काभ्रेका बेथाञ्चोकमा क्याम्पसको अवधारणा, सप्ताह ज्ञान महायज्ञ नै आधार

काभ्रेका बेथाञ्चोकमा क्याम्पसको अवधारणा, सप्ताह ज्ञान महायज्ञ नै आधार भगवान घिमिरे ३१ आश्विन २०७८, आईतवार १०:३९
काभ्रेका बेथाञ्चोकमा क्याम्पसको अवधारणा, सप्ताह ज्ञान महायज्ञ नै आधार

२०६७ मंसिर ३ गते दिउँसो । आज ढुंखर्कभर विशेष हलचल पैदा भएको छ, ढुंखर्कमा क्याम्पस ल्याउने रे भन्ने प्रत्येक घरमा चर्चा चलेको छ । कुनै औपचारिक कार्यक्रममा होस् वा सडकमा भेटिएका सर्वसाधारणको एउटै प्रश्न हुने गरेको छ– क्याम्पस कहिले आउने भो ? हामीसँग आधिकारिक जवाफ थिएन, तर क्याम्पसकै लागि चन्दा दिएका, जग्गा दान दिएका दानीहरूलाई निरास बनाउनु पनि भएन । हामी अर्थात् विद्यालय सञ्चालक समिति सदस्यहरु क्याम्पस स्थापना गर्ने बाध्यतामा पर्दै गएका थियौं । कहिलेकाहीँ भावनात्मक कुराले पनि मान्छेलाई ऊर्जा दिन्छ भन्थे, हो रहेछ । विद्यालयको स्वर्णजयन्ती भव्य रूपमा मनाउने सन्दर्भमा मेरै प्रस्तावमा सप्ताह ज्ञान महायज्ञ लगाउने प्रस्ताव सर्वसम्मतबाट पास भएको परिणाम समयभन्दा केही पहिले नै क्याम्पस स्थापना भएको हो कि भन्ने लाग्छ । किनभने क्याम्पस सञ्चालनका लागि न कुनै भौतिक संरचना थियो, न त आर्थिक अवस्था नै पर्याप्त थियो । अबस्था शुन्य थियो ।

सप्ताह ज्ञान महायज्ञ भव्य रूपमा सम्पन्न भएको केही समयपछि अर्थात् २०६७ मंसिर ३ गते क्याम्पस स्थापनालाई मुख्या विषय बनाएर अभिभावक भेला बोलाइयो । भेलाको उपस्थिति स्वयं बोल्यो– ढिला नगर, जे सहयोग गर्नुपर्ने हो हामी गर्न तयार छौं । हुन पनि छोटो सूचनाका आधारमा सिंगो ढुंखर्क गेल्डुङको पार्वती उच्च माविमा उपस्थित भएको थियो । चन्दादाता विश्वेश्वर बन्जारा, स्रोतव्यक्ति नवराज तिमल्सिना, पनौतीका गुरुराज बन्जारा, ढुंखर्कनिवासीका हामी सबैका गुरु इन्द्रबहादुर तिमल्सिना, हालका बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, केदारबहादुर क्षेत्री, वेदप्रसाद तिमल्सिना, गंगाप्रसाद सापकोटालगायत करिब ८४ जनाको उपस्थितिमा क्याम्पस स्थापना गर्ने सर्वसम्मत निर्णय भयो । त्यही भेलाबाट पाटने खोलाका कमलप्रसाद तिमल्सिनाको संयोजकत्वमा क्याम्पस सञ्चालनसम्बन्धी विधान तथा नियमावली अध्ययन गरी परिमार्जन गर्न समिति बनाइयो । त्यही भेलाबाट क्याम्पस तदर्थ समिति बनाउनेसमेत निर्णय गरियो ।

दोस्रो संयुक्त बैठकबाट विधान तथा नियमावली स्वीकार गर्दै अभिभावक भेलाबाट अनुमोदन गराउने दोस्रो निर्णय गरियो । क्याम्पस स्थापनाको काम द्रुत गतिमा भइरहेका बेला हाम्रो पहलमा ऊर्जा भर्न २०६७ मंसिर ११ गतेको अभिभावक भेलामा अघिल्लो अभिभावक भेलामा भन्दा झन्डै दोब्बर अर्थात् १५० जनाको उपस्थिति भयो । २०६७ मंसिर ११ गतेको यही भेलाले मेरै अध्यक्षतामा क्याम्पस सञ्चालन तथा व्यवस्थापन तदर्थ समितिसमेत गठन ग¥यो । जसमा प्रेमबहादुर तिमल्सिना, इन्द्रबहादुर तिमल्सिना, रोशन तिमल्सिना, कमलप्रसाद तिमल्सिना, ओमप्रसाद तिमल्सिनालाई सदस्य र विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मालाई सदस्य सचिव बनाइयो । यसरी स्थापनाको चरणमा प्रवेश गरेको क्याम्पसमा साधन–स्रोतको अभाव हामीले झेलिरह्यौं, अहिले पनि झेलिरहेका छौं । यो त ढुंखर्क निवासीको अद्भूत इच्छाशक्ति र प्रेरणाले मात्र चलिरहेको हो भन्ने मलाई लाग्छ । भनिन्छ नि, जहाँ इच्छा हुन्छ त्यही उपाय भनेझै भएको मात्र हो । यही भेलाको प्रस्ताव नम्बर १ बाट ढुंखर्क बहुमुखी क्याम्पसको विधान–२०६७ पास गर्ने निर्णय गर्दै नाम संशोधन गरियो र क्याम्पसको नाम पार्वती राख्ने निर्णय भयो ।

