शैक्षिक इतिहासमा काभ्रे र बेथाञ्चोक गाउँपालिका

शैक्षिक इतिहासमा काभ्रे र बेथाञ्चोक गाउँपालिका परशु घिमिरे २७ आश्विन २०७८, बुधबार ०९:१९
शैक्षिक इतिहासमा काभ्रे र बेथाञ्चोक गाउँपालिका

काभ्रेपलाञ्चोक जिल्लाको नामाकरण तथा वर्तमान भौगोलिक स्वरूप कायम गरिएको २०१९ सालमा हो । त्यसअघि यस क्षेत्र पूर्व १ नम्र अर्थात् सिन्धुपाल्चोक जिल्लाअन्तर्गत थियो । २०१९ मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुभन्दा अगाडि हालको काभ्रे जिल्ला पूर्व १ नम्बर क्षेत्रअन्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौताराबाट प्रशासित थियो । ‘काभ्रे’ र पलाञ्चोक दुई मौजालाई जोडेर नामाकरण गरिएको हो । वर्तमान काभ्रेपलाञ्चोक जिल्लाभित्र पर्ने एक गाउँको नाम हो काभ्रे भने ‘पलाञ्चोक’ साठीघर भगवती गाविसमा पर्ने भगवती मन्दिरको नाम हो । यिनै दुईवटा नाम जोडेर काभ्रेपलाञ्चोक जिल्लाको नामाकरण गरिएको हो ।

पूर्व १ नम्बर अर्थात् त्यतिबेलाको सिन्धुपाल्चोक जिल्लाअन्तर्गतका २८ मौजामध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजाभित्र रहेका विभिन्न गाउँ क्षेत्रलाई मिसाई काभ्रेपलाञ्चोक जिल्लाको नमाकरण गरिएको हो । कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरूमध्ये वर्तमान प्रसिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे गाउँको नामबाट यस जिल्लाको नाम काभ्रेपलाञ्चोक रहन गएको हो । यस हिसाबले काभ्रेपलाञ्चोक जिल्लाको उमेर ६० वर्ष पनि नाघेको छैन । तर यस जिल्लाका कतिपय स्थानहरू नेपाल एकीकरण हुनुपूर्व नै निकै समृद्ध, प्रख्यात र इतिहास बोकेका छन् । काभ्रेपलाञ्चोक जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, साठीघर भगवती (पलाञ्चोक), मण्डन, दाप्चा, नाल्दुम, चौकोट जस्ता स्थानहरू निकै प्रख्यात थिए । यी स्थानहरू धार्मिक, पुरातात्विक, राजनीतिक, सामाजिक, व्यापारिक अथवा औद्योगिक महत्वका दृष्टिले इतिहासमा पढिन्छन् ।

बेथाञ्चोक गाउँपालिका–२ को ढुंखर्क
राजधानी काठमाडौं उपत्यकाको दक्षिण पूर्वी कोण फुल्चोकी डाँडाभन्दा पारि महाभारत पर्वत शृंखलाको काखमा अत्यन्त रमणीय सानो लेकाली उपत्यका छ, जसलाई ढुंंखर्क भनिन्छ । सन्मुन्द्री सतहभन्दा सरदर दुई हजार मिटर उचाइमा रहेको ढुंखर्क काभ्रेपलाञ्चोक जिल्लामा पर्छ । जिल्लाको दक्षिण पूर्वी कोणमा रहेको यो क्षेत्र पञ्चायतकालमा ढुंखर्क बारबिसे गाउँ पञ्चायतका नामले चिनिन्थ्यो । २०४६ सालमा प्रजातन्त्र पुनर्वहालीपछि ढुंखर्क गाविस बन्यो । २०२८ सालको जनगणनामा ३१ सय जनसंख्या रहेको यो गाविसमा २०६८ सालको जनगणनाअनुसार करिब सात हजार जनसंख्या देखिन्छ । सामान्यतया दुर्गम पहाडी क्षेत्रमा जनसंख्या स्थिर रहेको वा घटेको देखिन्छ, तर ढुंखर्कमा जनसंख्या बढ्नुको मुख्य कारण हो– ‘आसपासका करिब एक सय ५० गाउँहरू पायक पर्ने समथर उपत्यका ।’

