तरुण खबर
२४ पुष २०७८, शनिबार ०९:३९
काठमाडौं । पछिल्ला केही दिनमा कोभिड–१९ तथा यसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) बैठकमा सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा शुक्रबार सिंहदरबारमा बसेको सीसीएमसीसी निर्देशक समितिको बैठकले नेपालमा कोभिडको पछिल्लो अवस्थाको विषयमा जानकारी लिएको छ भने आगामी चालिनुपर्ने रणनीतिबारे छलफलसमेत गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापतिलगायत सम्मिलित बैठकमा सीसीएमसीका अधिकारीले कोभिडकोे अहिलेको अवस्थाका विषयमा जानकारी गराएका थिए ।
सीसीएमसी प्रवक्ता सहसचिव सुनिता नेपालले अहिलेको कोभिड संक्रमणको अवस्था, खोपको स्थिति, मापदण्ड तथा अब कसरी अघि बढ्न सकिन्छ भन्नेजस्ता विषयमा छलफल भएको जानकारी दिइन् । प्रधानमन्त्री देउवाले कोरोनाबारे जनचेतना जगाउने कामलाई तीव्रता दिन निर्देशन दिएका छन् भने खोप अभियानलाई तीव्रता दिन र अत्यावश्यक व्यक्तिका लागि चाँडै बुस्टर डोजको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
कोभिडको संक्रमण बढ्न सक्ने मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले अस्पतालमा अक्सिजनलगायतको व्यवस्था गर्न र सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिनसमेत निर्देशन दिएका छन् । सीसीएमसीसी बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नयाँ भेरियन्ट तथा यसबारे आगामी तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
बैठकमा स्मार्ट लकडाउनदेखि हवाई उडानको विषयमा पनि छलफल भएको थियो । प्रवक्ता नेपालीले बैठकमा विभिन्न विषयमा रिपोर्टिङका साथै छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिएकी छन् । प्रवक्ता नेपालीले सीसीएमसीसीले यसअघि पनि स्थानीय तहमा जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनको कार्यविधिअनुसार अघि बढ्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई सचेत गराउने गरेकाले अहिले पनि कार्यविधिअनुसार बढ्न सक्ने बताएकी छन् ।


