गाँजा विधयक पास भए मुलुकको बजेट ६० खर्बको बन्न सक्ने

गाँजा विधयक पास भए मुलुकको बजेट ६० खर्बको बन्न सक्ने संजीव अधिकारी ९ माघ २०७८, आईतवार ०९:०५
गाँजा विधयक पास भए मुलुकको बजेट ६० खर्बको बन्न सक्ने

काठमाडौं । गत २०७७ फागुन तेश्रो साता प्रतिनिधि सभामा गाँजा खेतीलाई बैध बनाउने सम्बन्धी गैर सरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) दर्ता भएपछि गाँजाप्रति जनचासो बढेको छ । विधेयक दर्ता गर्ने सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको बिक्रीलाई खुल्ला गर्ने हो भने नेपालको अर्थतन्त्र २ र ३ बर्षमै ५० र ६० खर्बको बनाउन सकिने तर्क गर्नु भएको छ् । गाँजा सम्बन्धी तरुणले एक वर्षअगाडी नै अनुसन्धनात्मक समाचार प्रकाशित गरेको थियो ।

सन् २०१८ मा अमेरिकी खाद्य तथा औषधि मन्त्रालयले गाँजालाई औषधिको सूचीमा राखेपछि यस्ले विश्वव्यापी अर्थतन्त्रमा आउने परिवर्तनलाई लिएर अनेकौं खोज र अनुसन्धान भएको छ । ग्राण्ड भ्यू रिर्सचले प्रकाशित गरेको एक तथ्यांक अनुसार सन् २०२५ सम्ममा गाँजाको विश्वव्यापी कारोबार १ सय ४६ दशमलव ४ अर्ब अमेरिकी डलर पुग्नेछ ।

क्यान्सर, मानसिक असन्तुलन, लामो समयदेखिको दुखाई लगायत अन्य विविध शारीरिक र मानसिक समस्या समाधानमा गाँजाले पार्ने सकारात्मक प्रभावका कारण यसको बजार आकाशिने दाबी गरिएको हो । साथै औषधिजन्य बाहेक रमाइलो, सौन्दर्य प्रशाधन र पेय तथा खाद्य पदार्थजस्ता वस्तु र गतिविधीमा प्रयोग हुने भएकाले पनि यस्को बजार बढ्दै जाने निश्चित छ ।

(डब्लु डब्लुडब्लु डट ग्रान्डभ्युरिसर्च डट कम)
विश्वका शक्तिशाली अमेरिका, क्यानडा, जर्मनीजस्ता राष्ट्रहरु गाँजाबाट हुनसक्ने असिमित आर्थिक लाभका पछाडि रणनीतिक ढंगले अघि बढेका छन् । बेलायत , चिन र जापानजस्ता राष्ट्रहरु यसबाट हुनसक्ने असिमित फाइदाबाट मुलुकको अर्थतन्त्र कायापलट गर्ने अभियानमा अनुसन्धान गरिरहेका छन् ।

अमेरिका र क्यानडा लगायतका मुलुकले खर्बौ कमाउने देखेपछि चीन पनि अघोषितरुपमा गाँजा खेतीमा लागेको छ । भारतले गाँजाजन्य औषधिको उत्पादनमा अघि बढ्ने संकेत दिएको छ । रामदेव नेतृत्वको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले त हालै एक अन्तर्वार्तामा गाँजालाई अपराधको कोटीमा राख्न नहुने भन्दै आफुहरुले समेत यसमा अनुसन्धान गरिरहेको खुलासा गरेका छन् ।

खर्बौ रुपैंयाको नियमित आर्थिक लाभ हुने सम्भावना रहेको नेपालमा भने गाँजामाथिको प्रतिबन्ध किन भन्ने न्यायोचित जवाफसमेत भेटिएको छैन । मेरी कप्र्स नामक अमेरिकी संस्थाले सन् २००३ मा गरेको स्थलगत अध्ययन प्रतिवेदनलेसमेत गाँजा प्रतिबन्धपछि रोल्पा लगायतका पहाडी क्षेत्रमा गरिबी बढेको उदेकलाग्दो तथ्य सार्वजनिक गरेको छ ।

