विश्वकप सातौं पटक जितेको भारत आठौं पटकमा पाकिस्तानसँग पराजित भयो

विश्वकप सातौं पटक जितेको भारत आठौं पटकमा पाकिस्तानसँग पराजित भयो तरुण खबर ८ कार्तिक २०७८, सोमबार ११:४५
विश्वकप सातौं पटक जितेको भारत आठौं पटकमा पाकिस्तानसँग पराजित भयो

काठमाडौं । टी–२० क्रिकेट विश्वकपको सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ । भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको छ । दुई देशबीचको राजनीतिक तनावले गर्दा यी देशहरू विश्वकपजस्ता मुख्य प्रतिस्पर्धाबाहेक बिरलै जुट्ने गरेका छन् । अहिलेसम्म विश्वकपमा भेट्दा भारतले सबै सात खेल जितेको थियो । उनीहरू अन्तिमपटक सन् २०१९ मा इङ्ल्यान्डमा आयोजित विश्वकपमा आमनेसामने भएका थिए ।

मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाए । पाकिस्तानले आजसम्म विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको थिएन । यो नै पाकिस्तानको ऐतिहासिक जीत हो । पाकिस्तानले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्न दिएको थियो । त्यसमा भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । शुरूवाती झट्कापछि भारतीय टोली सम्हालिएको थियो र त्यसमा कप्तान विराट कोहली र विकेटकीपर ऋषभ पन्तको भूमिका रह्यो । कोहलीले ५७ रन र पन्तले ३९ रन बनाए । पाकिस्तानी टोलीका लागि १५२ रनको लक्ष्य भेट्टाउन पहिलो ओभर राम्रो रह्यो । भुवनेश्वर कुमारको पहिलो ओभरमा मोहम्मद रिजवानले १० रन बनाए ।

दोस्रो ओभरमा भारतीय बलर मोहम्मद शमी आए । उनले ८ रन दिएसँगै पाकिस्तानी टोलीले बिना कुनै नोक्सान १८ रन बनायो । यो जीत पाकिस्तानी प्रशंसकले देखेको सपनाभन्दा परको विषय थियो । बीबीसी नेपाली न्यूजका अनुसार उनीहरूले टी–२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएनन्– जोडदार रूपमा पराजित गरे । यो जित असाध्यै ठूलो थियो र यति महत्त्वपूर्ण थियो कि कप्तान बाबर आजमका बुवाका आँखामा आँसु देखिए । यसअघि भारतले यी दुई देशबीचको प्रत्येक विश्वकप खेल जितेको थियो । पाकिस्तानको निम्ति दुबईमा, “२९ वर्षको पीडा“ अन्त्य भयो । “मैले जीवनमा सायदै यति खुसी महसुस गरेको थिएँ– टेस्ट म्याचका विशेष टिप्पणीकार र पाकिस्तानका प्रशंसक आतिफ नवाजले भने– मैले यो भन्दा रमाइलो मानेको कुनै एउटामात्रै अर्को क्षण पनि सोच्न सक्दिनँ । उनका भनाइमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीसँग विश्वकपमा हार्दा पीडा हुन्छ ।

र, त्यो पीडा सन् १९९२ यता १२ पटकसम्म भयो । नवाजले स्थानिय सञ्चार माध्यमसँग भने– यो जितले पूरै देशमा खुसी ल्याएको छ, यस्तो कठिन समयमा यसले सबैको मुहारमा मुस्कान ल्याएको छ । पाकिस्तानमा प्रशंसकहरूले रेस्टुरेन्ट, किनमेल केन्द्र र सिनेमाहरूमा हेरेका थिए । जब जितको क्षण आयो उनीहरू खुशीयाली मनाउन सडकमा निस्किए । विगतमा आफैँ क्रिकेटका चर्चित खेलाडी रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिँदै ट्वीट गरेका छन् ।