ढुंखर्कको त्यो शिक्षा, पत्रकारिता र पर्यटकीय सम्भावना

ढुंखर्कको त्यो शिक्षा, पत्रकारिता र पर्यटकीय सम्भावना भीम गौतम ५ कार्तिक २०७८, शुक्रबार २०:४६
ढुंखर्कको त्यो शिक्षा, पत्रकारिता र पर्यटकीय सम्भावना

२०४६ सालको बहुदलीय प्रजातन्त्रका लागि भएको आन्दोलनको बेला म बेथाञ्चोक गाउँपालिका–३ ( साविक ढुंखर्क गाविस) को कृष्णगोपाल माविमा कक्षा ३ पढ्दै थिएँ । त्यही हो, क देखि ज्ञसम्म सिकेको । एबीसीडी त ४ कक्षा पुगेपछि बल्ल सिक्न थालेको हो । ९÷१० वर्षको त्यो उमेरमा हामीलाई आन्दोलन भनेपछि औधि रमाइलो लाग्थ्यो । वीरे चोर, देश छोड भनेर नारा लगाउन लाउँथे, झण्डा बोकेर आफ्नै गोर्खाली गाउँदेखि कहिले च्याल्टी त कहिले गेल्डुङतिरसम्म कुद्ने गथ्र्यौं । वीरे भनेको को हो, हामीलाई केही थाहा थिएन । पछि पो बुझ्यौ, वीरे भनेर तत्कालीन राजा वीरेन्द्रलाई भनिएको रहेछ । कक्षा ४ पछि च्यासिंखर्कस्थित च्याल्टीमा रहेको आत्मा विकास माविमा भर्ना भएर त्यहीँबाट मैले २०५४ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेको हुँ । खोपासीको श्रीराम मावि हाम्रो परीक्षा केन्द्र थियो ।

एसएलसी उत्तीर्ण भएपछि पढ्नकै लागि काठमाडौं आएपछि दिउँसो जागिर खाएर पढ्न तथा घर खर्च जुटाउन म रत्नराज्य लक्ष्मी (आरआर) कलेजमा रात्री समूहमा भर्ना भएको थिएँ । एसएलसी पास भए पनि कलेज कसरी पढ्ने, के पढ्ने कौतुहलता थियो । भर्नाका लागि फर्म भर्न पनि गाह्रो थियो । फर्म भर्ने बेलामा एकजना साथीको फर्म हेर्दा पत्रकारिता भरिएको रहेछ । गाउँबाट भर्खर शहर पुगेको मेरो लागि पत्रकारिता धेरै टाढाको विषय थियो तर अर्को फर्म भर्ने साथीलाई सोधें । उसले यो समाचार संकलन गर्न सिकाउने विषय हो भन्यो । फेरि पनि बुझिन । उसले रेडियो, टेलिभिजनमा बोल्न र पत्रपत्रिकामा लेख्नका लागि पढ्ने विषय भन्यो । रेडियोले कसरी बोल्छ भनेर अचम्म मान्ने मेरो लागि त्यो विषयप्रति उत्सुकता जाग्यो र थाहा नपाई नपाई पत्रकारिता विषय लिएँ । हाम्रो रात्री समूहमा पत्रपत्रिकामा काम गर्ने केही साथीहरू पनि थिए । पढ्दै जाँदा पत्रकारिताप्रतिको चासो पढ्दै गयो । २०५५÷०५६ सालमै मैले गतिविधि साप्ताहिकमा समाचार लेख्न थाले । त्यसपछि काभ्रेबाट प्रकाशित काभ्रे पोस्टमा पनि लेख्न थाले ।

सम्भावना र अवसर वरिपरि डुलिरहेका छन्, त्यसलाई पक्रेर जिन्दगीको सफल यात्रालाई तय गरे मात्र पुग्छ । आज धेरैले खोजेको त्यही वरिपरिको सम्भावना र अवसरलाई पक्रने शिक्षा हो ।

