काभ्रे बेथाञ्चोक गाप–२ को ढुंखर्क, जहाँ प्रचुर संमृद्धिको सम्भावना

काभ्रे बेथाञ्चोक गाप–२ को ढुंखर्क, जहाँ प्रचुर संमृद्धिको सम्भावना भगवान घिमिरे २६ आश्विन २०७८, मंगलवार १६:२६
काभ्रे बेथाञ्चोक गाप–२ को ढुंखर्क, जहाँ प्रचुर संमृद्धिको सम्भावना

राजधानी काठमाडौं उपत्यकाको दक्षिणपूर्वी कोण फुल्चोकी डाँडाभन्दा पारि महाभारत पर्वत शृंखलाको काखमा अत्यन्त रमणीय सानो लेकाली उपत्यका छ । जसलाई बेथाञ्चोक–२, ढुंंखर्क भनिन्छ । सरदर दुई हजार मिटर उचाइमा रहेको ढुंखर्क काभ्रेपलाञ्चोक जिल्लामा पर्छ । जिल्लाको दक्षिणपूर्वी कोणमा रहेको यो क्षेत्र पञ्चायतकालमा ढुंखर्क बारविसे गाउँ पञ्चायतका नामले चिन्निथ्यो । २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि ढुंखर्क गाविस बन्यो । २०२८ सालको जनगणनामा ३ हजार १ सय जनसंख्या रहेको यो गाविसमा २०६८ सालको जनगणनाअनुसार करिब सात हजार जनसंख्या छ ।

सामान्यतः दुर्गम पहाडी क्षेत्रमा जनसंख्या स्थिर रहेको वा घटेको देखिन्छ, तर ढुंखर्कमा जनसंख्या बढ्नुको मुख्य कारण हो– ‘आसपासका करिब १ सय ५० गाउँहरूको पायक पर्ने समथर उपत्यका ।’ गणतन्त्र स्थापनापछि नयाँ संविधानअनुसार राज्यको पुनर्संरचना गर्ने क्रममा यस क्षेत्रका पाँचवटा गाउँविकास समितिलाई समेटेर बेथानचोक गाउँपालिका कायम गरिएको छ । राजधानी काठमाडौंदेखि ४६ कि.मी दक्षिण पूर्वमा रहेको यस गाउँपालिकामा ६ वटा वडा रहेका छन् । साविकको च्याम्राङ्गबेसी गाविस हालको बेथाञ्चोक गाउँपालिकाको वडा नं. १, ढुंखर्क गाविस वडा नं. २ र ३, चलाल गणेशस्थान गाविस वडा नं. ४, च्यासिंङ्गखर्क गाविस वडा नं. ५ र भुग्देऊ महांकाल गाविस वडा नं. ६ मा रहेका छन् । गाउँपालिकाको कुल क्षेत्रफल १०१ वर्ग कि.मी रहेको छ भने कुल जनसंख्या करिब २१ हजार रहेको छ । यस गाउँपालिकाको जनघनत्व १६६ प्रति वर्गकिमि रहेको छ ।

गाउँपालिकाको सबैभन्दा कम उचाइको ठाउँ करिब एक हजार मिटर उचाइको च्याम्राङ्गबेसीको सुकुम हो । सबैभन्दा बढी उचाइको ठाउँ बेथाञ्चोक नारायणस्थान हो । जसको उचाइ ३ हजार १८ मिटर छ । बेथानचोक नारायणस्थानलाई महाभारत पर्वत शृंखलाको जिल्लाको सबैभन्दा अग्लो टाकुरो मानिन्छ ।

साविकको ढुंखर्क गाविसको कार्यालय रहेको स्थान गेल्डुङ बजारलाई केन्द्र मानी यस गाउँपालिकाको सीमांकन भएको छ । बेथानचोक गाउँपालिकाको उत्तरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाउँपालिका, पूर्वमा रोशी गाउँपालिका रहेको छ भने पश्चिममा ललितपुर जिल्लाको महांकाल गाउँपालिका रहेको छ ।

