तरुण खबर
२१ पुष २०७८, बुधबार ०९:३१
रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार स्याफ्रुबेसी-रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो । करिब सय मिटर सडक माथिबाट ठुला ढुङ्गामाटो सहितको सुख्खा पहिरो आएसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनु भयो ।
सडक सुचारु गराउन एउटा स्काभेटरले काम सुरु गरेपनि ठुलो पहिरो भएकाले आज बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उहाँको भनाई छ । सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा बिद्युतका तारहरुमा क्षति पुगेको टिमुरे क्षेत्रको बिद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । सडक अवरुद्ध हुदाँ रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठुला सवारी रोकिएका छन् । टिमुरे जान लागेका करिब २० वटा मालबाहक सवारी बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
स्याफ्रुदेखि रसुवागढीसम्मको सडकमा सवारी आवतजावतमा जोखिम रहेको छ । वर्षातको समयमा छिनछिनमा सडक अबरुद्ध हुने गरेको छ भने हिउँदमा ढुंगा खस्ने तथा सुख्खा पहिरो जाने गरेको पाइएको छ । स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको सडक चीनिया पक्षले निर्माण गर्ने बताए पनि हालसम्म सुरु हुन सकेको छैन ।