“स्थानीयहरुले आफ्नो जिवनशैली विगतमा उच्च रहेको दावी गरेका छन् । ३ दशकअघि उनीहरुको जीवनशैली नेपालको पश्चिमी पहाडी क्षेत्रमध्ये उच्च थियो । विश्व प्रसिद्ध गुणस्तरीय चरेश उत्पादनका कारण सन् १९३० अघिदेखि सन् १९७० को दशकसम्म (नेपालमा प्रतिबन्ध लाग्नुअघि) खाद्यान्न, गरगहना लगायतका वस्तु खरिद गर्न कुनै अप्ठ्यारो थिएन । मगर समुदायका महिलाहरु सुन र चाँदीका गहना सहजै खरिद गर्ने क्षमता राख्थे र रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता थिएन ।

दोश्रो विश्वयुद्धताका भारतमा नेपाली चरेश अत्यन्तै उच्च गुणस्तरको मानिन्थ्यो । गाँजाको रेसाबाट लुगासमेत बनाईन्थ्यो । नेपालमा गाँजा प्रतिबन्धपछि उनीहरुको जीवनस्तर खस्कन थालेको हो । सन् १९७६ र सन् १९८० को बिचमा उनीहरु सम्पन्नताबाट गरिबीतिर झरे । स्थानीयहरुको विचारमा चरेशमाथिको प्रतिबन्ध बच्चाको मुखबाट खाना खोसेजस्तो भएको छ । चरेश प्रतिबन्धपछि उनीहरु बाध्य भएर कालापहाड जानु पर्यो “वेस्टर्न नेपाल कन्फ्लिक्ट एसेसमेन्ट पेज नं. १२,१३,१४,१७,२१ मेरी कप्र्स २००३”

कोकाकोलाः गाँजा मिसिएको कोक बनाउने तयारीमा
कोरोना बियरः गाँजा मिसिएको बियर बनाउने तयारीमा
हाइनिकेनः गाँजा मिसिएको सोडापानी उत्पादनमा संलग्न
मोलसन कुअर्सः अल्कोहल रहित गाँजा बियर उत्पादन
ओरिजिनः गाँजाको फेसप्याक

गाँजाजन्य उत्पादनबाट आर्थिक कायापलट भएका दुई क्यानेडेली कम्पनी
क्यानोपी ग्रोथ कर्पोरेशन
स्थापनाः सन् २०१३
उत्पादनः औषधी र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध सामाग्री
शेयर मूल्यवृद्धीः गत वर्ष मात्र ३ सय प्रतिशत
हालको कम्पनी बजार मूल्यः १४ अर्ब अमेरिकी डलरभन्दाबढी
खुद आयः करिब डेढ अर्ब अमेरिकी डलर सन् २०१७ मा

अरोरा
स्थापनाः सन् २०१४
उत्पादनः औषधी र रमाइलोका लागि प्रयोगहुने गाँजाजन्य विविध सामाग्री
प्रारम्भिक लगानीः ५० लाख अमेरिकी डलर
हालको कम्पनी बजार मूल्यः १२ अर्ब अमेरिकी डलर भन्दाबढी
खुद आयः करिब साढे ४ अर्ब अमेरिकी डलर सन् २०१७ मा

अन्र्तराष्ट्रिय बजारमा गाँजाको मूल्य
बर्लिनमा प्रतिकिलो साढे १३ लाख रुपैँयाभन्दा बढीमा बिक्रिहुने गाँजा नेपालमा प्रहरीलाई फाँड्नै फुर्सद छैन । नेपालमा अवैध भएको कारण यसको बजार मूल्यमा एकरुपता छैन । अवैध बनाइएकाले अर्बौ रुपैँया वर्षेनी गुमिरहेको छ । हाल नेपालमा गाँजा प्रतिकिलो १५ देखि २० हजार रुपँैया र चरेश २ लाखदेखि ४ लाख रुपैँया प्रतिकिलोका दरले अवैध बेचबिखन भई रहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपत बाहेक प्राय सबै भारत जाने गरेको छ । अवैध रुपमा भारत पुग्ने नेपाली गाँजा तथा चरेश गुणस्तरका आधारमा वर्गिकरण गरेर प्रतिकिलो १ लाख देखि ८ लाख रुपैँयासम्ममा बिक्रि हुन्छ । (प्राइसअफविड डट कम)

