सम्झनामा मूर्धन्य व्यक्तित्व गणेशमान सिंह

सम्झनामा मूर्धन्य व्यक्तित्व गणेशमान सिंह विन्दुकान्त घिमिरे २५ कार्तिक २०७८, बिहीबार ०९:५४
सम्झनामा मूर्धन्य व्यक्तित्व गणेशमान सिंह

जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर एवं लौह पुरुष गणेशमान सिंहको विषयमा मिडियाको ध्यान आकृष्ट गर्दै तत्कालिन संयुक्त वमामोर्चाकी अध्यक्ष सहाना प्रधानले भनेकी थिइन– ‘तपाँइहरुले नेपाली कांग्रेसको सर्वमान्य नेता भनेर लेख्दा हामीलाई अन्याय भएको छ, वास्तवमा गणेशमानजी हाम्रो पनि सर्वमान्य नेता हुनुहुन्छ, हाम्रो मात्रै होइन, मुलुककै सर्वमान्य नेता हुनुहुन्छ ।’

वास्तवमा २०४६ सालको जनआन्दोलन सफल भए पछि तत्कालिन राजा वीरेन्द्र शाहले पनि गणेशमान सिंहलाई नेता स्वीकार गरेका थिए । जनताको छोरालाई राजाले समेत नेताका रुपमा स्वीकार गरेको घटना नेपालको इतिहासमा पहिलो र अन्तिम हो । आन्दोलनको सफलतापछि राजा वीरेन्द्रले गणेशमान सिंहलाई बोलाएर भने– ‘ल जनताको नासो फिर्ता गरेँ, अब मुलुक चलाउनु होस् ।’ गणेशमान सिंहले भने– ‘मलाई कहाँ समय छ र ? किशुनजीलाई प्रधानमन्त्री नियु्क्त गर्नोस् ।’ यसरी गणेशमान सिंहले आफ्नो हैसियत राजा भन्दा माथि पु¥याएका थिए । प्रधानमन्त्री बन्न मरिहत्ते गर्ने र प्रधानमन्त्री पद टिकाउन जे पनि गर्ने प्रवृत्ति मुलुकमा हिँजो पनि थियो, आज पनि छ र भोली पनि रहनेछ । तर गणेशमान सिंह यस्ता नेता थिए जसले प्रधानमन्त्री पदलाई आफ्ना लागि तृण बराबर पनि ठानेनन् ।

जनताले आन्दोलन तथा क्रान्ति गरेर अधिकार स्थापित गराउने तर ती अधिकार खोसिने लामो श्रृंखला मुलुकमा चलिरहेको थियो । यो श्रृंखलाको अन्त्य गराउने उद्देस्यले गणेशमान सिंहले प्रधानमन्त्री पद त्याग गरेका थिए ।

२०४६ साल चैत २६ गते राजासँग भएको संझौतालाई गणेशमानले पूर्ण उपलव्धी मानेका थिएनन् । आफ्नो विश्वासिलो कृष्णप्रसाद भट्टराईलाई मुलुक संचालन गर्न लगाएर आँफू थप उपलव्धिका लागि जुट्ने अभियान अन्तरगत उनले प्रधानमन्त्री पद त्याग गरेका थिए । जनआन्दोलन २०४६ सालको शेरोफेरोमा गणेशमानसँग धेरै नै निकट रहेर काम गरेका नविन चित्रकारले तरुण साप्ताहिकका विगतका अंकमा लेखेका छन्– ‘२०४७ सालको संविधान जारी गर्ने बेलामा धर्मनिरपेक्षताको पक्षमा काठमाडौंका रैथाने तथा जनजाति तप्काबाट ठूलै आन्दोलनको तयारी भयो । आन्दोलनका अगुवाहरुको गोप्य बैठक राखेर गणेशमानजीले भन्नु भयो, अहिले नै धार्मिक अधिकारको पक्षमा आन्दोलन उठ्यो भने राजतन्त्रले राजनीतिक उपलव्धी पनि खोस्ने वातावरण बन्छ । राजतन्त्र फालिए पछि धार्मिक अधिकार आँफै आउँछ ।’ त्यस पछि नविन चित्रकारले सोधेछन्– ‘राजतन्त्र कसरी फालिएला र ?’ गणेशमानले जवाफ दिएछन्– ‘अब बढीमा १५–२० वर्ष हो राजतन्त्रको आयु ।’

लामो संघर्ष तथा राजनीतिक अनुभवले गणेशमान सिंहलाई धेरै दुरदर्शी बनाएको हो भन्ने कुरामा प्रश्न छैन, तर उनी किशोरवयमै दूरदर्शी थिए । दूरदर्शी नभएको भए बडाकाजीका नाती गणेशमान सिंह राणा शासन ढाल्ने अभियानमा जुट्ने नै थिएनन् । उनका बाजे रत्नमान सिंह राणा शासनमा पनि श्रीपेच लगाउने पदमा थिए । उनी तिनै वडाकाजीका सबै भन्दा पुलपुलिएका नाती थिए । राणाहरुको जस्तै सुख सयल र अमन चयनमा हुर्केका गणेशमान आफ्ना बाजेको आँखा छल्दै राणाशासन अन्त्यका लागि ज्यान हत्केलामा राखेर संघर्षका होमिए ।

