दक्षिण एशियाका मुलुकहरुले कोरोनाविरुद्धको कसले कति खोप लगाए ?

दक्षिण एशियाका मुलुकहरुले कोरोनाविरुद्धको कसले कति खोप लगाए ? तरुण खबर ५ कार्तिक २०७८, शुक्रबार २०:४२
दक्षिण एशियाका मुलुकहरुले कोरोनाविरुद्धको कसले कति खोप लगाए ?

काठमाडौं । नेपालमा बुधवारसम्म कुल जनसङ्ख्या २ करोड ९८ लाख १७ हजार ३०९ को २१.४ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको ३० प्रतिशतलाई खोप दिइसक्ने लक्ष्य लिएकोमा कार्तिक ३ गतेसम्म २९.८ प्रतिशतले पाएका छन् ।

धनी र गरिब देशबीच खोपको असमान वितरणका कारण कोभिड महामारी लम्बिन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले बिहीवार सचेत गराएको छ । द पिपुल्स च्यारिटिजको ताजा तथ्याङ्कलाई उदृत गर्दै डब्ल्यूएचओले जनाएअनुसार विश्वमा सबैभन्दा कम अफ्रिकी महादेशमा खोप पुगेको छ । अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले खोप पाउँदा उच्च तथा मध्यम आय भएका अधिकांश देशमा ४० प्रतिशतले खोप पाइसकेका छन् ।

दक्षिण एशियामा कहाँ कति ?
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार दक्षिण एशियाली मुलुकमध्ये पूर्ण खोप लगाउनेहरूको प्रतिशत भुटानमा सबैभन्दा उच्च रहेको छ । भुटानको कुल जनसंख्या ७ लाख ८० हजार ८१९ जना छन् । त्यहाँ अहिलेसम्म कुल जनसङ्ख्याको ६५.८२ प्रतिशतले पूर्ण मात्रा खोप पाइसकेका छन् । भुटानपछि ५ लाख ५० हजार ८५० जनसंख्या भएको माल्दिभ्समा ६५.८२ प्रतिशतले र २ करोड १५ लाख १० हजार ७१२ जनसंख्या भएको श्रीलङ्कामा ५८.५६ प्रतिशतले पूर्ण मात्रा खोप पाइसकेको तथ्याङ्क छ ।

दक्षिण एशियामा चौथो स्थानमा रहेको नेपालमा कार्तिक ३ गतेसम्म २१.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो मात्रा खोप पाउनेहरूको प्रतिशत २८.२ छ । नेपालपछि १ अर्ब ३९ करोड ४७ लाख १६ हजार ५४६ जनसंख्या भएको भारतमा २०.५५ प्रतिशतले र २२ करोड ५५ लाख ३३ हजार ३७६ जनसंख्या भएको पाकिस्तानमा १६.०७ प्रतिशतले पूर्ण मात्रा खोप पाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा छ । १६ करोड ६४ लाख ६८ हजार ५०३ जनसंख्या भएको बाङ्ग्लादेशमा अहिलेसम्म ११.४९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने सबैभन्दा कम ३ करोड ९८ लाख ७६ हजार २८८ जनसंख्या भएको अफगानिस्तानमा १.१३ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप पाएका छन् ।

नेपालमा कुनकुन खोप लगाइँदैछ ?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोभिशील्ड, भेरो सेल, जोन्सन एन्ड जोन्सन, जापानी आस्ट्राजेनेका र स्वीडिश आस्ट्राजेनेका खोप लगाइएको छ । अनुदान सहयोगमा प्राप्त गर्नुबाहेक नेपालले भारतबाट कोभिशिल्ड र चीनबाट भेरो सेल खरिद पनि गरेको छ । खोप अभियान सुरु भएयता कार्तिक ३ गतेसम्म डेढ करोडभन्दा बढी मात्रा खोप लगाइसकिएको छ । स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार त्यसमध्ये ६१ प्रतिशत हिस्सा चीनमा उत्पादित भेरो सेलको रहेको छ । त्यसबाहेक २९ प्रतिशत आस्ट्राजेनेका र १० प्रतिशत जोन्सन एन्ड जोन्सन खोपको हिस्सा रहेको छ ।

नेपालले अनुदानमा सबैभन्दा बढी खोप चीनबाट भेरो सेल पाएको मन्त्रालयले जनाएको छ । चीनले सुरुतिर १८ लाख मात्र अनुदानमा दियो भने अनुदानकै १६ लाख मात्र आउने क्रम जारी रहेको चिनियाँ दूतावासको विवरणमा छ । त्यसपछि अर्को १० लाख मात्रा पनि अनुदानमा दिने चिनियाँ घोषणा छ । केही दिनअघि मात्रै नेपालका परराष्ट्रमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ विदेशमन्त्रीले अर्को २० लाख मात्र अनुदानमा दिइने घोषणा गरेका थिए ।

त्यसबाहेक नेपालले चीनबाट एक करोड मात्रा खोप खरिद गरेको छ । खोप अभियान थाल्दा सुरुसुरुमा कठिनाइ भएको स्वास्थ्य अधिकारीहरू स्वीकार्छन् । तर अहिलेको उपलब्धिमा खासगरी उत्तरी छिमेकी चीनको भूमिका सराहनीय रहेको उनीहरू बताउँछन् । चीनबाट हामीले भेरो सेलको जुन मात्रा प्राप्त ग¥यौँ त्यसले धेरै हदसम्म हामीलाई राहत पु¥यायो– महाशाखा प्रमुख लालले विभिन्न सञ्चार माध्यमसँग भनेका थिए । पछि उत्पादनहरू बढ्न थालेर कोभ्यासमार्फत् थप खोप आउन थालेकोले पनि अभियानमा सघाउ पुगेको उनले बताए । नेपालको खोप अभियान तुलनात्मक रूपमा राम्रो देखिनुमा राजनीतिक प्रतिबद्धतासँगै चिनियाँ सदाशयताको भूमिका महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । यसमा चीनले निकै उदारता देखायो । हामीले जति मात्रा चीनबाट खोप किन्यौँ उस्तैउस्तै उसले अनुदानमा पनि दिने भयो । जनस्वास्थ्यविद् डा. शरदराज वन्तका अनुसार नेपालले खोपको मामिलामा अहिलेको भन्दा राम्रो गर्न सक्थ्यो ।

खोपका लागि सुरुका दिनदेखि अलि बढी मेहनत गरेको भए कूटनीतिक रूप अझै सक्रियता देखाएको भए झन् राम्रो गर्न सक्थ्यो डा. वन्तले भने । प्रतिशतको हिसाबले दक्षिण एशिया चौथो स्थानमा देखिनु नै ठूलो कुरा नभएको उनको तर्क छ । अनुपातकै हिसाबले भन्ने हो भने भुटानले दुईतिहाइभन्दा बढीलाई खोप दिइसकेको छ भने हाम्रो एकतिहाइ पनि पुगेको छैन नि डा.वन्तले थपे ।