कस्तो हुर्काइबाट केटाकेटीको भविष्य उज्यालो हुन्छ

कस्तो हुर्काइबाट केटाकेटीको भविष्य उज्यालो हुन्छ डा. अरुणा उप्रेती २८ आश्विन २०७८, बिहीबार ०८:२४
कस्तो हुर्काइबाट केटाकेटीको भविष्य उज्यालो हुन्छ

सानो गल्तीमा पनि बालबालिकालाई गाली गरिरहे उनीहरू आफ्नो कुरा आमाबुबासँग राख्न सक्दैनन् । त्यसैले तिनका कुरा नरिसाइकन सुन्नुपर्छ । उनीहरूलाई अनुशासनमा राख्नुपर्छ, तर्साउनु हुँदैन ।

आत्मनिर्भर बनाऔं ः बालबालिकालाई सानैदेखि आमाबुबाले घरको काममा सहयोग गर्न, खाना पकाउन, लुुगा धुुन सिकाउनु जरूरी छ । यसले गर्दा उनीहरू आत्मनिर्भर हुन सिक्छन् र शारीरिक रूपमा पनि सक्रिय हुन्छन् । यसबाट काम वा अध्ययनका सिलसिलामा पछि घरबाहिर वा विदेश जाँदा उनीहरूलाई नै सजिलो हुन्छ । घरबाट टाढा बस्दा केही पकाउन जानिएन भने बाहिरको ‘पत्रुखाना’ खानुुपर्छ र यसले स्वास्थ्यमा नराम्रो असर पर्छ ।

त्यस्तै ६–७ वर्षका बालबालिकालाई चाहिनेभन्दा बढी माया गरेर बाहिर खेल्न जान नदिने, लड्छ भनेर कतै नछोड्ने, २४ सै घन्टा आफैंसँग च्यापेर राख्ने गर्नाले उनीहरूको व्यक्तित्व विकास हुन पाउँदैन । यसको अर्थ उनीहरूको सुरक्षाको ख्याल नगर्नु भन्ने होइन । आफ्ना साथीहरूसँग खेल्दा, झ्गडा गर्दा, झ्गडा गरेर फेरि मिल्दा उनीहरूको सामाजिकीकरण बढ्न जान्छ । तर, आमाबुुबासँग मात्रै टाँसिएर हुर्किएका बालबालिका स्कुल वा कतै बाहिर जाँदा केही समस्या प¥यो भने सहजै व्यक्त गर्न सक्दैनन् । समाधानका लागि पहल गर्न सक्दैनन् । पछि कलेज पुग्दासमेत कुुनै सानो समस्या प¥यो, कसैसँग वादविवाद भयो भने पनि आफंैले निर्णय लिन सक्दैनन्, कमजोर बन्छन् ।

रुचिको कदर गरौं: आजकल दुई–तीन वर्षकै उमेरमा स्कुलमा राखिदिने चलन छ । यदि घरमा बाजेबज्यै भए भने चार–पाँच वर्षसम्म घरमै राख्नु उपयुक्त हुन्छ । तर अहिलेको जमानामा सायद यो सम्भव छैन । घरमा तीन–चार वर्षसम्म बसेर बाजेबज्यैको माया, स्नेह र कथा सुुनेर हुुर्किएका बालबालिकाको सामाजिक सम्बन्ध धेरै राम्रो हुुन्छ ।

स्कुल पठाएको केही महिनापछि नै आफ्ना सन्तानले अंग्रेजीको अक्षर चिनिहालोस्, गीत–कविता कण्ठ पारिहालोस् भन्ने धेरै आमाबुबाको चाहना हुन्छ । साना बालबालिकालाई धेरै गृहकार्य दिए राम्रो हुन्छ भन्ने कतिपयको बुझाइ हुन्छ । तर बच्चालाई उमेर नपुगी जबर्जस्ती ग¥यो भने यसले बालबालिकाको विकासमा अवरोध नै पैदा गर्छ । उनीहरूले त विस्तारै सिक्दै जान्छन् । आफ्ना छोराछोरीलाई अरूका छोराछोरीसँग तुलना गरेर ‘फलानो त यस्तो राम्रो पढ्छ, यस्तो स्मार्ट छ, यस्तो राम्रो नम्बर ल्याउँछ, तेरो त खोइ बुद्घि नै छैन’ भन्ने जस्ता शब्दहरू उनीहरूको व्यक्तित्व विकासको लागि असाध्यै घातक हुन् । आफ्नै छोराछोरीबीच पनि तुलना गर्नुहुँदैन । हरेक बच्चाको आफ्नै विशेषता हुन्छ । रुचि हुन्छ ।

