टर्कीले दश देशका राजदूतहरुलाई आ–आफ्नो देश फिर्ता पठायो

टर्कीले दश देशका राजदूतहरुलाई आ–आफ्नो देश फिर्ता पठायो तरुण खबर ८ कार्तिक २०७८, सोमबार ११:४७
टर्कीले दश देशका राजदूतहरुलाई आ–आफ्नो देश फिर्ता पठायो

काठमाडौं । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने कदम चालेका छन् । कूटनीतिक भाषामा पर्सना नन ग्राटा भनिने राष्ट्रपति एर्दोआनको आदेशपछि टर्कीले ती देशका राजदूतलाई अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्छ । चार वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरूको वक्तव्य आएपछि उक्त कदम चालिएको हो । पर्सना नन ग्राटा राजदूतहरूको कूटनीतिक हैसियत हटाउनुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो । गत साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतावासहरूबाट कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी भएको थियो । तीमध्ये सात देश टर्कीका नेटो सहयोगी हुन् ।

१० देशका राजदूत फिर्ता भएपछि अब के हुन्छ ?
युरोपको प्रमुख मानवअधिकार निगरानी गर्ने संस्था काउन्सिल अफ युरोपले कुभालालाई रिहाइ गर्ने मानव अधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न अन्तिम चेतावनी दिएको छ । शनिवार एक भेलालाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोआनले राजदूतहरूले टर्कीको परराष्ट्र मन्त्रालयमा आएर आदेश जारी गर्ने हिम्मत गर्न नसक्ने बताए । मैले हाम्रा विदेशमन्त्रीलाई आवश्यक आदेश दिइसकेको छु । र, के गर्नुपर्छ पनि भनेको छु । यी १० राजदूतहरूलाई एकैसाथ पर्सना नन ग्राटा दिइनुपर्छ । छिट्टै निर्णय लिइहाल्नु भनेको छु– उनले भनेका थिए । टर्कीको यो निर्णयपछि अब के हुन्छ भन्ने स्पष्ट छैन । यस विषयमा सम्बन्धित देशका राजदूतहरूले प्रतिक्रिया जनाएका छैनन् । यद्यपि जर्मनीको विदेश मन्त्रालयले यसमा जोडिएका देशहरू गहन छलफलमा रहेको बताएको छ । बीबीसी नेपाली न्यूजका अनुसार यस विषयमा टर्कीका निकायहरूले आधिकारिक सूचना समेत जारी गरेका छैनन् । गैरजिम्मेवार वक्तव्य नर्वेजियन विदेश मन्त्रालयले समाचार संस्था रोयटर्ससँग आफ्ना राजदूतले फिर्ता पठाउनुपर्ने चेतावनी दिने हदसम्मको कुनै कार्य नगरेको बताएको छ ।

मङ्गलवार राजदूतहरूलाई बोलाएर टर्कीको विदेश मन्त्रालयले कुभालाको मुद्दामा उनीहरूको “गैरजिम्मेवार“ वक्तव्यबारे विरोध जनाएको थियो । दूतावासहरूको वक्तव्यमा कुभालाको मुद्दामा निरन्तर ढिलाइ गरिएकोमा आलोचना गरिएको थियो । घटनाले टर्कीको प्रजातन्त्रप्रतिको सम्मान, कानुनी शासन र न्यायिक प्रणालीमा पारदर्शिता छायामा परेको वक्तव्यमा उल्लेख थियो । जसमा टर्कीलाई उनको तत्काल रिहाइ गर्दै समस्याको छिटो समाधान खोज्न आग्रह गरिएको थियो । कुभाला सन् २०१३ मा देशव्यापी विरोध प्रदर्शनसम्बन्धी अभियोगमा निर्दोष ठहर भएका थिए । तर रिहालगत्तै उनलाई पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई दिइएको सफाइ उल्टाउँदै सन् २०१६ मा एर्दोआन सरकारविरुद्ध सैन्य कूको असफल प्रयास गरेको लगायत नयाँ अभियोगहरू थपिएका थिए । कुभालाले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । अघिल्लो साता पनि एर्दोआनले देशको न्यायिक प्रणालीको बचाउ गरेका थिए । उनले भने– हामी हाम्रो देशमा यति धेरै गर्ने सुविधा दिन सक्दैनौँ । तिमीहरूले टर्कीलाई पाठ सिकाउने ? तिमीहरू आफूलाई के सोच्छौ ?