तरुण खबर
१३ मंसिर २०७८, सोमबार १०:२५
काठमाडौं । अग्रज हास्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । तेश्रो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा १ लाख १ हजार रुपैंया सहितको लाईफटाईम एचिमेन्ट अवार्ड उनीहरुलाई प्रदान गरिएको हो । अमेरिकामा भएका कारण अग्रज अभिनेता मदनकृष्ण र अस्वस्थ भएका कारण अग्रज कलाकार हरिबँश सो कार्यक्रममा उपस्थित हुन सकेनन् । सोही कार्यक्रममा पत्रकार जीवन पराजुलीलाई २१ हजार रुपैंया सहितको मनोरन्जन पत्रकारिता पुरस्कार प्रदान गरियो ।
भक्तपुरको बोडेस्थित कुमारी मन्दिर परिसरमा सम्पन्न समारोहमा विभिन्न ३२ बिधामा अवार्ड प्रदान गरिएको छ ।
समारोहमा लोकदोहोरी गायन तर्फ उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड खेम सेन्चुरीले, गायिकाको अवार्ड टीका पुनले, लोकदोहोरी शब्दको अवार्ड नेत्र अर्यालले, लयको अवार्ड श्रीकृष्ण बम मल्लले प्राप्त गरे । यस्तै लोकदोहोरी नव गायकको अवार्ड अलिफ खानले, नव गायिकाको अवार्ड सोनिया डिसीले, लोकदोहोरी गीत भिडियो मोडलको अवार्ड बिपेश घिमिरे र सारिका केसीले, भिडियो नृत्य निर्देशकको अवार्ड काजिस श्रेष्ठले र भिडियो निर्देशकको अवार्ड रविन शाहले हाँसिल गरे ।
कार्यक्रममा यो वर्षको उत्कृष्ट गायकको अवार्ड प्रेम सेन्चुरीले, गायिकाको अवार्ड मेलिना राईले, गीतकारको अवार्ड भोजराज पाण्डेले, संगीतकारको अवार्ड केशब सापकोटाले हाँसिल गरे । यसैगरी आधुनिक तर्फ नै नव गायकको अवार्ड देवेन्द्र बब्लुले, नव गायिकाको अवार्ड एलिना चौहानले, संगीत संयोजनको अवार्ड बिश्वास नेपालीले प्राप्त गरे ।
आधुनिक म्युजिक भिडियो मोडलको अवार्ड पल शाह र शिल्पा पोखरेलले, भिडियो निर्देशकको अवार्ड बिक्रम चौहानले, नव निर्देशकको अवार्ड साहिल खानले, भिडियो सम्पादकको अवार्ड मिन रावलले, छायांकारले नवराज उप्रेतीले प्राप्त गरे ।
समारोहमा काँठे भाकातर्फ गायकको अवार्ड रामशरण आलेले, गायिकाको अवार्ड शारदा रसाईलीले, देउडा विधातर्फ गायकको अवार्ड ध्वज महराले, गायिकाको अवार्ड रेखा जोशीले प्राप्त गरे ।
यस्तै नेपालभाषाको गीतमा गायकको अवार्ड हरि सुन्दर श्रेष्ठले, गायिकाको अवार्ड कल्पना श्रेष्ठले प्राप्त गरे । कार्यक्रममा आधुनिक पपुलर मोडलको अवार्ड दुर्गेश थापालाई प्रदान गरियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले आफ्नो क्षेत्रमा कार्यक्रम गरेर कलाकारलाई अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए । मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले अवार्डसँग सहकार्य गरेको बताए ।
अवार्डको निर्णायकमा गायक तथा गीतकार कन्तुप पन्त, भिडियो निर्देशकद्धय सुब्रत राज आचार्य, देवेन्द्र पाण्डेय थिए । अवार्ड आयोजक संस्था एपिक नेपालकी अध्यक्ष बबिता श्रेष्ठले नेपाली गीत संगीतको प्रवर्धनको लागि तीन वर्ष यताबाट यो अवार्ड गर्दै आएको बताइन् ।


