समाज सुधारक पिता बालकृष्ण घिमिरे

समाज सुधारक पिता बालकृष्ण घिमिरे गीता शर्मा २ कार्तिक २०७८, मंगलवार १२:५४
समाज सुधारक पिता बालकृष्ण घिमिरे

मेरो माइती घर हाल काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका–३ ढुंखर्क, बाह्रविसे हो । हामी पुस्तौनी कृष्ण प्रणामी हौ । मेरै पहलमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा साढे दुई करोड लागतमा राधाकृष्ण मन्दिर निर्माण कार्य सम्पन्न भएको छ । सत्सङ भवनसहितको उक्त मन्दिर निर्माणको गरिएको छ । म विभिन्न धार्मिक संघ–संस्थामा सम्लग्न छु । मैले (गीता शर्मा) जान्दा बुवालाई भेट्न दैनिक २०–३० जना आइरहनु हुन्थ्यो । कहिलेकाहीँ त ५०–६० जनासम्म पुग्थे । आउने सबैलाई सोधीसोधी खुवाउने चलन थियो । बिहानदेखि रातिसम्म भान्सा चलिरहेको हुन्थ्यो । हाम्रो इँटा पोलेर बनाइएका दुईवटा तीन तले ठूल्ठूला घर थिए । दक्षिण–पूर्व फर्केको ठूलो खालको फलैचा थियो ।

बुवा बालकृष्ण घिमिरे त्यसैमा पलेँटी कसेर बस्नु हुन्थ्यो, गाउँको मुखिया भएकाले कसको के समस्या हो एक एक गरी सोध्नुहुन्थ्यो । सरकारले बुवालाई चोरी, डकैतीलगायत अपराधको प्रकृति हेरी हतकडी लगाउनेसम्मको अधिकार दिइएको थियो भन्ने सुनेको हुँ । एक सय रुपैयाँसम्मको जग्गा खरिद–बिक्रीको रजिस्ट्रेसन पास गर्ने अधिकार गाउँकै मुखियालाई दिइएको थियो । मुखियाले सही गरेपछि त्यो लिखतलाई मालपोतले मान्यता दिन्थ्यो । साविक ढुंखर्क बाह्रबिसेका नाममा पाट्नेखोला, थलीको सिरान, १ नम्बरको महाभारतसँग जोडिएका माथिल्लो भेगका जग्गाहरू मुखियाकै हस्ताक्षरबाटै दिइएका हुन् । उतिबेला गाउँको मुखियाले मालपोत उठाएर जिल्ला मालपोत कार्यालय धुलिखेलमा बुझाउने चलन थियो । त्यो काम बुवाले नै गर्नुहुन्थ्यो । बुवाको निधनपछि मेरी आमा मानकुमारीले त्यो काम सम्हाल्नुभयो । उहाँ गाउँ पञ्चायतको तीनपटक प्रधानपञ्च पनि हुनुभयो ।

सरकारले बुवालाई दुईजना सरकारी सिपाइ दिएको थियो भने धुलिखेल, चौतारा जाँदा उहाँको साथमा ८–१० जना अरु मान्छे रोजै हुन्थे । बुवालाई समाज सुधारक अभियन्ता भने पनि हुन्छ । उहाँमा आर्थिक, सामाजिक र सांस्कृतिक प्रचुर ज्ञान थियो । अरुले गरेको अन्याय पनि नसहने आफू पनि अन्याय नगर्ने उहाँको स्वभाव थियो । स्वाभाविक हो, एउटाले न्याय पाउँदा अर्कोले आफू अन्यायमा परेको महसुस गर्छ । त्यसैले बुबासँग बेखुसी हुनेहरू पनि थिए होलान् । गाउँबाट कोही बसाइँ सरेर नजाओस् भन्ने मान्यता राख्नुहुन्थ्यो । बोलाएर कहाँ जान्छस्, के नपुगेर जान लागेको, दानदक्षिणा गर्न पाइनस् कि विवाह व्रतबन्ध गर्न सकिनस् कि भनेर सोध्नुहुन्थ्यो । बुवा आफंै आर्थिक सहयोग गर्नुहुन्थ्यो ।

