पार्वती बहुमुखी क्याम्पस: चुनौती र सम्भावना

पार्वती बहुमुखी क्याम्पस: चुनौती र सम्भावना नमराज घिमिरे ४ कार्तिक २०७८, बिहीबार १०:५३
पार्वती बहुमुखी क्याम्पस: चुनौती र सम्भावना

महभारत पर्वतको काखमा रहेको ढुंखर्क बेथाञ्चोक गाउँपालिकाको केन्द्र र काभ्रेको पर्यटकीय महत्व बोकेको स्थान हो । देशको राजधानी काठमाडौबाट करिब ४६ किलोमिटर मात्र दूरीमा रहेको ढुंखर्क सामाजिक एवं आर्थिक विकासमा अपेक्षाकृत उन्नतिपथ पहिल्याउन भने असफल छ । उच्चपहाडी जनजीवनमा हुर्किएका बेथाञ्चोक निवासीमा भौतिक विकासको उत्कट आकांक्षा हँुदाहुँदै पनि आर्थिक विकासको अवसरको सीमितताले लामो समयसम्म पनि विकासको पथमा निकै पछाडि रहन बाध्य रह्यो । पञ्चायतकालको समय देशकै विकास र चेतनाको क्षेत्रमा एक अन्धकार युगको रूपमा लिइन्छ । बेथाञ्चोकको अविकास उक्त समयको स्वाभाविक बाध्यताको रूपमा व्याख्या गर्न सकिन्छ, तर प्रजातन्त्रको पुनःस्थापनापछि पनि यो क्षेत्रले अपेक्षाकृत प्रगतिपथ समात्न सकेन । दूरदर्शी राजनीतिक नेतृत्वको अभाव र द्वन्द्वको उच्च प्रभावयुक्त स्थान भएकाले पनि भौतिक विकासको यात्रामा अवरोध देखियो । यस्तो राजनीतिक एवं सामाजिक वातावरणमा पनि यो क्षेत्रले शैक्षिक विकासमा निरन्तरको संघर्षको उपजको रूपमा महत्वपूर्ण पहिचान स्थापित गरेको छ । पञ्चायतकालमै पनि शिक्षाका लागि गाउँमा माध्यमिकस्तरको विद्यालय सञ्चालनमा आएको थियो ।

गाउँमा माध्यमिकस्तरको शिक्षाको अवसर उपलब्ध नहँुदा पनि हालको बेथाञ्चोक गाउँपालिका–१ को साविक च्याम्राङ्बेसी, वडा नम्बर ४ भएको साविक चलाल गणेशस्थान, बेथाञ्चोक गाउँपालिका–५ साविक च्यासिंखर्क र बेथाञ्चोक गाउँपालिका–६ भुग्देउका जनताले कृषिकर्मबाट प्राप्त सीमित आर्थिक सामथ्र्यमा आफ्ना सन्ततीलाई खोपासी, पनौती, काठमाडौंलगायत ठाउँमा विद्यालयमा पढाउन पठाएका थिए । उनीहरूले आफ्नो शैक्षिक चेतनाको परिचय दिएका थिए । पुर्खाको यही शिक्षाप्रतिको महान चेतनाको फलस्वरूप आज देश–विदेशमा पुगेका बेथाञ्चोक गाउँपालिकावासी गाउँको शैक्षिक विकासमा हरतरहको सहयोग र संलग्नतामा सक्रिय छन् । यो नै हाम्रो भरोसा हो, खुसी हो । दुर्गम यस क्षेत्रमा उच्च शिक्षाको बिगुल बजाउने संस्थाको रूपमा पार्वती बहुमुखी क्याम्पस विगत आठ–नौ वर्षदेखि निरन्तर संघर्षरत छ । अब क्याम्पसले खुट्टा टेक्छ भन्ने लागेको छ ।

