तरुण खबर
११ माघ २०७८, मंगलवार १०:४०
२०२७ वैशाख ६ गते नेविसंघको स्थापना भएपछि पञ्चायती शासन सत्तामा ठूलो हलचल भयो । नेविसंघका गातिविधि दबाउन बाग्मती अञ्चल विशेष अदालत भनेर गठन गरियो । जस्तो, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, देवेन्द्र नेपाली, उद्धव ढकाल, अरुण कोइराला, भूपति ढकाल, खड्गबहादुर खत्री, नरबहादुर कार्की, कौशलराज रेग्मी, ध्यानगोविन्द रञ्जित, वीरेन्द्रभक्त श्रेष्ठ, हरेन्द्रबहादुर श्रेष्ठ, दुर्गा सुवेदीलगायतका धेरै साथीहरू जेल परे । उनीहरूलाई हामी बसेकै जेलमा ल्याए । अब हाम्रो भान्सा एउटै भयो । उनीहरूको मुद्दामा गणेशराज शर्मा, कुशुम श्रेष्ठ, रामराजा प्रसाद सिंहले बहस गरे । केही महिनापछि उनीहरू छुटे ।
विद्यार्थी नेताहरू आउनुभन्दा अघि जेलमा हामी करिब करिब निरास भएका थियौं । तर विद्यार्थी नेताहरूको जोश, जाँगर र उत्साह देखेपछि हामीलाई लाग्यो, अब पञ्चायतको आयु केही वर्षभित्रै समाप्त हुँदैछ । पञ्चायत छिटो समाप्त नभए पनि केही खुकुलो वातावरण त अवश्य हुनेछ । अब गर्ने भनेकै विद्यार्थीले हो, अर्को विकल्प छैन भन्ने हामीलाई लाग्यो । किनभने सुवर्णजीले हतियार बिसाइसक्नु भएको थियो । ‘पर्ख र हेर’ को अवस्थामा कांग्रेस पुगेको थियो । त्यो अवस्थामा पनि त्रिभुवन विश्वविद्यालयको स्ववियुमा प्रजातन्त्रवादी विद्यार्थी नेता कमल चित्रकारले चुनाव जिते । त्यतिबेला डिएसवाईएल गठन भइसकेको थियो ।
२०२४ सालमा जेलबाट छुटेपछि गिरिजाबाबु पनि प्रवास लागिसक्नुभएको थियो । उहाँले पनि बनारसमा एक खालको वातावरण बनाइसक्नुभएको थियो । वनारसबाट तरुण पत्रिका पनि निस्कन सुरु भइसकेको थियो । शैलजा आचार्य, प्रदीप गिरिलगायतका साथीहरूले तरुण पत्रिका हेर्थे । डिएसवाईएलको अध्यक्ष शैलाजा आचार्य भइन् । रामचन्द्र पौडेल महामन्त्री भए । तर डिएसवाईएल लामो समय अघि बढ्न सकेन । पार्टीकै नेताहरूले विघटन गरे भनेर साथीहरूले मलाई भनेका थिए । पहिले पनि डिएसवाईएल थियो काठमाडौंमा । त्यो डिएसवाईएल मंगला भाउजूको निर्देशनमा गठन भएको थियो । त्यसको अध्यक्ष दयानन्द वैद्य थिए । दयानन्दहरू जेल परेपछि त्यो डिएसवाईएल नेपाल तरुण दलमा बिलिन भयो ।
