विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा तरुण खबर १३ मंसिर २०७८, सोमबार १०:१४
विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

काठमाडौं । वरिष्ठ आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको कार्य समिति बैठकले यस वर्ष २०७८ का लागि पुरस्कार प्राप्तकर्ताहरूको नाम आज घोषणा गरेको हो । जसअनुसार विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिने भएको छ । चूडामणि रेग्मी अर्थात १९९५ जेठ महिनामा पाल्पाको चिर्तुङधारामा जन्मनु भएका चूडामणि बन्धु नेपाली भाषाका समालोचक तथा निवन्धकार हुनुहुन्छ । प्रा.डा. बन्धु विगत ४ दशकदेखि नेपाली भाषा साहित्य अध्यापन कार्यमा संलग्न हुँदै आउनु भएको छ । नेपालीमा एम.ए. र भाषा विज्ञानमा विद्यावारिधि गर्नु भएका प्रा.डा. बन्धु प्राध्यापन पेशा अँगाल्नु भएको छ । उहाँका मौलिक कृतिहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटा

देवकोटा (जीवनी÷समालोचना, वि.सं. २०३६), नेपाली भाषाको उत्पति (वि.सं. २०२५), भाषा विज्ञान–भाषा विषयक (वि.सं. २०३०), अनुसन्धान प्रबन्धको रूप र शैली (वि.सं. २०३४), कर्णाली लोक संस्कृति खण्ड–४ (वि.सं. २०२८), नेपाली व्याकरणका केही पक्ष–व्याकरण र चकमकको बट्टा र उड्ने बाकस यात्राको साथी रहेका छन् ।

विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीर र विकल सृजना पुरस्कार साहित्यकार विमल निभालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । साहित्य सिर्जना, चिकित्साकर्म तथा सामाजिक कार्यलाई सँगसँगै अघि बढाइरहनु भएका सशक्त लघुकथाकारको नाम हो डा. रवीन्द्र समीर । नेपाली साहित्यमा लघुकथा विधालाई मुख्य विधाको रूपमा स्थापित गर्न र यही विधाबाट पनि अब्बल साहित्यकारको पहिचान बनाउन सकिन्छ भन्ने मान्यताका साथ करिब तीन दशकदेखि अटुटरूपमा लागिपरेका डा. समीरको पहिलो लघुकथा सङ्ग्रह हो, तेस्रो आँखा । विक्रमसम्वत् २०५३ सालमा तेस्रो आँखा प्रकाशित भएको उहाँका ८ वटा लघु कथा संग्रह प्रकाशित भइसकेका छन् । लघुकथाका अतिरिक्त उहाँको कलम मुक्तक, नियात्रा, संस्मरण लेखनतर्फ पनि उत्तिकै चलेको देख्न वा पढ्न पाइन्छ । मृत्युको आयु (२०७५) प्रकाशित गरेर उहाँले आफूलाई उपन्यास विधामा पनि अब्बल प्रमाणित गर्नु भएको छ । डा.रवीन्द्र समीर नेपाली साहित्यमा विन्दुमा सिन्धू र गागरमा सागरजस्तै लाग्ने उहाँका लघुकथाहरू बृहत् जीवनको चित्रण गर्न सफल लघुकथा हुन् ।

जनस्वास्थविद्का रूपमा परिचित रवीन्द्र पाण्डेय उनको वास्तविक नाम हो । वि.सं. २०३० साल जेठ १४ गते पिता तेजनारायण पाण्डे तथा माता विमला पाण्डेको कोखबाट गुल्मी जिल्लाको धुर्कोटमा जन्मिएका डा.समीरले वि. सं. २०५४ सालमा आयोजित प्रथम राष्ट्रव्यापी खुल्ला लघुकथा प्रतियोगितामा प्रथम स्थान हासिल गरेर सबैको ध्यान खिच्न सफल भएका थिए । उनको लेखन, चिकित्सककर्म तथा सामाजिक कार्यका लागि महेन्द्र विद्याभूषण पदक, नेपाल विद्याभूषण पदक, पद्म श्री पुरस्कार, युवा वर्ष मोती पुरस्कार, उत्तमशान्ति पुरस्कार, नइ पुरस्कार, अनेसास उत्कृष्ठ पुरस्कारलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, विभूषण तथा सम्मान प्राप्त गर्नु भएको छ ।

त्यस्तै विकल—सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासङ्गीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरिएको छ ।

यसैवर्षबाट दिन थालिएको यस शोध सम्मानका लागि विकलका पुत्रद्वय विजय चालिसे र महेन्द्र चालिसेबाट प्राप्त जनही ५—५ लाख रुपैया गरी १० लाखको अक्षयकोष खडा गरिएको प्रतिष्ठानले जनाएको छ । घोषित पुरस्कारहरू आगामी पुष ३ गते गोकर्णेश्वर—९ आरूबारी स्थित नवअरूणिमा विद्यालको प्राङ्गणमा आयोजन गरिने कार्यक्रममा वितरण गरिने छ । पुरस्कारका लागि नाम सिफारिस गर्न प्रतिष्ठानका सचिव वसन्त रिजालको संयोजकत्वमा प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम र डाक्टर विन्दु शर्मा सदस्य रहनु भएको समिति गठन गरिएको थियो ।