उच्च शिक्षाको संघर्षपूर्ण यात्रा
विकासको महत्वपूर्ण मुख्य सूचकमध्ये शिक्षा एक हो । शैक्षिक संस्थाहरूको सञ्चालनबाट गाउँमा शैक्षिक उन्नयनको हुने त छँदैछ, बाहिरबाट हेर्नेहरूका लागि पनि धेरै शैक्षिक संस्था भएका गाउँबस्तीप्रतिको दृष्टिकोण सकारात्मक एवं प्रतिष्ठापूर्ण हुने गर्छ । आज निःशुल्क र अनिवार्य आधारभूत शिक्षा राष्ट्रिय प्रतिबद्धता भएकाले काभ्रेको बेथाञ्चोक निवासीहरूका सन्ततीहरू निरक्षर रहनुपर्ने अवस्था छैन । तर उच्च शिक्षाको अवसरलाई सबैको पहुँचमा पु¥याउनु अझै चुनौतीपूर्ण छ । यस क्षेत्रको आवश्यकता र प्रतिष्ठा दुवैको ख्याल गर्दै बेथाञ्चोकवासीले मावि, उच्च मावि र क्याम्पस स्थापना गर्न महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

गाउँपालिकाभित्रका उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या र उत्तीर्ण दरका आधारमा विश्लेषण गर्दा पार्वती बहुमखी क्याम्पसलाई स्वतन्त्र रूपमा आफ्नै आम्दानी र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने नियमित अनुदानकै भरमा सञ्चालन गर्न निकै कठिनाइ हुने देखिन्छ । यद्यपि शिक्षा क्षेत्रको लगानीलाई विशुद्ध वित्तीय विश्लेषणमा मात्र हेर्नु हुँदैन । यसले प्रदान गर्ने सामाजिक मूल्य र गाउँपालिकाको प्रतिष्ठासँगसमेत यो विषय जोडिएको हुन्छ ।

उच्च शिक्षाको अवसरलाई आमबेथाञ्चोकवासीको पहुँचमा पु¥याउने प्रतिबद्धताअनुसार क्याम्पस स्थापनाको पहल सुरु गरेको एक वर्ष पुग्दा नपुग्दै २०६९ फागुन २२ गते त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको थियो, जुन कठिनताको उपज हो । ढुंखर्कवासीका लागि यो ऐतिहासिक र प्रतिष्ठापूर्ण उपलब्धि थियो । आफ्नै घर–दैलोमा स्नातक तहसम्मको अध्यायन गर्न पाउने अवसर जुटाउन हामी सफल भएका थियांै । त्यो ऐतिहासिक उपलब्धिलाई कसरी संस्थागत गर्ने, क्यम्पसको समग्र विकासका लागि हाम्रो दायित्व के हुने भन्ने विषय हाम्रा लागि मुख्य चुनौती भएको छ । बेथाञ्चोक गाउपालिकाका माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालयमा रहेका विद्यार्थी संख्या र उच्च शिक्षाप्रतिको ढुंखर्कवासीको उच्च आकांक्षाले पनि हामीलाई क्याम्पस स्थापनाका लागि हौसला प्रदान गरेको हो । स्थापनाकै वर्ष क्याम्पसमा ४५ जना विद्यार्थी भर्ना हुनुलाई उत्साहजनक नै मान्नुपर्छ । त्यसमा पनि व्यवस्थापन बीबीएस र शिक्षा बीएड विषयको पढाइ हुने बहुमुखी क्याम्पस एकैचोटि स्थापना हुनु हाम्रा लागि खुसीको कुरा हो । कुनै पनि शिक्षण संस्थाको उन्नतिका लागि पहिलो पूर्वाधार भनेको विद्यार्थी तथा शिक्षकहरू नै हुन् ।