गाउँपालिकाको सबैभन्दा कम उचाइको ठाउँ करिब एक हजार मिटर उचाइको च्याम्राङ्गबेसीको सुकुम हो । सबैभन्दा बढी उचाइको ठाउँ बेथाञ्चोक नारायणस्थान हो । जसको उचाइ ३ हजार १८ मिटर छ । बेथानचोक नारायणस्थानलाई महाभारत पर्वत शृंखलाको जिल्लाको सबैभन्दा अग्लो टाकुरो मानिन्छ । यो गाउँपालिकाको ८० प्रतिशतभन्दा बढी क्षेत्र १६ सय मिटरभन्दा बढी उचाइमा छ । २३–२४ सय मिटर उचाइसम्ममा बस्ती छन् । यो गाउँपालिकाको करिब एक तिहाइ क्षेत्रमा हरेक हिउँदमा हिउँ पर्छ । बेथाञ्चोक नारायणस्थान टाकुरो त हरेक वर्षको हिउँदका एक महिना, पन्ध्र दिन हिमालय पर्वत शृंखला जस्तै टिलिक्क टल्कने गर्छ । जसका कारण यो पहाडलाई कान्छी हिमाल भन्ने पनि गरिन्छ ।

बेथाञ्चोक गाउँपालिकाको नामाकरण
अलग अलग नामका करिब ३० वटा गाउँ टोलहरू रहेको समग्र क्षेत्रलाई बेथाञ्चोक गापा–२ ढुंखर्क भनिन्छ । ढुंखर्क कुनै खास गाउँ या टोलको नाम नभएर यस क्षेत्रको सामूहिक परिचय बोकेको नाउँ हो । त्यसैले गाउँबस्ती बस्नुभन्दा पहिले नै यस क्षेत्रलाई ढुंखर्क भन्ने गरिएको अनुमान लगाउन सकिन्छ । ढुंखर्क नामाकरण कसरी हुन पुग्यो ? भन्ने प्रश्नको एकिन उत्तर छैन । यसबारे विभिन्न मत तथा तर्कहरू छन् । नेपाल एकीकरण हुनुअघि भक्तपुर राज्यअन्तर्गत रहेका कारण ढुंखर्क नेवारी भाषाको नाम हो कि भन्ने तर्क एकथरीको छ । उनीहरूका अनुसार नेवारी भाषामा बस्तीभन्दा परको चौरलाई ख्या भनिन्छ । बाघलाई ढुँ भनिन्छ । बाघले घाम तप्ने चौर भएकोले ढुंख्या भनिएको र ढुंख्याको अपभ्र्रंश भएर ढुंखर्क भनिएको हुनसक्ने तर्क धेरैको छ । वरिपरिका प्रायः बस्तीहरूको नाउ प्रायः तामाङ तथा खस भाषाबाट रहनु, तर यस क्षेत्रको नाम मात्रै नेवारी भाषाबाट रहनु सम्भव नभएको तर्क पनि धेरैको छ । साथै, लेकाली क्षेत्रमा बाघ पाइन्न । यद्यपी चितुवालाई बाघ भन्ने चलन छ ।

स्थानियहरूका अनुसार नेवारी भाषामा बस्तीभन्दा परको चौरलाई ख्या भनिन्छ । बाघलाई ढुँ भनिन्छ । बाघले घाम ताप्ने चौर भएकोले ढुंख्या भनिएको र ढुंख्याको अपभ्र्रंश भएर ढुंखर्क भनिएको हुनसक्ने तर्क धेरैको छ । वरिपरिका प्रायः बस्तीहरूको नाउ प्रायः तामाङ तथा खस भाषाबाट रहनु, तर यस क्षेत्रको नाम मात्रै नेवारी भाषाबाट रहनु सम्भव नभएको तर्क पनि धेरैको छ ।

अर्को मतअनुसार नेपाली भाषामा खर्कको अर्थ गाईवस्तुहरू जंगलमा चरेपछि घाम ताप्न निस्कने खुला र समथर चौर हो । ढुंगैढुंगा भएको चौर भएकाले ढुंगाखर्क भनियो । ढुंगाखर्कको छोटो उच्चारण ढुंखर्क भएको हो । ढुंखर्कमा धेरैजसो आवादी खस समुदायकै छ । अर्थात् ढुंखर्क क्षेत्रमा पहिलो स्थायी बसोबास तथा आवादी खस समुदायले नै गरेका कारण यसको नामाकरण खस (नेपाली) भाषाबाटै भएको तर्क राख्नेहरू पनि धेरै छन् ।

इतिहासमा ढुंखर्क
प्रशस्त जंगल र घाँसपात भएका कारण गाईभैंसी, भेडाबाख्राका गोठ राखेर अस्थायी बसोबास यस क्षेत्रमा धेरै पहिलेदेखि नै सुरु भएको अनुमान स्थानीय बुढापाकाको छ । तर खेतीपाती नै गरेर स्थायी बसोबास सुरु भएको भने तीन सय वर्षभन्दा बढी नभएको अनुमान लगाइएको छ । स्थानीय अग्रजहरूको भनाइ पनि यही छ ।

