डेल्टा भेरियन्ट सहजै फैलिन सक्ने बैज्ञानिकहरुको दावी

डेल्टा भेरियन्ट सहजै फैलिन सक्ने बैज्ञानिकहरुको दावी तरुण खबर ७ कार्तिक २०७८, आईतवार ०९:१२
डेल्टा भेरियन्ट सहजै फैलिन सक्ने बैज्ञानिकहरुको दावी

काठमाडौं । कतिपयले डेल्टा ’प्लस’ भनिरहेको कोरोनाभाइरसको नयाँ उत्परिवर्तित स्वरूप डेल्टा भेरिअन्टभन्दा झन् सहज रूपमा फैलिन सक्ने ब्रिटेनका विशेषज्ञहरूले बताएका छन् । ब्रिटेनको हेल्थ सिक्यूरिटी एजेन्सी (यूकेएचएसए)ले उक्त नयाँ प्रकारको कोरोनाभाइरसलाई अनुसन्धानको क्रममा रहेको भेरिअन्टका रूपमा वर्गीकरण गरेको छ । यसले गम्भीर रूपमा बिरामी पार्न सक्ने विषयबारे प्रमाण भने फेला परेको छैन । अनि हाल उपलब्ध रहेका खोपहरूले मानिसहरूलाई जोगाउन सक्ने विषयमा वैज्ञानिकहरू विश्वस्त छन् । ब्रिटेनमा देखिएका कोरोनाभाइरस सङ्क्रमणमा डेल्टा भेरिअन्ट नै बढी पाइएको भए पनि “डेल्टा प्लस“ वा AY.4.2 बाट सङ्क्रमित भएका मानिसहरू फेला पर्ने क्रम बढिरहेको छ । विश्व स्वास्थ्य संगठन (ब्लुएचओ) का अनुसार अल्फा B.१.१.७ बेलायत, बीटा B.१.३५१ दक्षिण अफ्रिका, गामा P.१ ब्राजिल र टेल्टा B.१.६१७.२ भारत रहेका छन् ।

पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार ६ प्रतिशत कोभिड डेल्टा प्लस कोरोनाभाइरसले गराएको छ । बीबीसी नेपाली न्यूजका अनुसार विज्ञहरूले यो व्यापक रूपमा फैलिन वा यसले अहिले उपलब्ध खोपहरूलाई छल्न सक्ने सम्भावना नरहेको जनाएका छन् । यद्यपि अधिकारीहरूले ब्रिटेनमा डेल्टा भेरिअन्टको तुलनामा सङ्क्रमणको यो नयाँ प्रकार बढ्ने दर बढी हुनसक्ने केही प्रारम्भिक प्रमाण रहेको जनाएका छन् । तर डेल्टा भेरिअन्टजस्तो यसलाई जोखिमको तहका हिसाबले सबैभन्दा खतरनाक भेरिअन्ट अफ कन्सर्नका रूपमा भने वर्गीकरण गरिएको छैन । विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू फैलिरहेका छन् ।

भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरिअन्ट देखा पर्नु आश्चर्यजनक विषय होइन । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण भएका सङ्क्रमणहरूको पहिचान भएको छ । डेन्मार्कमा पनि यो भेरिअन्ट देखिएको छ तर त्यहाँ भने यो फेला पर्ने क्रम घट्दै गएको छ । ब्रिटेनमा उच्च जोखिममा भएका मानिसहरूको रक्षा गर्नका लागि कोभिड–१९ विरुद्ध खोपको बूस्टर अर्थात् अतिरिक्त मात्रा जाडो याम सुरु हुनअगावै दिइँदैछ । अहिले विद्यमान भाइरसका विभिन्न भेरिअन्टबाट जोगिनका लागि उपलब्ध खोपहरूलाई परिमार्जन गर्नुपर्ने आवश्यकताबारे विज्ञहरूले केही भनेका छैनन् ।

कोभिड–१९: भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ ?
यूकेएचएसएका प्रमुख कार्यकारी डा. जेनी हेरीज भन्छिन्– सबै भेरिअन्टका हकमा जनस्वास्थ्यसम्बन्धी सुझावहरू एकै छन् । अहिले प्रयोग भइरहेका खोपहरू कोरोनाभाइरसको पहिलो संस्करणविरुद्ध बनाइएको थियो । त्यसैले वर्तमान खोपले नयाँ भेरिअन्टहरूविरुद्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने सम्भावना कायम रहन्छ । तर विज्ञहरूले ती सबै खोपले अझै पनि गम्भीर रोग र मृत्युको सम्भावनालाई कम गर्ने बताएका छन् । केही महिनाअघि ब्रिटेनको पब्लिक हेल्थले गरेको एक विश्लेषणका अनुसार फाइजर वा आस्ट्राजेनेका खोपको दुई मात्रा डेल्टा भेरिअन्ट संक्रमितलाई अस्पताल भर्ना हुनबाट जोगाउन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ । सोही खोपको एक मात्रा डेल्टा संक्रमितको तुलनामा अल्फा संक्रमितमा बढी प्रभावकारी देखियो ।

चिकित्सकहरूले हाल पुष्टि भएका र उत्परिवर्तन भइरहेका भेरिअन्टबाट जोगिन खोपको दुवै मात्रा लगाउनु अत्यावश्यक भएको बताएका छन् । भाइरसका नयाँ स्वरूपविरुद्ध काम गर्न हालका खोपहरूलाई नै पुनः डिजाइन गर्न सकिनेमा विज्ञहरू ढुक्क छन् ।