दोस्रो, पूर्वाधार भनेको भौतिक हो । भौतिक पूर्वाधारका रूपमा हामीसँग १४ रोपनी जग्गा मात्रै छैन, हामीसँग क्याम्पस भवन निर्माणको कार्य पनि सुरु भइसकेको छ । दुई ढलान भई प्लाष्टर, रंगरोगन, बत्तिको काम सम्पन्न भैसकेको छ । अब तेस्रो तला ढलान हुने क्रममा छ । यो क्याम्प भवनलाई उदाहरणको रुपमा प्रश्तुत गर्ने गरिएको छ । विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदान तथा अन्य सरकारी तथा गैरसरकारी संघ–संस्था र दानवीरहरूको सहयोगमा क्याम्पस भवनलगायतका पूर्वाधार निर्माण गर्नेतर्फ क्याम्पस सञ्चालक समिति र समग्र गाउँपालिका दृढसंकल्पित रहेको देखिन्छ । क्याम्पसले उपयोग गर्ने गरी स्थानीय खहरे सामुदायीक वन उपभोक्ता समितिले उपलब्ध गराएको ४० रोपनी वन क्षेत्र पनि क्याम्पसकै भौतिक सम्पत्ति हो ।

क्याम्प सञ्चालनार्थ शैक्षिक संस्थाको अवस्था
बेथाञ्चोक गाउँपालिकाका ढुंखर्क, च्याम्राङबेसी, च्यासिङ्खर्क, भुग्देउ र चलाल गणेशका जनतालाई पायक पर्ने गरी स्थापना गरिएका कारण यस क्षेत्रको एक मात्र क्याम्पसको भविष्य उज्ज्वल नै देखिन्छ । त्यसमा पनि यी बेथाञ्चोक गाउँपालिका आफैमा विकासशील गाउँपालिका हो । गाउँपालिकामा स्नातकसम्मको अध्ययन–अध्यापन गराउने उच्च शैक्षिक संस्थाको दिगोपनाका लागि गाउँपालिकाभित्रका स्नातक तहसम्मको शिक्षा लिने विद्यार्थीहरूको संख्या हरेक वर्ष कम्तीमा दुई सय भयो भने मात्र विद्यार्थीकै शुल्कबाट क्याम्पस चल्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । तर हाल गाउँपालिकाभित्रका उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या र उत्तीर्ण दरका आधारमा विश्लेषण गर्दा पार्वती बहुमखी क्याम्पसलाई स्वतन्त्र रूपमा आफ्नै आम्दानी र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने नियमित अनुदानकै भरमा सञ्चालन गर्न निकै कठिनाइ हुने देखिन्छ । यद्यपि शिक्षा क्षेत्रको लगानीलाई विशुद्ध वित्तीय विश्लेषणमा मात्र हेर्नु हुँदैन । यसले प्रदान गर्ने सामाजिक मूल्य र गाउँपालिकाको प्रतिष्ठासँगसमेत यो विषय जोडिएको हुन्छ । अहिले गाउँपालिकामा भएका उच्च माविमध्ये बीच भागमा रहेको पार्वती क्याम्पस हामी सबैको प्रतिबद्धता भयो भने राम्रोसँग चल्न सक्छ ।

१२ को जाँच दिनेमध्ये ७० जना पास भएको केही संख्या नै हाम्रो क्याम्पसको मूल आधार हो । छिमेकी उच्च माविका विद्यार्थी संख्या पनि २५–२५ भन्दा बढी छैन । यी उच्च माविबाट उत्तीर्ण हुने विद्यार्थीमध्ये कति स्थानीय कलेजमा पढ्छन्, कति रोजगारका लागि अन्यत्र जान्छन् । त्यसको संख्या एकिन गर्नु र स्थानीय कलेजमै पढ्ने वातावरण बनाउनु हाम्रा लागि चुनौती हो ।

ढुंखर्कको पार्वती उच्च माविमा करिब एक सयजना विद्यार्थी हुनेछन् भने १२ को जाँच दिने ७० मध्ये पास भएको केही संख्या नै हाम्रो क्याम्पसको मूल आधार हो । छिमेकी उच्च माविको विद्यार्थी संख्या पनि २५–२५ भन्दा बढी छैन । यी उच्च माविबाट उत्तीर्ण हुने विद्यार्थीमध्ये कति स्थानीय कलेजमा पढ्छन्, कति रोजगारका लागि अन्यत्र जान्छन् । त्यसको संख्या एकिन गर्नु र स्थानीय कलेजमै पढ्ने वातावरण बनाउनु हाम्रा लागि चुनौती हो । १२ कक्षा पास गरेका छोराछोरीले आर्थिक उपार्जनको लाइन समातुन् भन्ने हरेक अभिभावकको चाहना हुन्छ । तर कृषिबाहेक स्थानीय क्षेत्रमा रोजगारीको अको कुनै अवसर छैन । त्यसैले सीपमूलक प्राविधिक विषयलाई पनि समेट्नु अनिवार्य छ । केही वर्ष पहिले ढुंखर्क आउनु भएका शिक्षा क्षेत्रका पायोनियर, शिक्षाविद् डा.सुरेशराज शर्माले प्राविधिक विषय समावेश गर्न र त्यसका लागि पहल गर्न सल्लाह दिनुभएको कुरा स्मरणीय छ ।