२०५८ सालमा रेडियो नेपाल काभ्रेको संवाददाता भएर जिल्ला फर्किए । झन्डै १० वर्ष नेपाल वान टेलिभिजन, इमेज टेलिभिजन, राजधानी दैनिक, राष्ट्रिय समाचार समितिको जिल्ला संवाददातादेखि जिल्लाबाट प्रकाशित काभ्रे पोस्ट र मध्यमार्ग साप्ताहिक, पूर्वीय दर्पण दैनिक, सञ्जीवनी दैनिक, साप्ताहिक हुँदै इन्द्रावतीको संस्थापक सम्पादक, सुनकोशीको सम्पादकसम्म भएँ । त्यसपछि फेरि काठमाडांै फर्किए । बीचमा मेरो पत्रकारिताको पढाइमा ब्रेक लागेको थियो । काठमाडौं फर्केपछि पढाइले निरन्तरता पायो । पत्रकारितामा स्नातकोत्तर गरें । त्रिभुवन विश्वविद्यालय आमसञ्चार विभागको एमफिलको पहिलो ब्याचको विद्यार्थी पनि बनें । अब पत्रकारितामै पीएचडी गर्ने लक्ष्य छ । काठमाडांै फर्केपछि मेरो यात्रा आर्थिक पत्रकारितामा अघि बढेको छ । आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कोषाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्ष छु । सौर्य, राजधानी हुँदै अहिले कारोबार दैनिकमा काम गरिरहेको छु ।

काभ्रे होस् वा काठमाडौंको पत्रकारिता गर्दाका क्षणहरू दर्दनाक र पीडादायी मात्र थिएनन्, धेरै खुसीपूर्ण पनि थिएँ । यी दुःखसुखका कहानी र कथा धेरै लामा छन् । यहाँ व्यक्त गरेर साध्य पनि छैन, तर मैले यी सबै प्रसंग किन कोट्याएको हो भने ४ कक्षादेखि एबीसीडी सिकेको, मोटरबाटो, बिजुली केही नहुँदा ठूलो संघर्षका कक्षा १० सम्म पढेको म अहिले पूर्णरूपमा उच्च व्यावसायिक पत्रकारिता गरेर सहजै बिहान बेलुकाको छाक टार्न सक्ने भएको छु । मेरो जिन्दगीको गोरेटो र यात्रा त्यही ढुंखर्कमा विद्यालय र डाँडाकाँडामा पलाएको थियो । ढुंखर्कमै सिकेको त्यो शिक्षाको बलियो आधारभूत इँटा मेरो जिन्दगीमा सफलता प्राप्त गर्ने ठूलो जग बनेको छ । अहिले पढ्ने विद्यार्थीका लागि गाउँमै सुवर्ण अवसर छ । कक्षा १० सम्म मात्र होइन, पार्वतीमा स्नातकसम्मको कलेज सञ्चालनमा छ ।

न मोटरबाटो, न बिजुली, न टेलिभिजन, न टेलिफोन÷मोबाइल, न इन्टरनेट । यी सबैको बाबाजुद पनि ठूलो संघर्ष गरेर सफलता प्राप्त गर्ने यही माटोमा हुर्किएका थुप्रै हुनुहुन्छ । पत्रकारिता, शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, सरकारी सेवा, व्यापार व्यवसायतिर ढुंखर्क र आसपासका धेरैले ठूलो सफलता प्राप्त गरेका छन् । त्यो बेलाको शिक्षा र अहिलेको शिक्षाको अवस्थादेखि ढुंखर्कमा पाउने सेवासुविधासम्म धेरै फेरिएका छन् । पढ्नलाई शहर जानैपर्ने बाध्यता अन्त्य भएको छ । अवसरहरू गाउँतिर नै बढेका छन् । अवसरहरू त छन्, तर अवसरको पहिचान, उपयोग र फाइदालाई पहिल्याएर उपयोग गर्न सकेका छैनौं । अझै पनि बेथाञ्चाक गाउँपालिका–२ र ३ ढुंखर्कले ढुंखर्कलाई चिनेर ढुंखर्कमै अवसर सिर्जना गरी ढुंखर्कमै जागिर खाएर ढुंखर्ककै विकासका लागि समृद्ध ढुंखर्कको नारालाई सफल पार्न आवश्यक ढुंखर्कमुखी शिक्षा छैन । मुलुक संघीयतामा गएपछि स्थानीय निकायको सरकारले ढुंखर्कमैत्री शिक्षा नीति र कार्यक्रम ल्याउन सक्छ । गाउँपालिका कार्यन्वनमा चुकेको छ ।

