बिहीबारदेखि मौसममा सुधार हुने मौसमविद्हरुको दावी

बिहीबारदेखि मौसममा सुधार हुने मौसमविद्हरुको दावी तरुण खबर ४ कार्तिक २०७८, बिहीबार ११:१६
बिहीबारदेखि मौसममा सुधार हुने मौसमविद्हरुको दावी

काठमाडौं । कम्तीमा ७७ जनाको ज्यान जानेगरी आएको बेमौसमी भनिएको पछिल्लो वर्षाको प्रवृत्ति बुधवारबाटै कमजोर बनेको र बिहीवारबाट त्यसमा उल्लेख सुधार आउने मौसमविद्हरूले बताएका छन् । आइतबारयता आएको वर्षाले नेपालका १९ जिल्ला प्रत्यक्ष असर परेकोमा १३ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयका प्रवक्ता र विभिन्न सञ्चार माध्यमले जानकारी दिइरहेका छन् ।

अस्तव्यस्त यातायात
यसले खासगरी देशका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा कयौँ सडक खण्डहरू अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । त्यसरी अवरूद्ध भएका सडकहरू अधिकांशजसो दुई–तीन दिनभित्र सञ्चालनमा ल्याउन सकिने आफूहरूको अपेक्षा रहेको अधिकारीहरूको भनाइ छ । सडक विभागका अनुसार अवरुद्ध भएका मुख्य सडकहरूमा धरान–धनकुटा, खोड्पे–बझाङ, स्याउले–डोटी, अछाम–मार्तडी लगायत छन् । मनसुनी वर्षाबाट बिग्रिएर केहीअघि मात्र सञ्चालनमा आएको गण्डकी प्रदेशको बेसीशहर–मनाङ सङक खण्डका पुरानै ठाउँमा असर देखिएर अवरुद्ध भएको विभागका अधिकारीहरूको भनाइ छ । कर्णाली राजमार्ग तथा मध्य पहाडी राजमार्गको सिन्धुली र ओखलढुङ्गामा समेत पहिरोले अवरोध पु-याएको बताइएको छ । सामान्य भासिएको वा पहिरो मात्र पन्छाउनुपर्ने ठाउँका हकमा दुईदेखि तीन दिनभित्र सडक खुलाउन सकिने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । यो दुई तीन दिनभित्र खुलाउन सकिने देखिन्छ । धेरै ठूलो क्षति छैन । अघिल्लो बर्खाका बेला भएको जस्तो क्षति भएको छैन– थापाले भने ।

बझाङमा पहिरो, बेपत्ता भएकाहरुको खोजीकार्य जारी
अधिकारीहरुका अनुसार धेरै क्षति भएको सडकमा हुलाकी राजमार्गको राजापुर र टीकापुर जोड्ने खण्ड पर्छ जहाँ एक ठाउँमा कर्णाली नदीले धार नै परिवर्तन गरेको हुँदा बनाउन एक महिनासम्म लाग्नसक्छ । पूर्वी पहाडमा मुख्य सडक जोड्ने ससाना सडक खण्डहरू धेरैतिर अवरुद्ध रहेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताएका छन् ।

मौसममा सुधार: नेपालमा पूर्वबाट प्रवेश गरेको बङ्गालको खाडीमा विकसित प्रणाली र पश्चिमबाट प्रवेश गरेको मध्य भारतमा रहेका न्यून चापीय पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव यो साता देखिएको बताइन्छ । त्यसैले त्यसको प्रभाव ती दुवैको प्रवेश विन्दुमा उच्च देखिएको मौसमविदहरू बताउँछन् । तर बिहीवारबाट त्यो कमजोर हुने बताउँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् वरुण पौडेल भन्छन्– सुदूर पश्चिम र कर्णाली प्रदेशमा बुधवारबाटै पानी पर्ने क्रम रोकिएको छ । पानी पार्ने मौसम प्रणाली पश्चिमबाट क्रमशः पूर्वतिर सरिरहेको छ । बिहीवारबाट मौसममा सुधार हुनेछ र धेरै ठाउँमा घाम लाग्नेछ ।

राहत घोषणा
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले यस विपदमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग, जमिन गुमाउनेलाई जग्गा र घाइतेको निःशुल्क उपचार गर्ने जनाएको छ । परिवारको कोही दिवंगत भएको भए दुई लाख रुपैयाँ राहत दिने र सोही परिवारका थप अरू दिवंगत भएको भए थप एक लाख दिने निर्णय भएको छ– गृहमन्त्री बालकृष्ण खाँणले बताए । उद्धार तथा राहतमा यतिखेर तीनवटै सरकार मिलेर काम गरिरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तह मिलेर उद्धारकार्य भइरहेको छ उनले भने ।