राम्रो नम्बर ल्याउन् भनेर दिन–रात पढ्न मात्र लगाउने गर्दा बच्चाको व्यक्तित्वमा कतै बाधा पुगिरहेको त छैन भन्ने विचार गर्नैपर्छ । सधैं ‘पढिराख’ भनेर झपार्दा प्रायः आमाबुवाले आफूूले आफ्नो बाल्यकालमा के गर्थें भन्ने कुुरा बिर्सिन्छन् । छोराछोरीलाई गाली गरिरहँदा उनीहरू विस्तारै टाढा हुँदै जान्छन् । कति मातापिता आफ्नो छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन् तर छोराछोरीको चाहना र योग्यता के छ भनेर बुुझन नसक्दा कहिलेकाहीं दुर्घटना पनि हुन्छन् ।

मेरा एकजना परिचित डाक्टर आफ्नो छोरालाई जसरी भए पनि डाक्टर बनाउन चाहन्थे । तर छोरालाई चाहिँ पत्रकार बन्ने मन थियो । साहित्य र भाषा सिक्नमा रुचि थियो । उसको भाषा पनि राम्रो थियो । कविता र कथा लेख्न सोख पनि थियो । ‘म डाक्टर बन्न चाहन्नँ’ भन्दाभन्दै, उसलाई कक्षा–१२ पछि जबर्जस्ती उसको बुबाले जाँच दिन लगाए, डाक्टरी पढ्न लगाए । पढ्न नसकेर छोरा सबै विषयमा फेल भएपछि बाबुले बेस्सरी गाली गरे । त्यसको केही दिनपछि छोराले झुुन्डिएर आत्महत्या गरे । त्यो घटनाले आमा विक्षिप्त भइन् । बाबु सहरै छोडेर अर्को ठाउँमा गए ।

डाक्टर, इन्जिनियर हुँदैमा सफल भइन्छ भन्ने विचार अब त्याग्नुुपर्छ । सबै जनालाई उच्च शिक्षा हासिल गर्न मन पनि हुँदैन, सामथ्र्य पनि हुँदैन । तर उनीहरूले जीवनमा अन्य काम सफलतापूूर्वक गर्न सक्छन् । उनीहरूको रुचि र योग्यताअनुसार अघि बढ्न प्रेरणा दिए उनीहरू स्वावलम्बी हुन्छन् । कक्षा–१२ पास गरेपछि कैलालीमा २२ वर्षकी गीताले केही साथीहरूसँग मिलेर कपडा सिलाइ व्यवसाय सुरू गरिन् । महिनामा ४० हजार रुपैयाँ कमाउँछिन् । उनी भन्छिन्, ‘मलाई सानैदेखि खाना पकाउन र लुुगा सिउन मन लाग्थ्यो । मेरी आमा म कलेज पढेर शिक्षक होओस् भन्ने चाहना राख्नुहुुन्थ्यो । तर मैले आफ्नो इच्छा बताएपछि उहाँले दुुःखी मनले ‘हुुन्छ त, सिलाई सिक’ भन्नुभएको थियो ।’ उनलाई मेसिन किन्न पनि आमाले मद्दत गरिन् । गीता भन्छिन्, ‘सिलाइ पसल खोलेर पैसा कमाएपछि उहाँ खुुसी हुनुहुन्छ । मेरो निर्णय ठीक रहेछ भन्नुहुुन्छ ।’

सरसफाइः बालबालिकाको सरसफाइका लागि आजकल अनेकथरीका विज्ञापनको कारणले गर्दा महँगो स्याम्पो वा साबुन किन्ने चलन छ । तर मैले मेरा छोरीहरूको लागि पनि कुुनै ‘बाल साबुन’ किनिनँ । तर पनि उनीहरू स्वस्थ भएर नै हुुर्के ।

