कस्तुरीको बिनाजस्तै ‘बेथानचोक’

कस्तुरीको बिनाजस्तै ‘बेथानचोक’ शिवराज योगी २५ आश्विन २०७८, सोमबार ११:०४
कस्तुरीको बिनाजस्तै ‘बेथानचोक’

बिहान बिदाबारी हुँदै गर्दा ढुंखर्क होमस्टेका घरमालिक किरण बस्नेतले भने– ‘बेथाञ्चोकको बतासेका बारेमा दुई शब्द ‘राम्रो’ लेखिदिनुहोला ।’ सँगैका साथीहरू अलि अगाडि लम्किसकेका थिए । किरण दाइले त्यहीबेला पुरानो भेटको प्रसंग उप्काए । थप अलमल हुने भयो ।

हतारिँदै भनेँ, ‘बाँकी गफ टेलिफोनमा मारौँला ।’ उनीबाट छुट्टिएर प्रकृतिको अनुपम घुम्टी ओढेर लम्पसार परेको बाटैबाटो ओरालो लागेँ । बन्दै गरेको मोटरबाटोमा करिब २५ मिनेट पैदल ओरालो झर्नु थियो । अनि पुगिन्थ्यो ढुंखर्कको गेल्डुङ बजार । हाम्रो आजको गन्तव्य पनि त्यहीँसम्म थियो । बेथानचोक गाउँपालिका–२ ले निर्धारित गरेको ‘बेथाञ्चोकका आर्थिक, धार्मिक र पर्यटकीय सम्भावना’ कार्यक्रममा त्यहाँका अग्रज, बुजु्रक र पाकाहरूको मत सुन्नु थियो ।

सानोमा उकाली ओराली गरेरै स्कुल पढे पनि हिजो ढुंखर्कबाट बतासे उक्लँदा भने थोरै थकानको अनुभूति भएको थियो । एक डेढ दशकमै बानी बिग्रिएकोमा आफैप्रति दिक्क पनि लागेको थियो । ओरालो झरिरहँदा मनभरि कुरा खेलिरह्यो ‘दुई शब्द राम्रो’ के लेख्ने होला । हिजो अर्थात् असार १६ को साँझ पौने ७ बजे हामी ढुंखर्क होमस्टेमा पुग्दा नपुग्दै भयंकर चट्याङले स्वागत गरेको थियो । हामी छेवैको ट्रान्समिटर क्षणभरमै क्षति भयो । होमस्टेका घरबेटी किरण चुकचुकाए– ‘ला ! पाहुना आएकै दिन अँधेरो हुने भयो ।’

करिब डेढ घन्टाजति हामी बिजुली बत्तीविना दियोको उज्यालोमा गफियौँ । दियो कस्तो भने माटोको दियोमा तोरीको तेल राखेर कपास कातेर बनाइएको बत्ती बालिएको थियो । आँगनमा निस्केर पर पर हेर्दा बतासे गाउँको डाँडा र पाखाका घरहरूमा बत्तिको धिपधिपले अलौकिक ग्रामीण आनन्द दिएको थियो । पछाडिबाट आइरहेको तोरीको तेलमा बालिएको बत्तीको सुगन्धले आध्यात्मिक अनुभूति दिइरहेको थियो । तल पारिपट्टि टावरडाँडाँमा तिपतिपे उज्यालो टल्कीरहँदा जुनकिरी प्रकृतिको सयरमा निस्केझैँ भान भएको सम्झिएँ । करिब आठ दश किलोको कपासे सिरक ओढेर आनन्दले बिताएको त्यो शीतल रात पनि सम्झिएँ ।

बेथानचोक गाउँ सामुदायिक होमस्टेका अध्यक्ष कर्म योञ्जनको भनाइलाई मान्ने हो र, एक रात एक दिन बतासे–ढुंखर्क बसाइको अनुभूतिका आधारमा भन्ने भो भने बेथाञ्चोक साँच्चै उपत्यका नजिकैको गुमनाम कस्तुरीको बिना हो । राजधानीमा ३७ डिग्री तामक्रमको पारो चढ्दा बेथानचोकमा १८ देखि २७ डिग्रीभन्दा माथि गर्मीको पारो चढ्दैन ।