अन्र्तराष्ट्रिय बजारमा गाँजा तथा चरेशको मूल्य(२०१९ अप्रिल २०मा लिइएको मुल्य)
काठमाडौंः २० रुपैँयादेखि ४ सय रुपैँया प्रति ग्राम
क्यानडाः ८ सय रुपैँयादेखि ३५ सय रुपैँया प्रति ग्राम
अमेरिकाः १२ सय रुपैँयादेखि ३३ सय रुपैँया प्रति ग्राम
नेदरल्याण्डसः ९ सय रुपैँयादेखि १६ सय रुपैँया प्रति ग्राम
जर्मनीः १३ सय ६० रुपैँया प्रतिग्राम
बेल्जियमः ११ सय रुपैयाँदेखि १८ सय रुपैँया प्रति ग्राम

अनुसन्धानकर्ताहरुको नजरमा गाँजाका फाइदाहरु
भगवान शिवसँग जोडिएर लेखिएका हिन्दु धार्मिक ग्रन्थहरुमा प्रयोग गर्न जानेको खण्डमा यसमा अमृत्व पाइने उल्लेख छ । शुरुमा गाँजालाई छिछि दुरदुर गरेका पश्चिमा वैज्ञानिकहरुले नै पछि अनुसन्धानमार्फत गाँजामा अमृत्व हुनसक्ने संकेत गरेका छन् । मन शान्त पार्ने, दुखाई निवारण, फोक्सोमा प्रभाव नपर्ने लगायतका विषयमा पश्चिमाहरुले गरेको अनुसन्धानसँगै यसले क्यान्सर निको पार्न र क्यान्सरबाट हुने पीडा कम गर्ने समेत प्रमाणित भइसकेको छ । पूर्वीय विज्ञानका हजाराँै वर्ष अघिका ग्रन्थहरुमा गाँजाका असिमित फाइदाहरु यसअघिनै लिपिवद्ध भएको पाईन्छ ।

विगतमा नेपाल जस्ता राष्ट्रलाई दबाब दिएर गाँजा प्रतिबन्ध लगाएको अमेरिकामै ३३ वटा प्रान्तमा गाँजाको प्रयोग वैध छ । अन्य १४ प्रान्तमा गााजामा पाईने टीएचसीको मात्रा तोकेर अपराध नमानिने व्यवस्था छ । अमेरिका भित्रनै यो वर्ष ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको गैर औषधिजन्य गाँजाको व्यापार हुने आँकलन गरिएको छ । सन् २०१७ मा अमेरिकाको कोलेराडोमा सन् २०१७ मा डेढ अर्ब बराबरको गैर औषधीजन्य गाँजाको व्यापार भएको तथ्यांक छ ।

गाँजामा पाइने तत्व
सीबीडीः क्यानाबीडायललाई छोटकरीमा सीबीडी भनिन्छ । गाँजामा पाइने २ प्रमुख तत्वमध्ये यो एक हो । यसले नशाको अनुभूति नगराइकन वा अत्यन्तै कममात्र मानसिक प्रभावसहित रोग निदानमा प्रभावकारी भूमिका निर्वाह गर्छ । हाम्रोमा परम्परागतरुपमा प्रयोग हुदै आइरहेको भाङ्गोमा पनि सीबीडी हुन्छ । यसले धेरै प्रकारका रोगहरुको निदानमा भूमिका खेल्न सक्ने देखिएको छ ।

टीएचसीः टेट्राहाइड्रो क्यानाबीनोललाई छोटकरीमा टीएचसी भनिन्छ । यसले नशाको अनुभूति गराएर मानसिक प्रभावसहित रोग निदानमा भूमिका निर्वाह गर्छ । हाम्रोमा परम्परागतरुपमा प्रयोग हँुदै आइरहेको गाँजा वा भाङमा टीएचसी हुन्छ । यसले धेरै प्रकारका रोगहरुको निदानमा भूमिका खेल्नसक्ने देखिएको छ ।

