीच गत फागुनमा शिलान्यास भएको मोतीपुर औद्योगिक क्षेत्रमा कुनै काम हुन सकेन । बरु वैशाख पहिलो साताबाट सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी टहरा बनाउने र कोही नभएको बेला प्रहरीले भत्काउने लुकामारी चल्दै आएको थियो ।

आइतबार त्यही खेल हिंसात्मक बन्दा चार जना नागरिकको ज्यान गएको छ, दुई दर्जनभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमध्ये रमेश परियारको मात्रै सनाखत भएको छ । तर मानवअधिकारकर्मी मोहना अन्सारी चाहिँ भीड नियन्त्रणका नाममा नागरिकको टाउकोमा ताकेर गाली हान्ने गलत प्रवृत्ति मोतीपुरमा पनि भयो । भिड नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी अझ नेपाली सेनाको कार्यशैली ठीक छैन– मावनअधिकार आयोगकी पूर्व सदस्य अन्सारीले भनिन् ।

आखिर मोतीपुरमा सुकुम्बासीले तोडफोड गर्न त्यतिधेरै महत्वपूर्ण सरकारी सम्पत्ति पनि थिएन, प्रशासनले संयमता अपनाउन सकेन । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी पनि जग्गाको लालपूर्जा भएका वासिन्दाका लागि मुआब्जा वा सोही जग्गा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन् । सो जग्गामा करिब एक साता अगाडिदेखि मानिसहरूले बसोबास गर्ने प्रयास गरेका थिए । उनीहरूलाई उक्त स्थानबाट हटाउन प्रयास गर्दै आएको प्रशासनले उनीहरू हट्न नमानेपछि हिजो बल प्रयोग गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा पर्ने प्रस्तावित औद्योगिक कोरिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाइएकोमा विगत केही दिन यता सुरक्षा व्यवस्था मजबुत बनाइएको उल्लेख गरेको छ । तर अवस्था नियन्त्रण बाहिर जाने र शान्ति सुव्यवस्थाको समेत जोखिम देखिने भएपछि आइतवार दिउसो चार बजेबाट अनिश्चितकालका लागि कर्फ्यु लगाइएको प्रशासनको भनाइ छ । दुवै पक्षबीचको झडपका कारण आइतवार दिनभर उक्त क्षेत्र तनावग्रस्त रह्यो ।