सडक तथा बिजुलीको पूर्वाधारका कारण नगदे बाली, तरकारी बाली, पशुपन्छी पालनलगायतका अवसरहरू गाउँमै प्राप्त भएकाले स्थानीय जनताको आयस्तर सन्तोषजनक नै मान्नुपर्छ । तर यसले अझै व्यावसायिक आकार लिइनसकेका कारण उन्नत अवस्था आउन सकेको छैन । आफ्ना सन्तानलाई स्नातक तहसम्मको शिक्षा दिलाउन सक्ने आर्थिक हैसियतमा यस क्षेत्रका धेरैजसो अविभावक छन् । जसको आर्थिक हैसियत पुगिसकेको छैन, तिनका छोराछोरी तथा बुहारीका निम्ति निःशुल्क रूपमा क्याम्पस पढ्ने तथा बाँकी समयमा आयआर्जन गर्ने ढोका खोल्न सक्यौं भने हाम्रो प्रयत्नले सार्थकता पाउने छ । यो सबै प्रयत्नका लागि अनिवार्य भनेको आर्थिक स्रोत नै हो ।

उच्च शैक्षिक संस्थाको दिगोपनाका लागि गाउँपालिकाभित्रका स्नातक तहसम्मको शिक्षा लिने विद्यार्थीहरूको संख्या हरेक वर्ष कम्तीमा दुई सय भयो भने मात्र विद्यार्थीकै शुल्कबाट क्याम्पस चल्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

गाउँमा उच्च शिक्षाको अवसर हुँदा गाउँका आर्थिक रूपले विपन्न र समुदाय, दलित, जनजाति र महिला (छोरी तथा बुहारीहरू) लाई समेत उच्च शिक्षा प्राप्त गरी व्यक्ति, परिवार र समग्र गाउँको विकासमा ठूलो योगदान पुग्ने विषय क्याम्पस सञ्चालनको विगतको अनुभवबाट पनि प्रस्ट भइसकेको छ । बद्लिँदो शासकीय पद्धतिमा अब गाउँपालिका एक स्वायत्त सरकारको रूपमा स्थापित भएको छ । गाउँमै सरकारको उपस्थिति भएको मात्र होइन, गाउँपालिकाले आफ्नो क्षेत्रमा शिक्षासम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्नसक्ने वातावरण बनेको छ । यद्यपि संविधानले आधारभूत तथा माध्यमिक शिक्षा मात्र स्थानीय तहको अधिकार सूचीमा सूचीकृत गरेको होस् । गाउँपालिका गठन भएसँगै विशेषगरी गाउँपालिका केन्द्रमा भौतिक पूर्वाधार निर्माणको अभियान नै सुरु भएको छ । स्रोतसाधनको उच्च परिचालनबाट सडक, बिजुली तथा अन्य पूर्वाधारहरूको निर्माणले गति लिएको छ । निजी क्षेत्रले उद्योग तथा अन्य सेवाका क्षेत्रमा लगानी बढाएका छन् । यसबाट गाउँपालिका क्षेत्रमै रोजगारीका अवसरसमेत वृद्धि भएका छन् । यो परिवर्तित राजनीतिक, शासकीय, आर्थिक एवं सामाजिक रूपान्तरणको ठूलो अवसर हो ।

