परशु घिमिरे
११ पुष २०७८, आईतवार ११:५२
काठमाडौं । अबको १५ दिनपछि पनौती बजारमा मकर मेला शुरु हुन्छ । पनौतीको प्राचीन नाम पुण्यवती हो अर्थात प्रयागतिर्थनिर पानवति (पनौती) छ भनिन्छ । पुण्यमाता र रोशीको बीचमा त्रिवेणीसंगमको पश्चिमपट्टि ४ हजार ६ सय फीटको उचाइमा पनैती बजार बसेको छ । प्रत्येक बाह्र वर्षको माघ महिनामा त्रिवेणी घाटमा लाग्ने मकर मेला अर्थात सूर्य मक्कर राशिमा रहेका बखत मकर मेला लाग्छ । र, छ वर्षमा लाग्ने कुम्भ मेलाको प्रसिद्धि पर्याप्त छ । पनौती मेलाको चर्चा स्कन्द पुराणमै पनि भेटिनु र लक्ष्मणलाई बचाउन हनुमानले ल्याएको बुटी यहीँ खसेको थियो भन्ने चर्चा पाइनुले त्योभन्दा पनि अघिदेखि नै मकर मेला चल्दै आएको अनुमान गर्न सकिन्छ । विश्व सम्पदा सूचीमा रहेको पनौती क्षेत्र आफैमा प्रसिद्ध तीर्थ क्षेत्र हो । १२ वर्षमा हुने हलसिद्धि देवताको जात्रा, प्रत्येक वर्ष हुने ज्या पून्हि (पनौती जात्रा), देवीनाच, भद्रकाली नाच, विस्केट जात्रा, रंगनाथ (मन्दिर) जात्रा, माधवनारायण मेलालगायत अनगिन्ति मेला पर्वले पनौतीको सांस्कृतिक भव्यतालाई झल्काउँछ । यहाँका इन्द्रेश्वर महादेव (राजकुमारी विरुमा देवीबाट वि.स. १३५१ मा निर्मित), भद्रकाली, बह्मायणी, बद्रिनाथ, केदारनाथ, तोलानारायण, उन्मत्त भैरवका मूर्ति एवं मन्दिरका कलात्मकताले प्राचीन युगको अद्दितीय शिल्पकारिताको नमुना प्रस्तुत गरेका छन् ।
पनौतीबाट करिब ३ किलोमिटर खोपासी बजार पुग्न सकिन्छ । खोपासी स्थित रंथनाथ मन्दिर एवं द्रोपदादेवी मन्दिर पनौती नगरपालिकाको थप उदाहरण हुन् । खोपासीभन्दा माथि महभारत वन र यसैको नजीकमा द्रौपदी स्थान र समीको रुख आदी भएको हुनाले पाँच पाण्डवहरु गुप्तवास बस्दा पनौती क्षेत्रमा पनि आएको हुनु पर्छ भन्ने अनुमान लगाइएको छ । खोपासीको विष्णु मन्दिरमा बैशाख पूर्णिमामा, नारायणथानमा फागु पूर्णिमामा र कृष्णाष्टमीको दिन स्थानिय नेवारहरुले भीमसेन जात्रा मनाउँछन् ।
र, खोपासीमा पाइएको विक्रम सम्वत् ६५५ तिरको शिवदेव र अंशुवर्माको शिलालेखबाट स्थानिय जनतालाई शासन सम्बन्धी निकै अधिकार सुम्पिएको पाइन्छ । धेरै वर्षअघि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेकाले पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर फूलचोकी माईको दर्शन र पानी वरदान माग्न गए । खडेरीबाट मुक्त हुन सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दुवै देशका राजालाई फूलचोकी माईले सपनामा दिइन् । ललितकलाका धनी काठमाडौंका राजा आफ्नो देशमा प्रशस्त कालिगढहरू हुनाले खुसी भए तर कालिगडहरूको अभावले चिन्तित पनौतीका राजाले मन्त्री, भाइ–भारदारहरूको सल्लाहअनुसार सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मुलाको फूल फूलचोकी माईलाई चढाएछन् ।
कालिगढहरूको अभावका कारण साँच्चिकै फूल प्रस्तुत गर्नुपरेको बिन्ती चढाएपछि फूलचोकी माई प्रसन्न भएर रुद्रावती (रोशी) नदीमा पानी पठाई दिइन् । केही समयपछि काठमाडौंका राजा साँच्चिकै सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए । उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे । त्यसपछि फूलचोकी माईले आधा नदी त्यसतर्फ पठाइदिन्, जुन नदी गोदावरीका नामले चिनिन्छ । त्यसो भएर पनौती त्रिवेणी र गोदावरीमा ६–६ वर्षको अन्तरमा गोदावरीमा श्रावण महिनाभरि र पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर १२ वर्षे मेला लाग्छ । नब्बे सालको महाभूकम्पबाट पनि कुनै क्षति नभएको पनौतीलाई बासुकी नागले सुरक्षित गराएका छन् भन्ने विश्वास छ ।