किंवदन्तीअनुसार भक्तपुरका राजा भूपतिन्द्र मल्ललाई सपनामा चाँगुनारायणले दर्शन दिँदै भने– ‘तिम्रो क्षेत्रमा काटमार बढी हुन थालेकाले म बस्न सकिनँ, दक्षिणपट्टि महाभारतको अग्लो लेक छ, त्यहीँ गएर बस्न थालेको छु, दर्शन गर्न मन लाग्छ भने यहीँ आऊ ।’ भोलिपल्ट बिहान राजा मल्लले आफ्ना पण्डित तथा ज्योतिषीहरूलाई बोलाएर सपनाको वृत्तान्त सुनाए । त्यसमध्ये एकजना तिमल्सिना थरका ज्योतिषी पारु जैसीले जोखना हेरेर ठाउँ पत्ता लगाए । ज्योतिषी (जैसी) अघि अघि र राजा मल्लको टोली पछिपछि दक्षिणतर्फको महाभारत क्षेत्रतर्फ लाग्यो । जाँदाजाँदै पहाडको टुप्पोमा पुगे । पहाडको टुप्पोमा पुगेर ज्योतिषीले पूजाआजा गर्नासाथ नारायण प्रकट भए । राजा मल्लले दर्शन पाए । यसपछि खुसी हुँदै राजा मल्लले त्यो पूरै क्षेत्र पारु जैसीलाई विर्ता दिए ।

अहिले पनि तिमल्सिना थरका ब्राह्मण, क्षेत्रीहरूको संख्या यस क्षेत्रमा धेरै नै ठूलो छ । अरु थरको संख्या नगन्य छ । तिमल्सिनाहरूसँग वैवाहिक सम्बन्धपछि काभ्रेकै नाला क्षेत्रका घिमिरेलगायत अरु थरका पनि त्यहाँ पुगेको भनाइ एकथरीको छ भने अर्काथरीको भनाइ तिमल्सिनाभन्दा घिमिरेहरू पहिले यहाँ आइपुगेको भन्ने छ । त्यतिबेला ज्योतिषी शास्त्रसम्बन्धी पेसा अंगाल्नेलाई जैसी ब्राह्मण र कर्मकाण्ड (पूजाआजा) सम्बन्धी पेसा अंगाल्नेलाई उपाध्याय ब्राह्मण भनिन्थ्यो । कर्मकाण्ड तथा पूजाआजाको कामका लागि अधिकारी थरका ब्राह्मणहरू पनि ढुंखर्क लगियो । ढुंखर्कमा सबै भन्दा प्रख्यात विन्धबासिनीको मन्दिर छ । विन्धवासिनी तिमल्सिनाका कुलदेवी हुन् । त्यसैले ढुंखर्क क्षेत्रका मूल बासिन्दा तिमल्सिना हुन् भन्ने तर्क राख्छन् स्थानीय ७० वर्षीय मेघनाथ तिमल्सिना । उनी भन्छन्– ‘राजा भूपतिन्द्र मल्लले पारु पाध्येलाई जग्गा दिएको अभिलेख मैले भेटेको थिएँ, पछि सरकारी कर्मचारीहरूले हराइदिएछन् ।’ तर प्रमाण नभएको कुरालाई ठोकुवा गर्न मिल्दैन ।

एक स्थानियका अनुसार पनि यस क्षेत्रका मूल बासिन्दाबारे ठोकुवा गरेर भन्न नसकिने बताउँछन् । अनुसन्धानको काम बाँकी नै रहेको तर्क गर्दै उनी भन्छन्– ‘तत्कालीन तिमाल राज्यबाट सिद्धि प्राप्त तान्त्रिक विद्यामा पोख्त विष्णुराम र कृष्णराम दुईजना झाँक्रीहरू उडेर खोपासी नजिकैको बल्थलीको फाँटमा बसेका थिए । तिमीहरू यहाँ होइन, यहाँबाट पश्चिम दक्षिण साइटारमा गएर बस भनिएकाले उनीहरू त्यही गएर बसेका हुन् भनिन्छ । तामाङ भाषामा साइगो भनेको सफा गर्नु हो भने टार भनेको समथर ठाउँ हो । यसैले तामाङहरू यस ठाउँका आदिवासी हुन् भन्ने केहीको दाबी छ ।
(लेखक बेथाञ्चोक गाउँपालिकाका वडाअध्यक्ष भगवान घिमिरे हुन् । वडा कार्यालयद्वारा करिब तीन वर्षअघि प्रकाशित बेथाञ्चोकबाट साभार गरिएको हो ।)