नेपाली गाँजा र चरेशबारे नेपालकै नाममा पुस्तक लेखेर लिखितरुपमा व्याख्यागर्ने पहिलो व्यक्ति सम्भवत कर्णेल कर्कप्याट्रिक हुन् । उनले एन एकाउन्ट अफ दी किङडम अफ नेपौल लेखेका थिए । उनले सन् १७९८ देखि सन् १८०५ सम्म हैदराबादमा बेलायती प्रतिनिधिकारुपमा काम गरेका थिए । लगत्तै चिकित्सक फ्रान्सिस बुचानन् ह्यामिल्टनले सन् १८०२ र सन् १८०३मा १४ महिना नेपालमा बसेर एन एकाउन्ट अफ दी किङडम अफ नेपाल नामक पुस्तक सन् १९१९मा प्रकाशित गरे । यो पुस्तकमा लेखिएको छ “नेपालमा गाँजा एक प्रमुख झार हो । यो झारको नेपालमा खेति गरिदैन र यस्को अधिकतम उपयोग लागू पदार्थका रुपमा हुदैन । यस्को सुख्खा पात र चोप निकालेर प्रयोग गरिन्छ ”

स्वच्छ हावापानी, चिसो वातावरण, पारिलो घाम अनि जंगली उत्पादनका कारण नेपाली गाँजा तथा चरेश नेपालका छिमेकी देशमा सयौं वर्ष अघिदेखि नै अति प्रसिद्ध थिए । पशुपतिमा शिवरात्रीका बेला आउने साधु–सन्त र पारखीहरुलाई नेपालको गाँजा तथा चरेश लोकप्रिय बनाएको पहिलो श्रेय जान्छ । विक्रम सम्वत २०१५को दशकमा अमेरिकाबाट हिप्पी संस्कृति शुरुभएपछि नेपाल भित्रिएका पश्चिमाहरुले नेपाली ब्राण्डलाई विश्वव्यापी बनाएका हुन् । विक्रम सम्वत २०२५को दशकमा हिप्पीहरु नेपाल भित्रिएका हुन ।

आफ्नै विशिष्ट स्वाद बोकेको नेपाली गाँजा, चरेशमा अमेरिकीहरु अत्यधिक पल्कन थालेपछि अमेरिकी सरकार र संयुक्त राष्ट्र संघसमेतको दबाबमा लुगा लगाउने शैली –ड्रेस कोड र आचरण लगायतका मुद्दालाई अघि सार्दै नेपाल सरकारले पर्यटकहरुमाथि धरपकड शुरु गर्यो र धेरैलाई भारत धपाईदिन थाल्यो । त्यसबेलासम्म गाँजा र चरेशको वस्तु विविधिकरण गरेर मूल्य अभिवृद्धिमा समेत विशेषज्ञता हासिल गरिसकेका नेपाली व्यवसायीहरु एकाएक ३० भन्दा बढी विश्व चर्चित पसलको सटर बन्द गर्न बाध्य भए ।

२०३३ सालमा पारित गरिएको लागू औषध नियन्त्रण ऐन र त्यसपछिका संसोधनहरुले समेत वार्षिक अर्बौ रुपैंया आम्दानी हुनसक्ने सम्भाव्य झारलाई अहिलेसम्म हुर्कन दिएको छैन । तर, पनि हिमालयन, वाइल्ड, भर्जिन, नेपोली, नेपाली, धौलागीरी, क्याट लगायतका नाममा नेपाली गाँजा चरेशको ब्राण्ड वैध उत्पादन नहुँदै विश्व बजारमा स्थापित भइसकेको छ । अहिले भारतीय र नेपाली तस्कारहरुको साँठगाँठमा सस्तो मूल्यका गाँजा र चरेशमा मिलावट गरेर बजारमा पठाउने गरिएको भएपनि वैध हुनासाथ विशिष्ट स्वादको नेपाली उत्पादनले अन्र्तराष्ट्रिय बजारको ठूलो हिस्सामाथि कब्जा जमाउने निश्चित छ ।

गाँजा फुकुवा गर्नु पर्ने तर्क
सत्तारुढ नेकपाका मकवानपुर जिल्ला क्षेत्र नम्बर–४ बाट प्रतिनिधित्व गर्ने सांसद तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत वर्ष फागुन ८ गते प्रतिनिधि सभामा बोल्दै गाँजामाथिको प्रतिबन्ध फुकुवा हुनु पर्ने विषयमा संसदीय बहस आरम्भ गरेका छन् । प्रतिबन्ध फुकुवा भएमा ग्रामिण क्षेत्रको आर्थिक वृद्धिदर ह्वात्तै बढाउन सकिने उनको तर्क छ । नियमनकारी निकायलाई प्रभावकारी बनाएर गाँजा फुकुवा गर्नु पर्ने मन्त्री खतिवडा बताउँछन् ।