एकाबिहानै कुखुराको डाकोसँगै ब्यूँझदा बतासेको पूर्वमा कामीडाँडातिर पोखिएको सूर्योदयको लालित्यताले मन एकपटक फेरि फुरुङ्ग भयो । चियापानसँगै बेथाञ्चोक गाउँ सामुदायिक होमस्टेका सञ्चालकहरूसँग गाउँको सिरानमा रहेको सल्लेघारीभित्र गरिएको भलाकुसारी सम्झना भयो । अनि लाग्यो– बेथाञ्चोक त अथाह सम्भावनाको भकारी हो ।
०००
काठमाडौंमा गर्मीको पारो ३२ डिग्री नाघ्यो भने उफ गर्मी ! भन्नेको संख्या कम छैन । केही वर्षअघिसम्म पनि हरिया काठमाडौंका डाँडाकाँडा अचेल कंक्रिट र सिसाले ढाकिन थालेका छन् । एक निमेश प्रकृतिको काख खोज्नेले अब राजधानीका डाँडा छिलोल्नैपर्ने नियति आइलाग्न थालेको छ । कहाँ जाने ? कता खोज्ने ? यो प्रश्नको जवाफ हो जस्तो लाग्यो बेथानचोक । बेथानचोक गाउँ सामुदायिक होमस्टेका अध्यक्ष कर्म योञ्जनको भनाइलाई मान्ने हो र, एक रात एक दिन बतासे–ढुंखर्क बसाइको अनुभूतिका आधारमा भन्ने भो भने बेथाञ्चोक साँच्चै उपत्यका नजिकैको गुमनाम कस्तुरीको बिना हो ।

राजधानीमा ३७ डिग्री तामक्रमको पारो चढ्दा बेथानचोकमा १८ देखि २७ डिग्रीभन्दा माथि गर्मीको पारो चढ्दैन । सिसा, सिमेन्ट, ढुंगा र इँटाको जंगलले आहत बनेका आँखाले बेथानचोकमा अझै पनि प्राकृतिक सुन्दरताबाहेक अर्को हेर्नुपर्दैन । अध्यक्ष कर्म योञ्जनका अनुसार यहाँको खानामै शक्ति छ । मान्छेले रोपेकै मकै पनि जडीबुटीभन्दा कम हुँदैन । कारण यहाँ चैतमा रोपेको मकै कार्तिकमा मात्रै पाक्छ । आठ महिना लागेर फलेको अन्न तराईतिर दुई महिनामा खान तयार हुने मकैभन्दा कति रसिलो होला ?

बतासेको होमस्टेमा हिमाली क्षेत्रमा मात्र पाइने रातो चामलको माम खान पाइन्छ । लेकबाट सिधै ल्याइएको प्राकृतिक चिसोपानीले हतार, अत्यास र बेफुर्सदीमा तिर्खाएको घाँटी हर्रर शीतल भएर आउँछ । बतासेको बोलीमा मिसावट पाइँदैन, बिहान झिसमिसेसँगै बास्ने लोकल कुखुराको स्वाद पस्कने इमान्दारिता जोगाइराख्नुपर्ने चिन्ता उनीहरूलाई नै बढी छ ।

१९ सय उचाइमा रहेको ढुंखर्कदेखि ३०१८ मिटर उचाइमा रहेको नारायणस्थान यहाँको भौगोलिक विशेषता भएको होमस्टे सञ्चालक तथा आईटीका जानकार कमल नेपाल जानकारी दिन्छन् । बेथानचोकको वडा नम्बर २, ३ र ५ सम्म फैलिएका धार्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदालाई जोडेर पर्यटकीय रुट निर्माण गर्नसके यो ठाउँ स्वर्ग बन्ने कमलको मत छ ।

बेथानचोकको विकास र समृद्धिका लागि गर्नैका लागि केही गर्ने प्रयास भए पनि ‘गर्ने गरी’ प्रयास नभएको कुरा लेखिरहँदा भने किरण दाइले गरेको ‘केही राम्रो’ लेखिदिने आग्रहमा नराम्रो लेखिन्छ कि भन्ने हेक्का नराखेको होइन् ।

