तरुण खबर
४ कार्तिक २०७८, बिहीबार ११:१३
काठमाडौं । नेपाली काँग्रेसले विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको छ । बाडी पहिरोबाट दर्जनौं जिल्लामा ७७ जनाको मृत्यु, २६ जना वेपत्ता, कयौं घाइते र हजारौं विस्थापित हुन पुगेको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गर्दछ भनेको छ । थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली काँग्रेस अपील गर्दछ । प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति नेपाली काँग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
त्यतै, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक वक्तव्य जारी गर्दै अविरल वर्षाले बाढी पहिरो गएका कारण नेपाली काँग्रेसका जिल्ला सभापतिहरुसँग समन्वय गरी सम्बन्धित जिल्लाका बाडी पीडितलाई सहयोग गर्न अनुरोध गरेका छन् । केही दिनदेखि धनकुटा, कैलाली, बझाङ, बैतडी, कञ्चनपुर, गोरखा, धनुषा, मोरङ, सुनसरी, डोटी, कालिकोट, डडेलधुरा, अछाम, जुम्ला, पाल्पा, दाङ, गुल्मीलगायत देशका विभिन्न ठाउँमा हामीले ठूलो जनधनको क्षति व्यहोरी रहेका छौं । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन लगातार वर्षा हुने पूर्वानुमान विभागले जनाएको छ । प्रदेश–१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ । केही दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको हो । हिजै (बुधबार) मात्र ५० भन्दा बढीको निधन भएको छ । यो संख्या थप बढ्न सक्ने प्रदेश–१ का डीआईजी अरुणकुमार बिसीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार प्रदेश–१ मा बेपत्ता हुनेको संख्या बुधबार साँझसम्ममा २७ पुगेको छ । प्रदेश १ को सबैभन्दा बढी पाँचथरमा बुधबार साँझसम्म २१ जनाको मृत्यु भएको थियो ।
यस्तो विकराल समयमा खोला, नदी–नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ । त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दल जिल्ला समिति, नगर समिति, क्षेत्रिय समिति, वडा इकाई समिति एवं स्थानीय तहका सम्पूर्ण तरुण साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ अध्यक्ष बस्नेतले भनेका छन् । साथै, यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भ्रातृ संगठनसँग पनि आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।