२०६६ कत्तिक ६ गते श्री पार्वती उच्च माध्यमिक विद्यालयको स्वर्णजयन्ती भव्य रूपमा मनाउने निर्णय गर्दा क्याम्पस स्थापनाको खासै चर्चा गरिएको थिएन । यसअघि २०६६ असोज २ गते बसेको बैठक भदौ २६ गतेको निर्णयअनुरूप मेरै अध्यक्षतामा स्वर्णजयन्ती मूल समारोह समिति बनाउने निर्णय भएको थियो । त्यही बैठकले तुलसीदास श्रेष्ठको अध्यक्षतामा सल्लाहकार समिति, विद्यालय स्थापनालगायत पहिचान स्थापित गर्न इन्द्रबहदुर तिमल्सिनाको संयोजकत्वमा खोज तथा अनुसन्धान समिति बनाइएको थियो । २०६७ मंसिर १० गतेको बैठकबाट परशुराम घिमिरेको संयोजकत्वमा बलराम तिमल्सिना, अर्जुनबहादुर श्रेष्ठ, भीमप्रसाद तिमल्सिना, विष्णुबहादुर क्षेत्री, उद्धव तिमल्सिनालगायत प्रबुद्ध नागरिकको सल्लाहकार समिति बनाइएको थियो । यही बैठकको प्रस्ताव नम्बर ३ बाट विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि क्याम्पस प्रमुखको समेत जिम्मेवारी दिने निर्णय भएको हो ।

मंसिर १६ गते मंगलबारबाट सुरु भएको सप्ताह २३ गते सोमबार समापन भएको थियो । विद्यालयको स्वर्णजयन्ती एवं क्याम्पस स्थापनार्थ भएको पहलका लागि एकपछि अर्को गर्दै १४ वटा औपचारिक बैठक भएका थिए । अनौपचारिक बैठक त कति भए, भए । २०६७ मंसिर ३ गतेदेखि २०७१ साउन ४ गतेसम्म कार्यभार सम्हाल्दा भएगरेका राम्रा कामको जस म आदरणीय यस क्षेत्रका सम्मानित व्यक्तिहरूलाई दिन चाहन्छु भने कमीकमजारीको जिम्मेवार म आफैं हुँ भन्ने लाग्छ मलाई ।

२०६६ पुस १८ गते बसेको बैठकले आर्थिक आय–व्ययको विवरण पेस गरेको थियो । जसमध्ये १० रोपनी १४ आना जग्गा क्याम्पसको नामा दिने प्रतिबद्धता आयो भने सार्वजनिक ऐलानी जग्गा ४० रोपनी क्याम्पसले अहिले पनि भोगचलन गरिरहेकै छ । लेखा समितिका संयोजक गंगा सापकोटाले पेस गरेको विवरणअनुसार नगदतर्फ ६४ लाख १७ हजार ९८८ आएको छ भने सप्ताह ज्ञान महायज्ञका लागि खर्चतर्फ १७ लाख ४१ हजार ८९० रुपैयाँ पेस्की फछ्र्योट गर्न सिफरिस गरिएको थियो । महायज्ञबाट उठेको रकमको आय–व्याय फछ्र्योट गर्न प्रबुद्ध व्यक्तित्व गंगाप्रसाद सापकोटाको संयोजकत्वमा लेखा समिति बनाइएको थियो । लेखा समितिमा गोविन्दप्रसाद अधिकारी, बलराम अधिकारी, केदारबहादुर क्षेत्री, तारा राना, सचिवालय संयोजक रामहरि शर्मा, ठूलोवाबु तिमल्सिना र मूल समारोह समितिका सदस्य सचिव ध्रुवलाल हमाललाई सदस्य सचिव बनाइएको थियो । ज्ञान महायज्ञबाट स्कुलको नयाँ भवन निर्माणका क्रममा बाँकी रकम खर्च भएको छ भने क्याम्पसका लागि जग्गा खरिद तथा धरौटीका लागि २० लाख रुपैयाँ खर्च गरिएको छ ।

लगभग क्याम्पस स्थापनाका लागि भएको यो अभियानले तीन वर्षभित्रै २०६९ सालमा सार्थकता पायो । त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालयबाट २०६९ फागुन २२ गते बीएड तहको स्वीकृति लिने काम सम्पन्न भयो भने २०७० असार ४ गते शंकरदेव क्याम्पसका उपप्राध्यापक प्रकाशसिंह प्रधानको सम्भाव्यता अध्ययन टोलीको सिफारिसअनुसार त्यसको लगभग दश महिनापछि अर्थात् २०७० चैत १२ गते बीबीएस तह सञ्चालन गर्न स्वीकृति पाइएको थियो । अहिले आफ्नै जग्गामा भवन बनिरहेको जानकारी गराउन पाउँदा ढुंखर्क निवासीको गौरवको विषय हो भन्ने लाग्छ । दुई तला ढलान सम्पन्न भइ प्लाष्टर, रंग–रोगन, विजुली काम, चार वटा बाथरुम बनिसकेको छ । यो कठिन अबस्थामा बनेको भवनले हामीलाई परिमार्जन गर्दै ल्याउँदा बेथाञ्चोक शैक्षिक हव बन्दै गएको छ । १० वटा माध्यमिक विद्यालय र एउटा बहुमुखी क्याम्पस हुनु हामी सबैका लागि गौरवको कुरा हो ।
(लेखक भगवान घिमिरे बेथाञ्चोक गाउँपालिका–२ को वडाअध्यक्ष हुन्)