सग्ला सम्भावना
बेथानचोकको वडा नम्बर २ र ३ का जनता पर्यटन विकासका लागि जुर्मुराउन खोज्नु पहिलो सम्भाना हो । आईटीका जानकार तथा होमस्टे संचालक कमल नेपालका अनुसार बेथानचोक गाउँपालिकाको ३ नम्बरमा रहेको नारायणस्थान÷झन्डागाडे साउथ एसियामा फैलिएको महाभारत रेन्जको सबैभन्दा अग्लो डाँडो हो । जहाँबाट पूर्वको मकालुदेखि धौलागिरी हिमालय रेन्ज र पश्चिममा बिहारसम्म खुला आँखाले नियाल्न सकिन्छ । नारायणस्थानमा दुईवटा पौराणिक गुफालाई प्रचारमा ल्याउन सक्ने हो र व्यवस्थापन गर्ने हो भने पोखराको महेन्द्र गुफालाई मात दिने बेथानचोक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भगवान घिमिरेको मान्यता छ । टावरडाँडामा निर्माणाधीर भ्यूटावरलाई प्रचारमा ल्याउने हो भने यहाँबाट देखिने महाभारत रेन्ज, पनौती, धुलिखेल र हिमालयको आकर्षणले धुलिखेलको ढुंगोलाई मात दिने पक्का छ । बार्गन खोलाको बागने गुफा बेथानचोकको अर्को गहना हो । कामीडाँडाको ऐतिहासिकतालाई नारायणस्थानसँग जोडेर यहाँ आउने आगन्तुकलाई झन्डागाडे डाँडामा रक क्लाइम्बिङ गराउन सके यहाँको पर्यटनले कायापलट हुने स्थानीयहरू देख्छन् ।

मांकल खोलाको सिरानमा रहेको बागदरबार झरना र नारायणस्थानको लेकमा फुल्ने ६ प्रजातिका गुराँस नियाल्ने रुट निर्माण गर्नसके आन्तरिक पर्यटनले नै यहाँको मुहार बदल्ने ताकत खुम्चिएर बसेको देखिन्छ ।

हुनै बाँकी होमवर्क
आर्थिक समृद्धिका लागि लालायित बनेको बेथाञ्चोकमा पर्यटन विकासका लागि अझै होमवर्क भने बाँकी नै छ । उच्च क्षेत्रमा फल्ने स्याउ, मकै, धान र तरकारीको उपयोगिता स्थानीयले बुझ्न नसकेको पार्वती बहुमुखी क्याम्पसका प्राध्यापक राजेश तिमल्सिना आंकलन गर्छन् । खुवामा निकै खुबी र ख्याति कमाएको बेथानचोकमा आज पनि सस्तोमा दूध बेच्चे बाध्यता बाँकी नै छ । ‘दूध बेचेर हर्लिक्स किन्ने मानसिकताबाट हामी माथि उक्लिनैपर्छ,’ प्राध्यापक तिमल्सिनाले भने, ‘होमस्टे त सञ्चालन भए, तर आज पनि पाहुनालाई स्थानीय मकैको ढिँडो, मकैको केक, सिताके च्याउको साटो बजारिया तरकारी, दाल र बजारिया सेतो मसिनो भात खुवाउने मानसिकता फेरिएको छैन । हामीले मौलिक स्वाद पस्कनैपर्छ ।’

गर्नैपर्ने काम
बेथानचोकमा आत्मीय आतिथ्यता पाइन्छ । अग्र्यानिक अन्न, तरकारी र फलफूल उब्जनी हुन्छ । दूध र खुवामा ख्याति कमाएको छ । प्राकृतिक र धार्मिक भूमिले सुसज्जित छ, तर यी सबैको अभिलेखीकरण भने कतै भएको देखिँदैन । होमस्टे सञ्चालकले अन्य होमस्टेको तौरतरिका, गाउँको मौलिकता, आफ्नो सांस्कृतिक विशेषता पस्कन जरुरी छ । गाउँपालिका र वडापालिकाले यहाँका पर्यटीय क्षेत्रको रुट तय गरेर त्यसलाई अभिलेखीकरण तथा प्रचारमा ल्याउन आवश्यक छ । त्यसो हुनसके कम्तीमा राजधानीको रापबाट केही समय मुक्ति चाहनेका लागि बेथानचोक बेजोडको चौतारो बन्ने पक्का छ । ढुंखर्कबाट बस उक्लेर राजधानी ओर्लँदै गर्दा किरण दाइलाई सम्झिएँ, मनमनै लाग्यो– बेथानचोकका बारेमा ‘राम्रो’ लेख्न नसके पनि ‘राम्रो सम्भावना’ भने देखेँ ।