५२ वर्षअघि काभे्रपलाञ्चोक जिल्लामा १९.७ प्रतिशत पुरुष र २.७ प्रतिशत महिला साक्षर भएका बेला काठमाडौं जिल्लाको साक्षरता पुरुषको ३८.३ र महिलाको ३१.२ प्रतिशत थियो । बाग्मती अञ्चलको औसत साक्षरता प्रतिशत १८.२ मात्र थियो । नुवाकोटमा ७.८ प्रतिशत साक्षर थिए । धादिङमा ५.२ प्रतिशत साक्षार थिए ।

गणतन्त्र स्थापनापछि नयाँ संविधानअनुसार राज्यको पुनर्संरचना गर्ने क्रममा यस क्षेत्रका पाँचवटा गाउँ विकास समितिहरूलाई समेटेर बेथाञ्चोक गाउँपालिका कायम गरिएको छ । राजधानी काठमाडौंदेखि ४६ किमि दक्षिणपूर्वमा रहेको यस गाउँपालिकामा ६ वटा वडा छन् ।

करिब ५० वर्षअघि काभ्रेको शिक्षा
राजधानी काठमाडौं नजिकै रहेका कारण नेपालको शैक्षिक इतिहाससँग काभ्रे जिल्ला पनि जोडिएको छ । नेपालको आधुनिक शिक्षाको सबैभन्दा पहिलो विद्यालयका रूपमा राणाको दरबारमा स्थापित दरबार हाइस्कुललाई लिन सकिन्छ । जुनबेलादेखि दरबार हाइस्कुलमा सर्वसाधारणका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरियो, त्यो बेलादेखि नै काभ्रे जिल्लाका धनी तथा सचेत अभिभावकहरूले आफ्ना सन्तानलाई काठमाडौंमा आधुनिक शिक्षा दिन थालेको पाइन्छ । बनेपा, धुलिखेल र पनौती क्षेत्रका व्यापारीहरूको पहुँच सिधै राजधानी काठमाडौंसम्म र त्यसमा पनि राणाको दरबारसम्म नै रहेको इतिहास पाइन्छ । तर काभ्रे जिल्लामा आधुनिक शिक्षा प्रदान गर्नेगरी निम्न माध्यमिक विद्यालय स्थापना गरिएको भने २००७ सालको जनक्रान्ति सम्पन्न भएलगत्तै हो । नेपाली कांग्रेसका नेता गणेशमान सिंह र बनेपा क्षेत्रका अग्रणी समाजसेवीहरू हंशराज श्रेष्ठ, हर्कलाल ख्वाँख वादे, राजदास वादे, आशाकाजी वैद्य, गोविन्दलाल सिकु श्रेष्ठ, राजेन्द्र जोशीलगायतको पहलमा आजाद स्कुल स्थापना भएको हो । त्यसबेला मुलुकभरि औंलामा गन्न सकिने मात्रै विद्यालयहरू खुलेका थिए । २००७ सालको क्रान्तिमा मुलुकले आजादी प्राप्त गरेकाले स्कुलको नाम आजाद रहन गएको २०१७ सालमा बीए पास गरेपछि सोही माध्यमिक विद्यालयमा शिक्षण सेवा गर्नुभएका ज्ञानकाजी मानन्धरको भनाइ छ ।

आधुनिक शिक्षा दिने माध्यमिक विद्यालय स्थापना भएको करिब दुई दशकको अवधिमा काभ्रे जिल्लाले शिक्षाको क्षेत्रमा काठमाडौंबाहेक बाग्मती अञ्चलका सबै जिल्लालाई उछिनेको तथ्यांक देखिन्छ । २०२८ सालसम्मका विभिन्न तथ्यांकलाई समेटेर तत्कालीन सूचना विभागले मेचीदेखि महाकालीसम्म नामक ठूलो ग्रन्थ प्रकाशित गरेको थियो । त्यो ग्रन्थमा उल्लेख भएका सूचकहरूलाई हेर्दा आजभन्दा ५२ वर्षअघि नै काभ्रे जिल्ला शिक्षाको क्षेत्रमा अन्य जिल्लाको तुलनामा अगाडि रहेको देखिन्छ ।