संक्षिप्त जीवनी
वि.सं. १९७२ कर्तिक २४ गते जन्मनु भएका गणेशमान सिंह नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए । काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंह १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को संस्थापक सदस्य थिए ।

उनको निधन भएको पनि करीब २३ वर्ष वितिसकेको छ । उनको निधन २०५४ साल असोज २ गते भएको हो । राणा शासन हटाउने राजनीतिमा होमिएका गणेशमान सिंह भद्रगोल जेलबाट भागेका जोशिला तन्नेरी थिए उसबेला । गणेशमान सिंह प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली काँग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरे । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा परिचित थिए ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास सजाय भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय भए ।

पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा पनि उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बीपीको निधनपछि नेपाली काँग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका हुन् ।

१९९७ सालदेखि अनवरत राजनीतिक संघर्षमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।

आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले गणेशमानको लालन–पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो । सरदार रत्नमान पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भए । रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको थियो । दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४ मा विद्यालयबाट निस्कासित गणेशमान सिंहको बहिदारको सरकारी सेवा मात्र गुमेन, राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि गणेशमान सिंहले सजाय भोग्नुप¥यो । त्यसपछि उनी कोलकाता गए । विद्यासागर कलेजमा विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह (आईएस्सी) को अध्ययन शु्रु गर्दा नै उनी नेता बनिसकेका थिए ।

२००७ साल असोज ९, १० र ११ गते तत्कालीन जहानिया राणा शासन विरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ’ बैरगनिया सम्मेलन’ मा गणेशमान सिंह, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । ’बैरगनिया सम्मेलन’ मा भाग लिने जति सबैले तत्कालीन जहानिया राणा शासन फाल्न ’डु अर डाई’ गर या मर अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति अपनाउन स्विकारेका थिए । २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ परेका गणेशमान सिंहलाई प्रचुर शारीरिक यातना दिइयो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भएका गणेशमा सिंहले मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हाल्ने अबसर पाएका थिए ।

गणेशमा सिंह २००७ देखि २०१७ सम्म
२००८ सालमा नेपाली काँग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका गणेशमान सिंहले विश्वेश्वरप्रसाद कोइरालाको निर्देशनमा मातृकाप्रसाद कोइरालको नेतृत्वको मन्त्रिमण्डलबाट राजिनामा दिएका थिए । २०१२ सालमा नेपाली कांग्रेसको वीरगञ्ज महाअधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए । २०१४ सालको भद्रअवज्ञा आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका गणेशमान सिंहले २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँको १ नम्बर क्षेत्रबाट १० हजार ९६८ मत ल्याएर कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई पराजित गरेका थिए । उनले बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हालेका थिए ।

२०१७ देखि २०४६
२०१७ साल पुस १ गतेको घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) सुन्दरीजल जेलमा थुनिएका थिए । जेलमुक्त भएपछि निरंकुश पञ्चायत विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए । राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते वीपी कोइराला सँगै स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरिएको थियो । पञ्चहरुले राजकाज मुद्दा मात्र चलाएनन् फाँसीे दिन माग गरेका थिए । २०४२ सालमा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहकै नेतृत्वमा सत्याग्रह सुरु भयो । सिंहलाई २०४५ सालमा नेपाली काँग्रेसको सर्वमान्य नेता बनाइएको थियो ।

२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली काँग्रेसको सम्मेलनद्वारा गणेशमान सिंहले पंचायति व्यवस्थाको विरुद्ध जनआन्दोलन घोषणा गरे । २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हालेका सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत पूर्ण विश्वास गरेको थियो । त्यतिबेला गणेशमान सिंहको सहयोगीको भूमिका निर्वाह गरेका नविन चित्रकारको भनाई छ –‘विभिन्न समूहमा छरिएर रहेका बामपन्थीहरुलाई एउटै मोर्चामा आउने वातावरण गणेशमान सिंहले नै बनाएका थिए । जनआन्दोलन सफलभएपछि चैत्र २७, २०४६ सालमा काठमाडौंको टुडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ’फादर अफ डेमोक्रेसी’को रूपमा सम्मानित गरिएको थियो ।’

२०४६ देखि २०५४
जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा बीरेन्द्रले आग्रह गर्दा सिंहले अस्वीकार गर्दै किसुजीको नाम लिएका थिए । २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८) मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटेका थिए । नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार–१९९० तथा मानवाधिकार पुरस्कार–१९९३ एवं संयुक्त राष्ट्र संघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित ’ऊ थान्त शान्ति पुरस्कार’बाट उनी सम्मानित थिए ।

२०५३ साल भदौ १० गते गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंहको निधन भयो । एक वर्ष पछि गणेशमान सिंहको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भएको थियो । त्यसबेला सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा ग¥यो । सरकारी पदमा नभएको राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो थियो ।
(यो लेख करिब तीन वर्षअघि लेखिएको हो । अहिले पाठकहरुको माग भएपछि पुनः प्रकाशित भएको छ ।)