स्थानीय सरकारले अब यो अन्योलता चिर्न सक्नुपर्छ । ढुंखर्क, च्यासिंखर्क, चलालगणेशस्थान र च्याम्राङबेसीलाई समेटेर बनाएको बेथाञ्चोक गाउँपालिकाको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने खालको शिक्षाको नीति र यसको कार्यान्वयनमा ल्याउँन आवश्यक छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई आधारभूत र माध्यमिक शिक्षामा अधिकार दिँदै प्रारम्भिक बाल विकास र शिक्षादेखि यसका नीति निर्माणदेखि व्यवसायिक शिक्षासम्मको अधिकार दिएको छ । हामीले हिजोको दिनमा पढ्दा एसएलसीपछि कहाँ जाने र के गर्ने भन्ने ठूलो अन्योलता थियो । ठक्कर खाँदै जान्दै, अघि बढ्दै गरियो । अहिले सब सुविधा छ, तर पढेपछि कहाँ पुग्ने भन्ने अझै अन्योल छ । स्थानीय सरकारले अब यो अन्योलता चिर्न सक्नुपर्छ । ढुंखर्क, च्यासिंखर्क, चलालगणेशस्थान र च्याम्राङबेसीलाई समेटेर बनाएको बेथाञ्चोक गाउँपालिकाको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने खालको शिक्षाको नीति र यसको कार्यान्वयन आवश्यक छ । आजको दिनमा बेथानचोकमा सबै छ, केही पनि छैन भन्ने अवस्था छ । प्रशस्त खेतीयोग्य खेत, बारी छ तर चामलदेखि तरकारीसम्म आयात हुन थालेको छ । दुग्ध उत्पादन हुन्छ, तर घिउको आयात हुन्छ । खुवाका लागि प्रसिद्ध ढुंखर्क यसको चर्चा विस्तारै हराउँदै जान थालेको छ । महाभारतकै सबैभन्दा अग्लो बेथाञ्चोक नारायणस्थान, शिवगुफा, महांकाल मन्दिरदेखि ऐतिहासिक नेपाल र अंग्रेजबीच लडाइँ भएको कपेरथानसम्म यहीँ छन् । महाभारतको जंगलदेखि च्याम्राङबेशीका झरनासम्मका कथा छन् । अर्थात् बेथाञ्चोकमा के छैन, कृषि, पर्यटन र उद्योगका लागि उर्वरभूमि हो ।

यहाँभित्र हुने उत्पादनलाई आधुनिकीकरण गर्ने हो भने धेरैले सहजै रूपमा यहाँ रोजगारी पाउँछन् र यसले समृद्ध ढुंखर्क बनाउँछ । तर विडम्बना गाउँमै पढाइ सकेर रोजगारीका लागि सहर र विदेश धाउनुपर्ने दुर्दशा कायम छ । तँ पास भइस् भन्ने प्रमाणपत्र होइन, काम पनि सँगै दिनसक्ने शिक्षा आजको आवश्यकता हो । यस्तो बेला स्थानीय सरकारसँग आफैले व्यावसायिक शिक्षाबारे नीति बनाएर गाउँमै रोजगारी पाउने गरी पाठ्यक्रम र अध्ययनका लागि वातावरण बनाउने अधिकार छ । गाउँको क्याम्पसबाट उत्तीर्ण व्यक्ति गाउँमै राम्रो उद्योग व्यवसायमा जम्न सक्यो भने यसले आर्थिक रूपमा ठूलो प्रभाव पार्छ । पहिला जस्तो पढेपछि जागिर खानैपर्छ भन्ने बुझाइ विस्तार हट्दै छ । यस्तो अवस्थालाई विश्लेषण गरेर गाउँमै आर्थिक गतिविधि बढाउने गरी गाउँपालिकाले सोच्नुपर्छ । ताकि गाउँको जमीन बाँझै रहेको, पढाइ सकेर विदेश जानेको लर्को बढेको, गाउँमा गुन्द्रुकदेखि सिलामसम्म आयात गर्नुपरेको सुन्नु नपरोस् । बरु बेथाञ्चोक र महाभारत जंगलको सफारीका लागि केबलकार पुगेको, केपरथानमा नेपाली–अंग्रेज लडाइँ भएको सदृश्यसहितको ठूलो ऐतिहासिक पार्क बनेको, शिवगुफा भित्र छिर्न ठूलो लाइन लागेर यसलाई व्यवस्थित बनाउन ठूलो चुनौती थपिएको अर्थात् स्वदेशी विदेशी पर्यटकहरूको घुइँचो बढेको देख्न पाइयोस् ।