५२ वर्षअघि काभे्रपलाञ्चोक जिल्लामा १९.७ प्रतिशत पुरुष र २.७ प्रतिशत महिला साक्षर भएका बेला काठमाडौं जिल्लाको साक्षरता पुरुषको ३८.३ र महिलाको ३१.२ प्रतिशत थियो । बाग्मती अञ्चलको औसत साक्षरता प्रतिशत १८.२ मात्र थियो । नुवाकोटमा ७.८ प्रतिशत साक्षर थिए । धादिङमा ५.२ प्रतिशत साक्षार थिए । रसुवामा ६.४ प्रतिशत साक्षार थिए । काभ्रे जिल्लामा १५ वर्षदेखि १९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी साक्षर देखिएका थिए । २०२८ सालको तथ्यांकअनुसार प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, प्रमाणपत्र, स्नातक, स्नातकोत्तर स्तरमा शिक्षा आर्जन गरेका क्रमशः प्राथमिक स्तरमा ५,५९२ जना, निम्न माध्यमिक विद्यालयमा १,६७४ जना र माध्यमिक विद्यालयमा १,०१९ जना, प्रमाणपत्र (इन्टरमेडियट) स्तरमा २०५ जना, स्नातक ५० जना र स्नातकोत्तर स्तरमा नौजनाले शिक्षा आर्जन गरेका थिए ।

२०३० सालको तथ्यांक हेर्ने हो भने साधारण माध्यमिक विद्यालयको संख्या दुई थियो भने छात्र २३७ र छात्राको संख्या ८३ मात्र थियो । उक्त दुई विद्यालयमा पढाउने शिक्षक १२ जना र शिक्षिका दुईजना थिए । त्यस्तै, व्यावसायिक माध्यमिक विद्यालयको संख्या तीन थियो भने विद्यार्थीतर्फ छात्र २०७ र छात्रा ३२ मात्र थिए । १८ जना शिक्षक र २ शिक्षिका रहेका थिए । प्राथमिक विद्यालयको संख्या १६० थियो भने शिक्षक ३३७ र शिक्षिका पाँच मात्र थिए । ५,२३९ छात्रले प्राथमिक शिक्षा आर्जन गर्दा छात्राको संख्या ८९४ मात्र थियो ।

साक्षरताको तथ्यांकमा जिल्लाका महिलाहरू केवल २.७ प्रतिशत मात्र देखिएको तुलनामा माध्यमिक शिक्षा लिइरहेका कुल संख्यामा २०.५ प्रतिशत छात्राहरू देखिन्छन् । २०२८ सालको जनगणनाअनुसार जिल्लाको जनसंख्या २,४५,१६५ थियो भने पुरुषको संख्या १,२२०७७ (४९.७ प्रतिशत) र महिलाहरूको संख्या १,२३०८८ (५०.३ प्रतिशत) थियो । शिक्षा प्राप्त गर्न योग्य प्रति ४०,४१३ व्यक्तिका लागि एक माध्यमिक विद्यालय, प्रति ६,५१२ व्यक्तिका लागि एक निम्न माध्यमिक विद्यालय र प्रति १,२६२ व्यक्तिका लागि एक प्राथमिक विद्यालय थियो ।

जिल्लाको सदरमुकाम धुलिखेलमा प्रेमबहादुर राजवंशीको पहलमा २००६ सालमा खुलेको सञ्जीवनी प्राइमरी स्कुल पछि माध्यमिक बन्यो । सञ्जीवनी बहुउद्देश्यीय माध्यमिक विद्यालयको २०३० सालको अवस्थाको विश्लेषण गर्दा त्यहाँको छात्रावासमा १० कोठा थिए भने ४० छात्रहरूलाई राख्ने क्षमता थियो । प्रत्येक विद्यार्थीबाट चार पाथी चामल र २० रुपैयाँ उठाएर सामूहिक भान्सा सञ्चालन गर्ने गरिएको थियो । २०२९ र ०३० सालको अनुदान हेर्दा जिल्लाको शिक्षकको तलबभत्ता, तालिम, छात्रवृत्ति, शैक्षिक सामग्री, कार्यशाला निर्माण, प्रौढ साक्षरतालगायत कामका लागि जिल्लाभरका लागि करिब ९,९५०००। (नौ लाख पन्चानब्बे हजार) निकासा गरिएको थियो । यसरी तुलना गरी हेर्दा प्रति विद्यार्थी ११८ रुपैयाँ खर्च गरेको देखिन्छ । उदाहरणका लागि त्यतिबेला खार्पाचोकस्थित इन्द्रोदय निम्न माध्यमिक विद्यालयमा एक शिक्षक र तीन विद्यार्थी थिए भने बनेपाको भोलखाटोलमा रहेको आजाद माध्यमिक विद्यालयमा छात्र संख्या ८८ र शिक्षक संख्या १० रहेका थिए । २०२९÷०३० सालको शैक्षिक स्थितिको विश्लेषण गर्दा सार्वजनिक पुस्तकालयको संख्या उल्लेख गर्नुपर्ने हुन्छ । जिल्लामा ११ वटा सार्वजनिक पुस्तकालय रहेकोमा धुलिखेल, बनेपा, पनौती, खोपासी, भभरकोट, खड्पु, फलाटे, दाप्चा र बिहावर रहेका थिए ।