बीपीबाबुले भन्नु भयो– ‘अब दुई दुईवटा किन चाहियो र ? डिएसवाईएललाई तरुण दलमै मिसाइदिउँ ।’ उहाँको आग्रहअनुसार नै मंगला भाउजूले डिएसवाईएललाई तरुण दलमा विलय गराइदिनुभएको थियो । डिएसवाईएल विघटन भइसकेपछि रामचन्द्र पौडेल, देवेन्द्र नेपाली र ऋषिकेश गौतमलाई दमौलीमा पक्राउ गरियो । रामचन्द्रलाई डेढ वर्ष कैद गरियो । देवेन्द्र नेपाली र ऋषिकेश गौतमलाई हामीलाई राखिएको सेन्ट्रल जेलमै ल्याइयो । २०२५ सालमा ४७ जना साथीहरू आममाफी पाएर छुटेका थिए । बाँकी म, ओमकार पछि समातेर ल्याइएका देवेन्द्र नेपाली, रामचन्द्र, श्रीकृष्ण वैद्य थियौं । हामी ६ नम्बर कोठामा थियौं । ६ नम्बरमा ६ जना भनेर निकै चर्चा हुन्थ्यो ।
बाहिर भइरहेको विद्यार्थी आन्दोलनलाई सहयोग पु¥याउन के गर्न सकिन्छ ? भन्ने विषयमा हाम्रो सरसल्लाह भइरहन्थ्यो । नेविसंघ स्थापनाका लागि घोषणापत्र र झन्डा तयार गर्ने विषयमा छलफल ग¥यौं । झन्डा कस्तो बनाउने भनेर छलफल गर्न एक दुई दिन त समय लाग्ने नै भयो । अन्तिममा आएर कलम र मशाल अंकित झन्डा बनाउने निचोडमा हामी पुग्यौं । कलम र मशालको आर्ट देवेन्द्र नेपालीले गरेका हुन् । आइडिया सबैले सेयर गरेको हो । घोषणापत्र लेख्ने काम हामी सबैको सल्लाहमा रामचन्द्र पौडेलले गरेका हुन् । घोषणापत्र र झन्डालाई बाहिर रहेका साथीहरूसम्म कसरी पु¥याउने ? भन्ने अर्को समस्या भयो ।
त्यतिबेला जेलभित्र उपचार सम्भव भएन भनेर डाक्टरले वीर अस्पताल पठाउने गर्दथ्यो । विरामी भएको निहुँमा जेलको चिकित्सकलाई भनेर वीर अस्पताल जाने सल्लाह भयो हाम्रो । खासगरी दाँत र आँखाको समस्या भयो भने जेलका डाक्टरले वीर अस्पताल पठाउँथे । यसरी हामी वीर अस्पताल गयौं र झन्डाको नमुना र घोषणापत्र ह्यान्डओभर गरिदियौं । पछि सर्वसम्मतबाट नेविसंघको त्यही झन्डा पास भयो । नेविसंघ नामाकरणको बारेमा निकै विवाद भयो । स्टुडेन्ट युनियन अफ नेपाल नाम राख्ने प्रस्ताव निकै धेरै साथीहरूको थियो ।
नेविसंघको दोस्रो महाधिवेशन २०२९ सालमा चितवनको नारायणी नदीको किनारमा भयो । २०१५ सालका उपमन्त्री जमानसिंह गुरुङ त्यतिबेला चितवनमै बस्थे । उनले नेविसंघको दोस्रो महाधिवेशन उद्घाटन गरे । त्यहाँ पनि धेरै नै धरपक्कड भयो । त्यो अधिवेशनबाट शेरबहादुर देउवा सर्वसम्मत अध्यक्ष हुनु भयो । यसरी विद्यार्थी आन्दोलनले संस्थागत रूप लियो । राष्ट्रिय मेलमिलाप नीति लिएर बीपी र गणेशमान स्वदेश फर्कनुभन्दा केही समयअघि २०३३ सालमा नेपाली कांग्रेस काठमाडौ जिल्ला कमिटी पुनर्गठन भयो । बीपीले काठमाडौं जिल्लामा संगठन खोइ ? भनेर सोध्नु होला भनेर किशुनजीले हतार हतारमा कमिटी गठन गर्नुभयो । वीरनाथ कर्माचार्य अध्यक्ष, हरिबोल भट्टराई सचिव, तीर्थराम डंगोल कोषाध्यक्ष, म, श्रीकृष्ण वैद्य, मार्शलजुलुम शाक्य सदस्य थियौं ।
(स्व.श्यामलाल श्रेष्ठसँग केही वर्षअघि परशु घिमिरेले कुराकानी गर्नु भएको थियो ।)