त्यसलगत्तै नयाँ वर्षको अवसरमा धादिङ र मकवानपुरको सीमानामा पर्ने झण्डाचुलीमा राष्ट्रय झण्डा राख्ने कार्यक्रममा बोल्दै धादिङ ३ बाट निर्वा्चित नेकपाका सांसद भूमि त्रिपाठीले चन्द्रागिरी चेपाङ हिल् पदमार्गलाई गाँजा ट्रेकिङ टे«ल नाम राख्न सार्वजनिक प्रस्ताव गरे । गाँजा फुकुवा हुनु पर्ने विषयले विस्तारै विश्वसमुदायसँगै नेपालमा पनि प्रवेश पाउन थालेको हो । पश्चिमा चिकित्सक तथा वैज्ञानिकहरुले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गाँजाको सेवन वा प्रयोग औषधीय दृष्टिकोणबाट अति फाइदाजनक तथा चुरोट, रक्सिलगायत अन्य लागु पदार्थको तुलनामा अत्यन्तै कम हानिकारक देखिएको छ ।

गाँजाखेती सम्बन्धी विधेयकमा के छ ?
फागुनको तेश्रो साता दर्ता भएको प्रस्तावित विधेयकमा गाँजा खेतीलाई बैधानिकता दिइने उल्लेख छ । तर, गाँजा खेती सरकार नियन्त्रित हुने सीमा तोकिएको छ । गाँजा खेती तथा ओसार–पसारलाई अनुगमन र नियमन गर्ने अधिकार दिएर ‘नियमन बोर्ड’ गठन गर्ने र नियमन बोर्डले गाँजा खेती गर्न चाहने वा ओसार–पसार गर्न चाहनेलाई अनुमति दिनेसम्बन्धी कानुनी व्यवस्था गर्ने विधेयकमा प्रस्ताव गरिएको छ छ ।

गाँजा खेती गर्न चाहने कृषकलाई सम्बन्धित जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट र निकासी तथा विक्री वितरण गर्न चाहने व्यावसायीले नियमन बोर्डबट अनुमति लिनुपर्ने प्रस्तावित व्यवस्था छ । कुन–कुन स्थानीय तहबाट यस्तो अनुमति दिने भन्ने टुङ्गो सरकारले राजपत्रमा सूचना प्रकाशन गरी टुङ्गो लगाउने छ ।

अनुमति नलिई गाँजा खेती गर्नेलाई एक बर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने प्रस्तावित विधेयकको दफा २५ मा उल्लेख छ । गाँजा खेती गर्न चाहनेको आफ्नै जग्गा हुनुपर्ने वा नेपालभर कतै न कतै जग्गा भएको खण्डमा जग्गा भाडामा लिएर गाँजा खेती सक्ने भनिएको छ । यो प्रावधान अनुसार नेपालमा आफ्नो जग्गा नहुने (सुकुम्बासी वा विदेशी) ले गाँजा खेती गर्न पाउने छैनन् ।

गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाङको दाना वा फूल रहेको प्याकेटमा लेबल राखेर मात्रै बिक्री गर्न पाइने विधेयकमा उल्लेख छ । तोकिएको लेबल नलगाए ६ महिनासम्म कैद र १ लाखसम्म जरिवाना हुन सक्ने विधयकमा भनिएको छ ।

अनुमति प्राप्त गर्ने निकायलाई जानकारी गराएर मात्रै गाँजा खेती भित्र्याउनुपर्ने जस्ता प्रावधानहरु पनि विधेयकमा समेटिएका छन् । चिकित्सकको सिफारिसमा मात्र गाँजा सेवन गर्न सकिने गाँजा सेवन गर्न चाहनेका लागि चिकित्सकको सिफारिस अनिवार्य गर्ने प्रस्तावित व्यवस्था विधेयकमा छ ।