ढुंखर्कको शैक्षिक इतिहास
नेपालका प्रायः क्षेत्रहरूको शैक्षिक विकासको इतिहास धेरै लामो छ । तर स्थायी बसोबास भएको तीन सय वर्षभन्दा पुरानो लिखित इतिहास बोकेको ढुंखर्कको शैक्षिक इतिहास भने धेरै नै छोटो छ । २००७ सालको जनक्रान्तिपछि मुलुकका दूरदराजका गाउँहरूमा समेत आधुनिक स्कुल स्थापना गर्ने लहर चल्यो, तर ढुंखर्क क्षेत्र भने मस्त निद्रामै रह्यो । गाईभैंसी पाल्ने, दूधबाट दही बनाई नौनी र घ्यू बनाएर नजिकको शहरमा बेच्ने, आफूलाई खान पुगेर बाँकी रहेको अन्नपात बेचेर गुजारा चलाउने बाहेक दायाँबायाँको सोचाइ यस क्षेत्रका बासिन्दामा देखिएन । राणाकालीन सत्तासँग पहुँच भएकाहरू काठमाडौंमै बस्थे । राणाकालमा स्थानीय कृष्णबहादुर घिमिरे कर्णेलसम्म भएका थिए । उनी तत्कालीन श्री ३ मोहनशमशेरका आठपहरियासमेत बने । त्यतिबेला श्री ३ को आठपहरिया भनेको निकै ठूलो पद हो । तर भक्तपुरको गुण्डुमा विवाह गरेका कारण उनी आफ्नो थातथलो फर्केनन् ।

राणाकालमा स्थानीय कृष्णबहादुर घिमिरे कर्णेलसम्म भएका थिए । उनी तत्कालीन श्री ३ मोहनशमशेरका आठपहरियासमेत बने । त्यतिबेला श्री ३ को आठपहरिया भनेको निकै ठूलो पद हो । तर भक्तपुरको गुण्डुमा विवाह गरेका कारण उनी आफ्नो थातथलो फर्केनन् ।

राणा शासनको समाप्तिपछि उनका छोरा इन्द्रबहादुर घिमिरे मोहनशमशेरसँगै भारत प्रवासमा गए । त्यहीँ उनले शिक्षा आर्जन गरे । मोहनशमशेरको निधनपछि २०१३ सालतिर इन्द्रबहादुर आफ्नो पुख्र्यौली थातथलो ढुंखर्क माथ्लोथली फर्के । उनले आफ्ना दाजु रत्नप्रसाद घिमिरेको सल्लाहबमोजिम घरमै केटाकेटी बोलाएर पढाउन थाले । त्यतिबेला गाउँमा मुखियाले चाहेको कुरा मात्रै हुन्थ्यो । त्यतिबेला इन्द्रबहादुरकै नजिकका काका बालकृष्ण घिमिरे मुखिया थिए । नेपाली कांग्रेसको कोटामा २०१६ सालमा गेल्डुङमा प्रावि स्कुल खुल्यो । उक्त स्कुलको नाम पार्वती राखियो । स्कुलको संस्थापक अध्यक्ष परसर तिमल्सिना, सदस्यमा लीलाराज तिमल्सिना (अर्जुन), पद्यनारायण तिमल्सिना र प्रेमप्रसाद तिमिल्सेना सेक्रेटरी भए । स्कुल खुले पनि शिक्षकको लागि तलबको व्यवस्था थिएन । इन्द्रबहादुर घिमिरेले नै केही समय स्वयंसेवक र तलबी रूपमा काम गरे, प्रेमप्रसाद तिमल्सिनाका अनुसार इन्द्रबहादुर नौ महिना पढाए । र, इन्द्रबहादुर घिमिरेको नाम परिवर्तन गरी उनै मुखियाले विजुलीप्रसाद घिमिरे नाम राखिदिए, इन्द्रबहादुरले परिवर्तित नाम स्वीकार गरेका थिए ।

