तरुण खबर
५ मंसिर २०७८, आईतवार १०:४१
काठमाडौं । युरोपका केही देशहरूमा कोरोनाभाइरस संक्रमणका घटनाहरूमा वृद्धि भएपछि कोभिड–१९ को नयाँ लहरका बारेमा चिन्ता व्यक्त गरिएको छ । जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र यूकेमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको छ ।
अस्ट्रियामा पूर्ण लकडाउन
९० लाख ७७ हजार ५८२ जनसंख्या भएको अस्ट्रियाले सोमवारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ । यो लकडाउन २० दिनसम्म रहन सक्ने बताइएको छ । २०७८, मंसिर ५ गते आइतबार बिहान ८ बजेसम्ममा अस्ट्रियामा १० लाख ४२ हजार ५७१ कुल कोरोनाभाइरसका कुल संक्रमितमध्ये ११ हजार ९९३ जनाको मृत्यु भैसकेको छ । त्यहाँ कोरोना भाइरसका सक्रिय संक्रमितको कुल संख्या १ लाख ४४ हजार ४४२ जना छन् । अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ । अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ । त्यहाँ कमैले मात्रै खोप लगाएका छन् । हामी पाँचौँ लहर चाहँदैनौँ– चान्सलर एलेक्सजान्डर स्यालेन्बर्गले नौ प्रान्तका गभर्नरहरूसँगको छलफल पछि भने । बीबीसी न्यूजका अनुसार अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनाको दरले सङ्क्रमण भएको तथ्याङ्कले देखाएको छ । कुल ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा शुक्रवार थप १५,८०९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । लकडाउनमा अस्ट्रियाली नागरिकहरूलाई घरबाट काम गर्न भनिएको छ भने अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन् । अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन् ।
युरोपमा कोभिड–१९
जर्मनीमा बढ्दो सङ्क्रमण
८ करोड ४१ लाख ५५ हजार ११९ जनसंख्या भएको जर्मनीमा भने गएको साता दैनिक अत्यधिक संक्रमण देखिएको छ । २०७८ मंसिर ५ गते बिहानसम्ममा जर्मनीमा कुल जनसंख्यामध्ये ५३ लाख ४१ हजार ३३२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ, जसमध्ये ९९ हजार ५५३ जनाको संक्रमणबाट मुत्यु भएको छ । स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल भनेका छन् । यसको नतिजा स्वरूप जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ । अस्पताल भर्ना धेरै भएका स्थानमा खोप नलगाएका व्यक्तिहरूलाई प्रतिबन्धहरू लगाउन चान्सलर एङ्गेला मेर्कल र जर्मनीका १६ प्रान्तका नेताहरू सहमत भएका छन् । नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानहरूमा प्रवेश निषेध गरिने छ । मेर्कलले जर्मनीको कोभिड अवस्थालाई नाटकीय भन्दै तुरुन्तै सङ्क्रमणमा ब्रेक लगाउनु पर्ने बताएकी छन् । जर्मनीमा बिहीवार थप ६५ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन महामारी सुरु भएयताकै सबैभन्दा ठूलो दैनिक सङ्क्रमण हो ।
नेदरल्यान्ड्समा प्रहरी–प्रदर्शनकारी भिडन्त
१ करोड ७१ लाख ८७ हजार ४०५ जनसंख्या भएको नेदरल्याण्डमा कुल कोरोना भाइरसको संक्रमितको कुल संख्या २४ लाख २१ हजार ६४३ छ । २०७८ मंसिर ५ गते बिहानसम्ममा कुल संक्रमितमध्ये १८ हजार ९५५ जनको मृत्यु भएको छ । नेदरल्याण्डमा कोरोना भाइरसका सक्रिय संक्रमितको कुल संख्या ३ लाख ५६ हजार ८५९ छ । शुक्रवार नेदरल्यान्ड्सको प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्धविरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका छन् । प्रदर्शनकारीहरूले ढुङ्गा मुढा गर्नुका साथै प्रहरीका गाडीमा आगजनी गरेका थिए । कोभिड खोप पासको सरकारी योजनाको र नयाँ वर्षमा पटाका निषेध गर्ने निर्णयको विरोधमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका हुन् । महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो खुकुलो कोभिड लकडाउन लागु गरेको छ । रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेशनहरू बन्द गरिएका छन् । हेगमा पनि विरोध भएका छन् ।


