तरुण खबर
१३ मंसिर २०७८, सोमबार १०:०८
काठमाडौं । दक्षिण अफ्रिकाले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पत्ता लगाएका कारण आफूलाई प्रशंसा गर्नुको साटो दण्डित गरिएको गुनासो गरेको छ । विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो । प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ ।
विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार यो नयाँ भेरिअन्टलाई “भेरिअन्ट अफ कन्सर्न“ का रूपमा वर्गीकरण गरेको थियो । कोभिड–१९ को यो नयाँ भेरिअन्ट यूके, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ भने चेक रिपब्लिकमा पनि यो भेरिअन्ट पुगेको आशङ्का गरिएको छ । ओमिक्रोन भेरिअन्ट पुष्टि भएको इजरेलले आइतवार मध्यरातबाट विदेशीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । टाइम्स अफ इजरेलका अनुसार यो प्रावधान १४ दिनसम्म लागु हुनेछ । ओमिक्रोन भेरिअन्ट बोत्स्वाना र हङ्कङ पनि पाइएको छ । दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड्स आइपुगेका सयौँ यात्रुहरूको परीक्षण गरिराखिएको छ । वायुसेवा कम्पनी केएलएमका दुईवटा उडानमा झन्डै ६१ जना यात्रुहरूमा कोभिड पुष्टि भएको छ । र, उनीहरूलाई आम्स्टर्डामको शिपल विमानस्थलनजिकै एउटा होटलमा क्वारन्टीनमा राखिएको छ । नोभेम्बर २४ तारिखमा पहिलो पटक दक्षिण अफ्रिकाले यो भेरिअन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो ।
यात्रामा लगाइएको प्रतिबन्धलाई दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले कडा आलोचना गरेको छ । “उत्कृष्ट विज्ञानलाई प्रशंसा गरिनुपर्छ, दण्डित होइन,“ उसले भनेको छ । विश्वका अन्य मुलुकहरूमा नयाँ भेरिअन्ट फेला पर्दा व्यक्त प्रतिक्रिया पूर्ण रूपमा फरक रहेको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ ?
अफ्रिकी युनियनका एक अधिकारीले नयाँ भेरिअन्टको उत्पत्ति हुनुमा विकसित राष्ट्रहरू दोषी रहेको बीबीसी नेपाली न्यूजमा उल्लेख छ । “अहिले जे भइरहेको छ त्यो अपरिहार्य छ । यो समतामूलक, अत्यावश्यक र द्रुत रूपमा खोप दिन विश्वको असफलताको परिणाम हो । यो विश्वका धनी राष्ट्रहरूले (खोप) थुपारेर राख्नुको नतिजा हो र स्पष्ट रूपमा भन्नुपर्दा यो अस्वीकार्य छ– युनियनको खोप डेलिभरी अलायन्सका सहअध्यक्ष आयोआडी आलाकिजाले भनिन् । शुक्रवार र शनिवार कैयौँ राष्ट्रहरूले नयाँ व्यवस्थाहरूको घोषणा गरेका थिए । युरोपियन सङ्घअन्तर्गत रहेका राष्ट्र र स्विट्जरल्यान्डले सोमवारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकबाट हुने उडानमा रोक लगाउने निर्णय गरिसकेका छन् । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लसूटू र एस्वाटिनीबाट आउने यूके वा आयरल्यान्डका नागरिक वा यूकेका बासिन्दाबाहेक अरू यात्रुलाई प्रवेशमा रोक लगाइएको छ । अमेरिकाले पनि सोमवारबाट लागु हुनेगरी दक्षिण अफ्रिकासहित आठ देशबाट आउने आफ्ना नागरिकबाहेक अरू यात्रुलाई प्रतिबन्ध लगाएको छ ।
अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ । जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारन्टीनमा राख्ने निर्णय गरेको छ । सो अवधिमा समयमा उनीहरूले चारवटा परीक्षण गराउनु पर्नेछ । भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङ्कङ सहितका देशबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन र परीक्षण गर्न निर्देशन दिएको छ । इरानले छवटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ । ब्रजिलले पनि छवटा दक्षिण अफ्रिकी देशबाट आफ्नो देशमा हुने यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ । क्यानडाले दक्षिण अफ्रिकी देशहरूमा विगत १४ दिनको अवधिमा यात्रा गरेका विदेशीहरूलाई प्रवेशमा रोक लगाएको छ । थाईल्यान्डले आठवटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ । नेपालले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरेको छ । नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सीधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने यात्रुलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिएका छन् ।
नयाँ भेरिअन्ट कस्तो छ ?
विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यो भेरिअन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढेको देखिएको जनाएको छ । शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरिअन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो । यो भेरिअन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो । पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरू थप घातक छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन । बीबीसी न्यूजका अनुसार अहिलेसम्म कोरोनाभाइरसमा भएकामध्ये अहिलेका उत्परिवर्तनले भाइरसलाई अत्यधिक संक्रामक बनाएको बताएका छन् । भाइरसमा धेरैवटा उत्परिवर्तन भएकाले एक वैज्ञानिकले यसलाई “भयानक“ भनेर व्याख्या गरेका छन् । अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन् । नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ । तर यसको सङ्क्रमण अन्यत्र पनि फैलिएको सङ्केतहरू देखा परेका छन् ।
ओमिक्रोन भेरिअन्टबारे हामीलाई के थाहा छ ?
विश्व स्वास्थ्य सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को सङ्केतबाट चिनाएको थियो । पछि यसको ओमिक्रोन नामकरण गरियो । यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित छ । दक्षिण अफ्रिकास्थित सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनभेशनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो “धेरै भिन्न“ भएको र “उत्परिवर्तनको अस्वाभाविक संग्रह देखिएको बताए । सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वाटभन्दा बढी स्पाइक प्रोटीन भएको बताए । धेरै खोपले भाइरसको तहमा हुने काँडाजस्तो देखिने स्पाइक प्रोटीन भनिने अवयवलाई तारो बनाएका हुन्छन् । स्पाइक प्रोटीन मानिसको कोषमा टाँसिने र भित्र छिर्न सघाउने अवयव हो । उत्परिवर्तनहरू हानिकारक नहुन पनि सक्छन् । ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्वपूर्ण हो । तर यो भेरिअन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ । पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ ।