ढुंखर्कमा क्याम्पस स्थापना
करिब एक वर्षको गृहकार्यपछि २०६३ सालमा मदन तिमल्सिनाको अध्यक्षतामा उच्च माध्यमिक विद्यालय स्थापना समिति गठन भयो । सोही वर्ष सरकारबाट स्वीकृति लिएर उच्च माध्यमिक विद्यालय खुल्यो । सुरुमै करिब एक सयजना विद्यार्थी भर्ना भए । उच्च मावि राम्रोसँग चल्यो । वर्षको ७०–८० जना विद्यार्थी उच्च माविबाट उत्तीर्ण हुन थाले । त्यसमा छोरीबुहारीको संख्या उल्लेख्य थियो । उच्च माविबाट उत्तीर्ण भएकामध्ये आधाभन्दा बढीले स्नातक तहको शिक्षा लिन अन्यत्र जान सक्ने अवस्था रहेन । व्यावसायिक पशुपालन तथा तरकारी खेती फस्टाएका कारण गाउँमै बसेर प्रशस्त आम्दानी गर्न सकिने अवस्था बनिसेको थियो । त्यसैले स्नातक तहसम्मको पढाइ बेथाञ्चोक गाउँपालिका–२ ढुंखर्कमै सम्भव हुने देखियो ।

क्याम्पमा छोरीबुहारी बढी
अर्थ संकलनका लागि २०६६ सालमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान घिमिरेको (हाल ः बेथाञ्चोक गाउँपालिका–२ वडाअध्यक्ष) अध्यक्षतामा सप्ताह महायज्ञ आयोजना गरियो । त्यसको शुभारम्भ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो भने हालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले समापना गर्नु भएको हो । पूर्वमन्त्री जनार्दन शर्मा (हाल अर्थमन्त्री), काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा.सुरेशराज शर्मालगायत जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरू कार्यक्रममा आउनुभएको थियो । राजधानी काठमाडौंमा आएर बसोबास तथा विभिन्न पेसा व्यवसाय गर्नेहरूले पनि आफ्नो थातथलोमा क्याम्पस स्थापना गर्न धेरै ठूलो चासो देखए । क्याम्पस स्थापनाका लागि करिब ६४ लाख रुपैयाँ उठ्यो भने करिब १७ लाख खर्च पनि भयो । त्यसलगत्तै भागवान घिमिरेको अध्यक्षतामा क्याम्पस सञ्चालक तदर्थ समिति गठन भयो ।

यसरी २०६९ सालमा त्रिभुवन विश्वविद्यायलको सम्बन्धन लिएर बीएड पढाई हुने क्याम्पस स्थापना भयो । क्याम्पस स्थापना हुना साथ बीबीएसको पनि स्वीकृति लिइयो । यतिबेला क्याम्पसको एउटा ब्याचमा दुवै विषयका गरी करिब एक सय नौ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये करिब ४० प्रतिशत विद्यार्थी एकै पटक उत्तीर्ण हुने गरेका छन् । रोचक पक्ष के छ भने ६० प्रतिशतभन्दा बढी विद्यार्थी छोरीबुहारी नै छन् । त्यसैले छोरीबुहारी क्याम्पस पनि भन्ने गरिएको छ । क्याम्पसका १३ मध्ये आठजना शिक्षक स्थानीय नै छन् । माध्यमिक विद्यालय शिक्षाको इतिहास यति छोटो भएको ढुंखर्कको क्याम्पसमा आधाभन्दा बढी शिक्षक स्थानीय हुनुको अर्थ हो, यस क्षेत्रको शैक्षिक विकासले धेरै ठूलो छलाङ मार्नु ।