वैदेशिक रोजगारीको अवसर र राष्ट्रव्यापी वैदिशिक रोजगारी मानसिकताले उच्च शिक्षा अध्ययन गर्ने उमेरका धेरै युवा वैदेशिक रोजगारीमा जान उत्सुक र विवश पनि छन् । उच्च शिक्षाको विश्वविद्यालय स्तरको पाठ्यक्रम र शैक्षिक क्रियाकलापले पनि स्वरोजगारी उद्यमशील जनशक्ति उत्पादन गर्नुभन्दा जागीरमुखी बेरोजगार उत्पादनमा जोड दिएको महसुस् हुन्छ । सहरको सुगम पँहुच, आफ्ना परिवारका अग्रजहरू तथा छिमेकी साथीभाइहरू समेत विद्यालय शिक्षा पूरा गर्नेवित्तिकै व्यापार वा व्यवसाय गर्न सहर पस्ने कारणले विद्यालय शिक्षा पूरा गरेपछि पनि गाउँमै बसेर थप अध्ययन गर्ने इच्छा प्रायः युवामा नहुनु स्वाभाविक पनि हो । संघर्ष गर्नुपरे पनि बरु सहरमै गर्छु र आफू तथा आफ्ना भावी सन्ततीका लागि सहज जिवनको अभिलासा राख्नु नौलो विषय होइन । त्यसमा पनि हाल गुणस्तरीय शिक्षाका लागि गाउँमै खेती किसानी वा बन्दव्यापार वा जागिरमै रहेका अविभावकहरूले आफ्ना छोराछोरीलाई सहरका बोर्डिङ स्कुलमा भर्ना गर्ने प्रतिस्पर्धाको कारण गाउँमा उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई रोकिराख्न कठिन बन्दै गएको छ ।

दीर्घकालीन रूपमा क्याम्पस सञ्चालन
बेथाञ्चोक गाउँपालिकाको पार्वती बहुमुखी क्याम्पस सञ्चालनमा आएको लामो समय भइसकेको र गाउँपालिकामा शिक्षाप्रतिको गहिरो चासोले यो क्याम्पस सञ्चालनमा तत्कालै ठूलो अवरोध आउला भन्ने छैन । तर क्याम्पस सञ्चालनको दिगो र भरपर्दो स्रोतको सुनिश्चितता नगर्ने हो भने भोलिका दिनमा यो क्याम्पस सञ्चालन गाउँपालिकाका लागि ठूलो टाउको दुखाईको विषय बन्न सक्छ । उच्च शिक्षा भनेको सक्षम व्यक्तिले लिने हो र यसमा राज्यले धैरै ठूलो लगानी गर्नुहुन्न भन्ने एकथरी विचार विश्वमै पनि बढ्दै गएको छ । त्यसमा पनि साधारण विषयका उच्च शिक्षाका प्रमाणपत्रले समाज र देशको आर्थिक विकासमा प्रत्यक्षतः ठूलो योगदान दिन सक्दैन । विश्वमा बढ्दै गएको मानव पुँजी निर्माणमा राज्यको लगानी भन्ने धारणा पनि उच्च सीपयुक्त उत्पादनमूलक जनशक्ति निर्माणका लागि आएको धारणा हो । तसर्थ पार्वती बहुमुखी क्याम्पसलाई केवल प्रतिष्ठाकै धरोहरका रूपमा मात्र लामो समय सञ्चालन गर्नु सम्भव पनि हुँदैन । यो अर्थशास्त्रीय दृष्टिकोणबाट उचित पनि ठहरिँदैन । अतः क्याम्पस सञ्चालनको दिगोपनाका लागि ठोस नीति तथा कार्यक्रम र सोहीअनुसारको कार्यान्वयन संयन्त्र निर्माण गर्नु जरुरी हुन्छ ।

शैक्षिक संस्थाहरूको सञ्चालनबाट गाउँमा शैक्षिक उन्नयनको विकास हुने त छँदैछ, बाहिरबाट हेर्नेहरूका लागि पनि धेरै शैक्षिक संस्था भएका गाउँबस्तीप्रतिको दृष्टिकोण सकारात्मक एवं प्रतिष्ठापूर्ण हुने गर्छ ।