अझ खुवाबाट बनेको नेपालकै पहिलो नयाँ परिकारले देशको बजार पिटेको, ठूल्ठूला अर्गानिक तरकारीका फार्म स्थापना भएको होस् । यसरी गाउँपालिकाले कृषि, पर्यटन र उद्योगमा यहाँका स्थानीय र बाह्य लगानीका लागि वातावरणसँगै यिनीहरूका लागि चाहिने सबै किसिमका जनशक्ति उत्पादनका लागि नयाँ शिक्षा नीति ल्याएर पढ्दापढ्दै जागिर र कमाई हुने अवस्था सिर्जना गरेको भनेर सुन्न पाइयोस् । किनकि जति नै शिक्षा केही होइन भनेर तर्क कुतर्क गरे पनि शिक्षा सबै किसिमको विकासको मुख्य आधार हो, शिक्षाविना न कृषि, न उद्योग, न पर्यटन, कुनै कुरा असम्भव छ, तर विडम्बना हाम्रो शिक्षाले हाम्रो आवश्यकता, सम्भावना र रोजगारी सिर्जनालाई चिन्दैन । आजको शताब्दीमा त्यो चिन्ने शिक्षा चाहिन्छ । गफ र फुर्ति दिनेभन्दा काम गर्ने शिक्षा आजको आवश्यकता छ ।
चार कक्षामा पुगेर एबीसीडी पढ्नुपर्ने, बाँझ र खस्रुको काँडाका लागि जंगल पुगेर गाईवस्तु पालेर मात्र आम्दानी गर्नसक्ने, मोटर र बिजुली हेर्न सहर पुग्नुपर्ने, कलेज पढ्न गाउँ छोड्नुपर्ने, भर्नाको फर्म भर्न नजानेर सहारा खोज्नुपर्ने, सामान्य सूचना नपाएर जागिरका लागि भांैतारिँदा भौंतारिँदा थकित भएर निरासा कुण्ठाहरूभित्र बाँच्नुपर्ने विगतका ती तीता कथाहरू विकासका लहरहरू विस्तार हराउँदैछन् । त्यसकारण आजको पुस्ता भाग्यमानी छ । सबै किसिमका सम्भावना र अवसर वरिपरि डुलिरहेका छन्, त्यसलाई पक्रेर जिन्दगीको सफल यात्रालाई तय गरे मात्र पुग्छ । आज धेरैले खोजेको त्यही वरिपरिको सम्भावना र अवसर पक्रने शिक्षा हो । समृद्ध बेथाञ्चोक बनाउने शिक्षा आजको आवश्यकता छ ।

पार्वती उच्च माविदेखि क्याम्पससम्मले यसका लागि पहल गर्नुपर्छ, शिक्षा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव भएका धेरै यस क्षेत्रका बासिन्दा हुनुहुन्छ, उहाँहरूले यस अभियानमा साथ दिनुपर्छ । गाउँपालिकाले यसका लागि प्रयोगात्मक र उपयोगी शिक्षा नीति र पाठ्यक्रम बनाउनुपर्छ अनि पढेका विद्यार्थीहरूलाई प्रमाणपत्रसँगै सीप र दक्षता दिनुपर्छ । ताकि एक हातमा प्रमाणपत्र पर्दा अर्को हातमा अवसर प्राप्त भइसकेको होस् ।
(बेथाञ्चोक गाउँपालिका–३ निवासी सेजनका पूर्व अध्यक्ष भीम गौैतम कारोवार दैनिकमा काम एवं पत्रकारितमा प्राध्यापन पनि गर्नु हुन्छ ।)