काभ्रेपलाञ्चोक जिल्लाका केही शैक्षिक तथ्य तथ्यांक
– १९५८ असोज १२ गते बनेपामा संस्कृतमा प्रथम परीक्षासम्म उत्तीर्ण गराउने चण्डेश्वरी भाषा पाठशाला स्थापना ।
– १९९४ मा बनेपमा भूमिगत रूपमा महावीर स्कुलको शाखा स्थापना ।
(काठमाडौंमा महावीर स्कुल १९९३ सालमा खुल्यो र १९९७ मा बन्द भयो । )
– १९९६ (१९९३ भन्ने पनि पाइन्छ) धुलिखेलमा सार्वजनिक अभिलेखमा नआई अंग्रेजी प्राइमरी स्कुल सञ्चालन ।
– १९९९ सालमा बनेपामा हंशराजको घरमा चण्डेश्वरी कपडा कारखाना चर्खा प्रचारक स्कुलको स्थापना ।
– २००२–२००३ सालतिर बनेपामा दछुटोलस्थित राजदासको घरमा आजाद स्कुल सञ्चालन ।
– श्री खण्डपुरको स्कुल २००२ सालमा सञ्चालन ।
– २००३ सालमा बनेपामा गणेश स्कुल र जापानी स्कुलको स्थापना ।
– २००३ साल (पनौतीमा इन्द्रेश्वर, दाप्चामा श्रीकृष्ण, नालामा भाग्योदय) स्कुल स्थापना । यी सबैलाई २००८ सालमा सरकारी स्कुलको मान्यता ।
– २००४ सालमा पनौती, विहावर जफ्ति गाउँ, जोरपाटी पाँचखाल, दाप्चा तल्लो हटिया, फूलवारी मथुरापाटी, कानपुर कालापानी, देउराली, मण्डन चण्डेनी, पलाञ्चोक जोगी थुम्का, भुम्लु हलिदे गरी ११ स्थानमा भाषा पाठशाला सञ्चालन ।
– २००८ सालमा काभ्रे जिल्लाका विभिन्न स्थानमा थप २३ वटा प्राइमरी स्कुल स्थापना ।
– २०१३ सालमा बनेपाको आजाद माध्यमिक स्कुल । सञ्जीवनी धुलिखेल, भगवती पलाञ्चोक, शारदा फलाँटे, प्रभा कात्तिके, श्रीकृष्ण दाप्चा र इन्द्रेश्वर पनौती गरी त्यसबेला ६ वटा मिडिल स्कुल थिए । सञ्जीवनी मिडिल स्कुल २०१४ सालमा हाइस्कुल भयो । २०१४ सालमा थप ८५ वटा प्राइमरी स्कुल सञ्चालनमा आए ।
– २०१७ सालमा भमरकोट, खोपासी, बनेपा, पनौती, पाँचखाल, मण्डन र फँलाटेमा पुस्तकालय सञ्चालन ।
– २०१८ सालमा बनेपामा प्रौढ शिक्षा निकेतन स्थापना ।
– २०२१ सालसम्म जिल्लामा हाइस्कुलको संख्या ६ वटा मात्र थियो । बनेपाको आजाद, धुलिखेलको सञ्जीवनी, फँलाटेको शारदा, बनेपाको प्रौढ शिक्षा निकेतन रात्री स्कुल, धुलिखेलको महेन्द्र प्रौढ विद्यामन्दिर बिहानी र, पाँचखालको सर्वमंगला माध्यमिक विद्यालय ।
– २०५० सालमा काभ्रेमा शिक्षण संस्थाको संख्याः क्याम्पस दुई, उच्च माध्यमिक विद्यालय दुई, माध्यमिक विद्यालय ३५, निम्न माध्यमिक विद्यालय ४७, प्राथिमक विद्यालय ३१९ र पूर्वप्राथमिक विद्यालय २० गरी कुल ४२५ विद्यालय ।
(स्रोत: कृष्णप्रसाद पराजुली, २०५० पूर्व एक नम्बर काभ्रे र सिन्धुको परिचयात्मक अध्ययन– दोस्रो संस्करण)