बालबालिकालाई नुुहाउँदा कुनै महँगो साबुन प्रयोग गर्नुपर्दैन । ठूूला व्यक्तिहरूले प्रयोग गर्ने साबुन नै लगाइदिए हुुन्छ । गाउँघरमा एउटा राम्रो चलन छ । नुुहाउनुुभन्दा अघि तोरीको तेलले शरीर मालिस गरिदिने, त्यो पनि घाममा राखेर । यसो गर्दा भिटामिन ‘डी’ प्राप्त हुन्छ । तर घाममा राखे कालो भइन्छ भन्ने डरले मातापिताले आजकल बच्चालाई घाममा खेल्नबाट रोक्छन्, घाममा बसेर तेल लगाइदिँदैनन् । यसले गर्दा भिटामिन ‘डी’ को कमी हुन्छ । कति आधुनिक मातापिताले त मालिस गर्दा तोरीको तेल प्रयोग गर्नुहुँदैन, बाहिरको विदेशी बास्नादार तेल प्रयोग गर्नुपर्छ भन्ने गलत विचार राख्छन् । शुद्ध तोरी, नरिवल, तिल आदिको तेलले बालबालिकाको छालाको मसाज गर्नुु राम्रो हुन्छ भन्ने कुरा हजारौं वर्षदेखि चलिआएको व्यवहारले देखाइसकेको छ ।

त्यस्तै, आजकल बालबालिकालाई ‘डाइपर’ लगाइदिने चलन बढ्दो छ । २४सै घन्टा ‘डाइपर’ प्रयोग गर्दा शिशुको कोमल छाला चिलाउँछ, घाउ आउँछ । त्यसैले सुतेको बेलामा डाइपर फुकालिदिएर पानीले सफा गरी त्यस ठाउँमा तोरी वा नरिवलको तेल लगाइदिए बेस हुन्छ । सकिन्छ भने बाहिर जाने बेलाबाहेक ‘डाइपर’ को प्रयोग नगरेकै वेश । मेरा छोरीहरू ‘डाइपर’ विना नै हुुर्के । सानैदेखि दिसा–पिसाब लाग्यो भने भन्न सिकाउन सकिन्छ वा समय समयमा आफैंले शौचालयमा लगेर पिसाब गराउनुुपर्छ । दिसा–पिसाब गरेपछि हात धुन सिकाउनुपर्छ । भित्री बस्त्र त शिशुदेखि किशोरकिशोरीलाई पनि सूतीकै प्रयोग गर्नुपर्छ । कति मातापिताले महँगो लुुगा वा भित्री बस्त्र बालबालिकाको लागि राम्रो हुुन्छ भन्ने ठान्छन् । सूती लुुगाले पसिना पनि राम्रोसँग सोस्छ । यसले गर्दा चिलाउने पनि हुँदैन ।

कुरा गरौं र सुनौंः अहिले १०–११ वर्षका बच्चादेखि युवायुवतीसम्म तनावको कारणले मानसिक अवस्था विचलित भएका घटना पनि देखिएका छन् । बालबालिका र किशोरकिशोरीले पनि आत्महत्या गरेका घटना सुनिन्छन् । यस्तो अवस्थाबाट बच्न बालबालिकासँग कुराकानी गर्ने, उनीहरूको समस्या केही छ भने भन्न प्रेरित गर्नुपर्छ, सुन्नुपर्छ । ‘कतिपय आमाबुबाले मैले राम्रो स्कूलमा पढाएको छुु, भिडियो गेम किनिदिएको छुु, त्यति भए त अरू के चाहिन्छ र’ भन्ने सोच्छन् । तर आमाबुुबाको सामीप्यता, माया, स्नेह, कुराकानी सबै बालबालिकाका लागि महत्वपूर्ण हुन्छ । यसले गर्दा छोराछोरी कतै समस्यामा परे, गलत बाटोमा लागे भने समयमै थाहा पाइन्छ ।

मेरो गाउँका एक परिचितले छोरालाई कक्षा–१२ पढ्न काठमाडौंमा राखेका थिए । मोटरसाइकल पनि किनिदिएका थिए । छोराले किताब किन्न पैसा चाहियो भनेर खबर गर्दा जति पनि पठाइदिन्थे । ‘छोराले राम्ररी पढिरहेछ’ भन्ने उनीलाई लागेको थियो । एकदिन छोराले रक्सी खाई मोटरसाइकल चलाएर दुर्घटना भएको खबर सुुनेपछि पो उनी झसंग भए । समय–समयमा छोरासँग भेटेर उसको जीवन कसरी चलिरहेछ, पढाइ कस्तो हुँदैछ भनेर बुझेको भए शायद यस्तो समस्या हुुँदैनथ्यो ।