गाँजाको अनाधिकृत प्रयोग नहोस् र औषधीका लागि प्रयोग गर्न बाधा नपरोस् भनेर यस्तो व्यवस्था राखिएको सांसद शरबहादुर तामाङले बताए । प्रस्तावित विधेयकमा व्यक्तिगत रुपमा खरिद गर्न चाहने खरिदकर्ता व्यक्तिसँग चिकित्सकको सिफारिस हुनुपर्नेछ । अथवा, गाँजा खरिद गर्न स्वीकृत प्राप्त व्यक्ति वा कम्पनी हुनुपर्ने छ ।

१८ वर्ष भन्दा कम उमेरका व्यक्तिको संलग्नता देखिए गाँजा खेतीको अनुमतिपत्र नपाइने, २१ बर्ष उमेर पूरा नभएका वा गर्भवती महिलालाई विक्री वितरण गर्न नहुने विधेयकमा उल्ल्ेख छ । गाँजा खेती गर्ने कृषकले अनाधिकृत व्यक्तिलाई गाँजा बिक्री वितरण गरेमा वा उपलब्ध गराएमा अनुमति पत्र खारेज हुने र कृषकले गाँजा बिक्री वितरणको विवरण नराखे अनुमति खारेज हुने लगायत प्रस्तावित व्यवस्था छ ।

गाँजाको विज्ञापनमा प्रतिवन्ध
गाँजाको विज्ञापनमा प्रतिबन्ध लगाउने प्रस्तावित व्यवस्था विधेयकमा छ । ‘पत्रपत्रिका, रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चार माध्यमबाट वा होर्डिङबोर्ड, भित्तेलेखन, श्रव्य दृश्यका माध्यमबाट गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न, कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन’ प्रस्तावित विधेयकको दफा १४ मा उल्लेख छ ।

तर, भाङका दाना वा दानाबाट उत्पादन हुने तेल वा मह वा डाँठबाट उत्पादन हुने कपडाजस्ता खाद्य वा औधोगिक वस्तुको भने विज्ञापन गर्न बाधा नपर्ने पनि विधेयकमा भनिएको छ ।

केही दिन अघि गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न सांसद एवं मन्त्री विरोध खतिवडाले गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका थिए । प्रस्तावमा पूर्वसभामुख ओनसरी घर्तीमगर, अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, धर्मशिला चापागाई, झपट रावल, गणेश ठगुन्ना, नारदमुनि रानालगायतले समर्थन गरेका छन् । मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनु पर्ने सांसदहरूको माग छ । सन् १९७० को दशकमा भाँगो तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीलगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको प्रस्तावमा उल्लेख छ ।

नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्रा आर्जन हुने सांसदहरूको तर्क छ । अमेरिका, क्यानाडा, जर्मनीलगायत ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आआफ्नो देशका किसानको आम्दानी वृद्धिका लागि खुला गरिसकेको प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ –‘नेपालको भूभाग प्राकृतिक रूपमै गाँजाखेतीका लागि अब्बल रहेको हुँदा विश्वका अन्य देशले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जन समेतका लागि ध्यानमा राखी कानुन परिमार्जन गरी सरकारको निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा वैधानिकता दिन ढिलो भइरहेकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्दछौं ।’

समृद्धिको लक्ष्य बोकेर हिँडिरहेको सरकारलाई गाँजाको व्यावसायिक खेतीले ठूलो सघाउ पुग्ने धारणा सांसद एवं मन्त्री खतिवडाको छ । उनले भने– ‘अर्थोपार्जनको लागि सहयोगी हुने नगदेबालीको रूपमा विकास हुन सक्दा उब्जाउ हुने विकट भेगमा चरम गरिबीमा रहेका तामाङ, चेपाङजस्ता समुदायलाई उकास्न सघाउनेछ ।’

उनका अनुसार सन् १९७० को पूर्वार्धसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो। नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुन्थ्यो । त्यसमा साना व्यापारी मात्र हैन समाजका गन्यमान्य व्यक्ति र ठूला व्यापारी पनि संलग्न हुन्थे। नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ । औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गरिन्छ । कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ । वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन् । त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ ।

सिंहदरबार वैद्यखानाका पूर्वनिर्देशक प्राध्यापक डा. चन्द्रराज सापकोटाका अनुसार नेपालले समेत पहिलो विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको इतिहास छ । अहिले विश्वमा धेरै खोजिनेमध्येको एक निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुन्छ ।