पार्वती बहुमुखी क्याम्पस सञ्चालनको मुख्य आधार अन्य शैक्षिक संस्थाकै जस्तो विद्यार्थीबाट संकलित शुल्क मात्र हुन सक्दैन । किनकि माथि नै चर्चा गरिसकियो कि क्याम्पसको प्रभाव क्षेत्रको विद्यार्थी संख्या यसको लागि वर्तमानमै पर्याप्त छैन र निकट भविष्यमै यो संख्या तयार हुने अवस्था पनि देखिंँदैन । यस्तो अवस्थामा गाउँपालिकाले क्याम्पस सञ्चालनको दायित्व वृद्धि गर्नुको विकल्प छैन । गाउँपालिकाले आफंै स्रोत परिचालन गर्न सक्ने संवैधानिक एवं कानुनी व्यवस्था रहेकाले अबका दिनमा गाउँपालिकाले आफ्ना प्राकृतिक एवं वित्तीय स्रोतहरू सञ्चालनको नीति तथा कार्यक्रम निर्माण गर्दा क्याम्पसको दिगोपनाको प्रत्याभूतिका प्रावधान निर्माण गर्न सक्छ । यसका लागि गाउँपालिकाले गाउँकै क्याम्पसमा उच्च शिक्षा लिने विद्यार्थीलाई गाउँपालिकामा सिर्जना हुने सार्वजनिक क्षेत्रका रोजगारीका अवसरमा प्राथमिकता दिने नीति बनाउन सक्छ । त्यसैगरी गाउँकै क्याम्पसमा आफ्ना छोराछोरी पढाउने अविभावकहरूलाई सार्वजनिक सेवामा सहुलियत तथा अन्य आकर्षणका कार्यक्रम निर्माण गर्न सक्छ । गाउँपालिकाको प्राकृतिक स्रोत परिचालन गर्दा त्यसको निश्चित हिस्सा क्याम्पस सञ्चालन कोषमा जम्मा गर्ने अनिवार्य व्यवस्था गर्न सक्छ । गाउँमै रोजगारीका अवसर सिर्जना गर्न लगानी आकर्षण गर्न निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माणसँगै विभिन्न किसिमका छुट वा प्रोत्साहन गर्न सकिन्छ । गाउँमा विगत लामो समयदेखि चलिआएको परम्परागत खेतीलाई व्यावसायीकरण गरी युवालाई गाउँमै टिकाउने र बाहिर गई व्यवसाय गरी बसेकालाई गाउँ फर्काउने नीति कार्यान्वयन गर्न सक्छ ।

निष्कर्ष:
शिक्षा मानव जातिको सबैभन्दा महत्वपूर्ण आवश्यकता र गुण दुवै हो । शिक्षित जनशक्ति नै देश तथा समुदाय निर्माणको नेतृत्वकर्ता हो । शिक्षाले व्यक्तिको उज्ज्वल भविष्यको निर्माण गर्न सघाउछ । सामाजिक विकास, सांस्कृतिक रूपान्तरण र मानव मूल्य निर्माणमा योगदान गर्दछ । विश्वका कुनै पनि विकसित समाज शिक्षाविना सम्भव भएको इतिहास भेटिएको छैन । त्यसैले विकसित देश र आधुनिक समाजमा शिक्षामा ठूलो लगानी गर्ने होड चलेको छ । कतिपय विकसित देशको कुल गार्हस्थ उत्पादनमा शिक्षाको ठूलो योगदान रहेको छ । आधारभूत तथा माध्यमिक शिक्षा राज्यको दायित्वमा परेता पनि उच्च शिक्षामा निजी लगानी सवैले स्वीकार गरेको नीति हो । अतः बेथाञ्चोक गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा स्थापित विश्वविद्यालयस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको दीर्घकालीन सञ्चालनको ठोस आधार तयार गर्नु जरुरी छ ।
(काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक निबासी नमराज घिमिरे हाल यातायात व्यवस्था विभागको महानिर्देशक हुनुहुन्छ ।)