त्यस्तै अहिले छोराछोरीलाई अत्याधुुनिक खालको ‘मोबाइल’, ‘स्मार्ट फोन’ उपहार दिने चलन छ । तर यसको प्रयोग छोराछोरीले कसरी गरिरहेका छन् भनेर नहेर्ने हो भने पछि समस्या पर्न सक्छ । किशोरकिशोरीमा शारीरिक र मानसिक रूपमा छिटोछिटो परिवर्तन भइरहेको हुन्छ । यस्तो बेलामा उनीहरूको मनको कुरा धैर्यसँग सुुनिदिने, सल्लाह दिने घरका मातापिता, फुुपू, दिदी, दाजु नै हुन सक्छन् । उनीहरू घरको मानिससँग कुरा गर्न पाएनन् भने बाहिरका मानिससँग कुरा गर्दा समस्यामा पर्न सक्छन् ।

निर्मला नामकी काठमाडौंकी १६ वर्षीया किशोरीलाई, कक्षा–१० पास गरेपछि बुवाले ‘स्मार्ट फोन’ किनिदिए । उनी फेसबुकमा भुुल्न थालिन् । फेसबुकबाटै उनको २५ वर्षीय युवकसँग परिचय भयो । उनीहरू कुराकानी गर्न थाले । निर्मलाका आमाबुबालाई यो बारेमा केही ज्ञान थिएन । निर्मलाको त्यो युुवकसँग प्रेम प¥यो । उनी विवाह गर्न भागेर गइन् । धन्य केही घन्टापछि नै घरबाट भागेको भन्ने थाहा पाएपछि वीरगञ्जमा प्रहरीले फेला पा¥यो । भारतमा चौकीदारी गर्ने युुवकले आफूलाई लगेर बेचिदिन पनि सक्थ्यो भन्ने थाहा पाएपछि पो निर्मला झसंग भएकी थिइन् ।

बालबालिकालाई सानैदेखि बाहिरको व्यक्तिले उनीहरूको शरीरको कुनै भाग छोयो, मुुसा¥यो र म्वाइँ खायो भने यस्ता कुरा मातापितालाई भनी हाल्नुुपर्छ भनेर सिकाउनुुपर्छ । घर बाहिरका छिमेकी, घरमा आएका काम गर्ने मानिसको भरमा साना बालबालिकालाई छोड्दा यौनशोषण हुने सम्भावना हुन्छ ।

त्यसैगरी, १२–१३ वर्षका बालबालिकालाई पनि ‘मलाई यसरी छोएको मन पर्दैन’ भनेर प्रतिकार गर्न सिकाउनुपर्छ । किनभने यसो नगर्दा घरपरिवार भित्रबाटै यौनशोषणका घटना पनि हुनसक्छन् । बालिका मात्र होइन, बालकमाथि पनि यौन शोषणका घटना हुनसक्छन् । सानैदेखि बालबालिकालाई आफूलाई समस्या प-यो भने फरक मानिसलाई भन्नुपर्छ भनेर सिकाउनुपर्छ ।

स्कुमा शिक्षकले वा आफूभन्दा ठूूला केटाहरूले पनि यस्तो गर्न सक्छन् । त्यसैले कसैले यस्तो गरिहालेमा तुरुन्तै आएर घरका ठूूला मान्छेलाई भनिहाल्नुुपर्छ भन्ने कुरा सिकाउनुपर्छ । प्रायः यस्तो कुरा भन्यो भने कसैले मलाई गाली गर्छ कि भन्ने डरले प्रायः यस्तो कुुरा लुुकाउँछन् र पछि समस्या पर्न सक्छ । सानो गल्तीमा पनि बालबालिकालाई गाली गरिरहे उनीहरू आफ्नो कुरा आमाबुबासँग राख्न सक्दैनन् । त्यसैले बालबालिकाका कुरा नरिसाइकन सुन्नुपर्छ । बालबालिकालाई अनुशासनमा राख्नुपर्छ, तर्साउनु हुँदैन । यसका लागि मातापिता आफैं पनि अनुशासनमा बस्नुपर्छ । (साहित्यकार डा.उप्रेती पेसाको रुपमा डाक्टर हुनुहुन्छ ।)
शिक्षक मासिकबाट (१६ कात्तिक २०७६)