२०२८ सालको ढुंखर्कको जनसंख्या ३८ सय ६२ त थियो । अहिले त ढुुंखर्कको मात्रै ६ हजार तीन सयभन्दा बढी पुगिसकेको सुन्छु । म २०१६ सालमा जन्मेको हुँ, बुवा २०२३ सालमा बित्नु भयो । ६ वर्षको बालकै भएकाले म उहाँहरूबीच हुने कुरा धेरै बुभ्mदिन थिएँ, केटाकेटी त हुँ के चासो हुन्थ्यो र ? तर मान्छेहरूको भिडभाड भएकोमा रमाइलो मान्थें । बुवा बालकृष्ण १९६० सालमा जन्मनुभएको हो । ६३ वर्षमा त बित्नु भयो । उहाँको आनीबानी धेरै सम्झना छैन, तर छोरीलाई पढाउनुपर्छ भन्ने चेत उहाँमा थियो । उतिबेला छोरीचेलीले नाचगान गर्नु हुन्न भन्ने थियो । गाउँघरमा छोरीलाई नचाउँछ भनेर कुरा काट्नेहरू पनि थिए । तर बुवाले मलाई पूजापाठको बेला नाच्न लगाउनु हुन्थ्यो ।

घर नजिकै बेथाञ्चोक नारयण प्राथमिक विद्यालय थियो । त्यो स्कुलमा विजुलीप्रसाद दाइ मास्टर हुनुहुन्थो, म त्यही स्कुलमा पढ्न जान्थें । ३ कक्षासम्म मैले त्यही स्कुलमा पढेकी हुँ । पार्वतीमा एक वर्ष पढेपछि म खोपासीको श्रीराम माध्यमिक विद्यालयमा पढ्न आएँ । हामी केटाकेटी हुँदासम्म छोरीलाई पढाउने चलन गाउँ घरतिर थिएन, तर हामीले पढ्ने अवसर पायौं । बुबा भन्नुहुन्थ्योे– ‘शिक्षा भनेको ज्ञानको ज्योति हो, मुखियाको छोरी त स्कुल गएका छैनन् भने हाम्रा छोरीलाई किन स्कुल पठाउने ? भन्ने मानसिकता गाउँमा फैलन सक्छ, त्यसैले तिमीहरूले कुनै पनि हालतमा पढ्नु र गाउँमा उदाहरण बनेर देखाउनु ।’ छोरीलाई पनि छोरासरह पढाउनुपर्छ भन्ने अभियान आमा मानकुमारीले पनि सुरु गर्नुभयो, तर त्यतिबेला समाज परिवर्तन सजिलो थिएन । मेरी आमाको त्यो सपना ढुंखर्कमा पार्वती बहुमुखी क्याम्पस खुलेसँगै साकार भएको जस्तो लाग्छ । क्याम्पसमा छात्रभन्दा छात्रा धेरै छन् रे भन्ने थाहा पाउँदा मलाई जीवनमै सबैभन्दा धेरै खुसी लागेको थियो ।

माइतीको त कुकुर पनि प्यारो हुन्छ भन्ने उखान नै छ, जब म बानेश्वर चोकतिर निस्कन्छु तब ढुंखर्कको कोही न कोही भेट हुन्छ । आफ्नै माइत पुगे जस्तो लाग्छ । सबै हालखबर सोध्ने गर्छु । क्याम्पस खोल्ने कुराले धेरै खुसी लाग्यो । सक्दो सहयोग गर्ने वचन दिएँ । वास्तवमा ढुंखर्कमा क्याम्पस नखुलेको भए छोरी–बुहारीहरूले उच्च शिक्षा लिने अवसर पाउँदैनथे । बुहारीहरूका लागि त यो क्याम्पस बरदान नै सावित भएको छ । महिला शिक्षित हुनु भनेको परिवार नै शिक्षित हुनु हो, त्यसमा पनि बुहारी शिक्षित हुनु भनेको सिंगो गाउँ तथा समाज नै शिक्षित हुनु हो । वास्तवमा क्याम्पस स्थापनापछि ढुंखर्क क्षेत्रले सर्वाङ्गिण फड्को मारेको छ, यसको एउटा कारण बुहारीहरूले उच्च शिक्षाको अवसर पाउनु हो । छोरीले त जेनतेन पाउँथे होलान्, तर आफ्नो दैलोमा क्याम्पस नभएको भए ढुंखर्क क्षेत्रका बुहारीहरूले कुनै पनि हालतमा उच्च शिक्षाको अवसर पाउँदैनथे । हाम्रो समाजमा बुहारीले टाढा गएर डेरामा बसेर क्याम्पस पढ्न सम्भव छैन भन्दा पनि हुन्छ ।

वास्तवमा बुवाआमाको निधनपछि हाम्रो घरको रौनक सकियो । हामी चार दिदीबहिनी सबैको विवाह भयो । त्यो पुरानो घर मेरो भागमा परेको छ, संरक्षण गर्न पाए हुन्थ्यो, बुवाको सम्झना रहिरहने काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । किनभने मेरो बुवा कसैलाई अन्यायमा पार्नु हुन्नथ्यो । जिल्लाभर उहाँकै चर्चा हुन्थ्यो भन्ने पछि मात्र थाहा पाएको हुँ । ०१५ सालको निर्वाचनमा उहाँ मात्रै कांग्रेसको पक्षमा देखिनु भएको कुरा इन्द्रमणि अधिकारी दाइले सुनाउनु हुन्छ । त्यसबेला ढ्याके ब्याज लिने, घिउ खानी कटाउने चलन खुब चल्थ्योे । तर ब्याज सयकडा १० भन्दा बढी लिन पाउँदैनौ भन्नुहुन्थ्यो बुवा र आपूm पनि लिनु हुन्नथ्यो । कसैले सयकडा ११ लियो भने उसले ठूलै सजाय पाउँथ्यो । गाउँ अत्यन्तै सुरक्षित थियो । हाल बेथाञ्चोक गाउँपालिकाको ४ नम्बर वडा, पार्थलीभन्ज्याङबाट कुनै नयाँ मान्छे ढुंखर्क प्रवेश ग-यो भने को आएको, किन आएको सबै कुरा पत्ता लगाउनु हुन्थ्यो ।

त्यसअनुसारको व्यवहार पनि गर्नुहुन्थ्यो । आमा भन्नुहुन्थ्यो– बा अत्यन्तै उदार स्वभावको हुनुहुन्थ्यो । उहाँकै समयमा बेथाञ्चोक स्कुल खुलेको हो । २०१८ सालमा सरकारी बजेटबाट ठूलाचौर, बाह्रबिसे डाडाँगाउँलगायत ठाउँमा फलामे पाइपबाट १२–१५ ठाउँमा धारा हलिएको थियो । लगभग ढुंखर्क बाह्रविशे दुई किलोमिटर टाढा धापखोलाबाट पानी ल्याएर गाउँलेलाई खुवाइएको थियो । डाडाँगाउँमा अहिले त खानेपानीको दुःख छ, उसबेला कस्तो थियो होला ? हामी त अहिले कल्पना पनि गर्न सक्दैनौं । बुवा–आमाको सामाजिक काम हामीले कति जीवन्त राख्न सक्यौं, कति गर्न सक्यौं, त्यो बेग्लै कुरा हो । तर मलाई ढुंखर्कको जति मायाँ कतै गए पनि लाग्दैन । आफू हुर्के बढेको माइती ठाउँ भएर मात्र होइन, त्यहाँको हावापानी र प्राकृतिक दृश्यले मन जहिल्यै लोभ्याउँछ ।
(गीता शर्मा सामाजिक अभियान्ताको रुपमा परिचित हुनुहुन्छ ।)