बीपी पञ्चायती चुनावको विपक्षमा हुनुहुन्थ्यो

बीपी पञ्चायती चुनावको विपक्षमा हुनुहुन्थ्यो तरुण खबर १५ माघ २०७८, शनिबार १२:०४
बीपी पञ्चायती चुनावको विपक्षमा हुनुहुन्थ्यो

सेन्टर जेलमा हुँदा समय बिताउन अनेक गरिन्थ्यो । माथि उल्लेख भएबमोजिम राँगाको मासु प्रकरणमा गोपालप्रसाद भट्टराई र चिजकुमार श्रेष्ठबीच झगडा हुनुको कारक म पनि थिएँ । तर उनीहरूलाई यसको रहस्य बुझाउन नपाँउदै म जेलबाट छुटेँ । गणेशमानजी, किशुनजी, गिरिजाबाबु, मनमोहन अधिकारी, सहाना प्रधान, मंगला भाउजू, मलगायतका १० जना चार महिनापछि एउटै लटमा छुटेका हौं । तर अरु साथीहरूलाई धेरै लामो समयसम्म राख्यो । कसैलाई त एक वर्षसम्म जेल राखियो ।

पहिला पहिला नेताहरूलाई धेरै र कार्यकर्तालाई थोरै समय जेल राखिन्थ्यो, तर सत्याग्रहमा कार्यकर्तालाई लामो समय र नेताहरूलाई छोटै समय जेल राखियो । जेलबाट छुटेपछि अब अर्को आन्दोलनको परिस्थिति कसरी निर्माण गर्ने ? भन्ने अभियानमा हामी जुट्यौं । राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते नेताहरू स्वदेश फर्कनुभन्दा केहीअघि नै किशुनजीले काठमाडौं जिल्ला कार्यसमिति गठन गरिसक्नुभएको थियो । राजधानीसमेत भएकाले काठमाडौं जिल्ला कार्यसमिति निकै सक्रिय थियो, कतिपय जिल्लामा कार्यसमिति नै थिएनन् भने कतिपय जिल्लामा जनमतसंग्रहका बेला कार्यसमिति गठन भएका थिए, तर निष्क्रिय थिए । सत्याग्रहका क्रममा पनि किशुनजीले कतिपय महत्वपूर्ण जिल्लाका कार्यसमितिलाई सक्रिय बनाउनुभएको थियो । काठमाडौंमा सुरुमा पाँचजनाको समिति थियो । म लामो समय सचिव भएर काम गरेँ ।

गिरिजाबाबुको कुरा चाहिँ चुनावमा भाग लिँदा दुईवटा फाइदा हुन्छ भन्ने थियो– जित्न सके आउट पोस्ट कब्जा भई पञ्चायतलाई धरापमा पार्न सकिने, जित्न नसके पनि जनताबीच जाने माध्यम बन्ने तर्क गिरिजाबाबुको थियो । त्यो तर्क ठिकै थियो ।

सत्याग्रह सकिएलगत्तै पञ्चायतको चुनावलाई उपयोग गर्ने कि नगर्ने ? भन्ने विषयमा पार्टीभित्र दुईवटा धार देखियो । प्रत्यक्ष मतदान प्रणालीबाट चुनाव हुने भएकाले भाग लिनुपर्छ भन्ने अभियान गिरिजाबाबुले सुरु गर्नुभयो । गणेशमानजी र किशुनजी चुनावलाई उपयोग गर्ने पक्षमा हुनुहुन्थेन । यहाँनिर एउटा पृष्ठभूमि उजागर गर्नु सान्दर्भिक हुन्छ । बीपी छँदा पनि २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव प्रत्यक्ष मतदान प्रणालीबाटै भएको थियो । त्यो बेला पनि उपयोग गर्ने कि नगर्ने ? भन्ने विषयमा पार्टीभित्र छलफल भएको थियो । तर बीपीले ‘नो’ भन्नु भएको थियो । म त फँसे फँसे, एउटा खुट्टा जेलमा छ एउटा खुट्टा दरबारमा छ, गणेशमानजी त भोलिको प्रधानमन्त्री हो, उहाँलाई किन विवादमा पार्न खोजेका तिमीहरूले ? भनेर साफसँग हकार्नु भयो । कसैले प्रत्युत्तर दिएनन् । यसपछि २०३९ सालको स्थानीय निर्वाचनलाई उपयोग गर्ने कुरा यहीँ सेलायो ।

२०३९ सालको स्थानीय निर्वाचनमा पनि फेरि त्यही कुरा उठ्यो । २०३९ सालको स्थानीय चुनावसम्ममा हाम्रो पार्टीको संगठन गाउँतहसम्म बलियो भइसकेको थियो । २०३६ सालपछि अलि खुला वातावरण भएकाले नेविसंघका क्याडरहरू शिक्षकको रूपमा गाउँगाउँ पुगेर पार्टी संगठनलाई बलियो बनाइसकेका थिए । अन्यत्र चुनाव उपयोग नगरे पनि राजधानी काठमाडौंमा उपयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्देश दिन सकिने कुरा पनि आयो । काठमाडौंमा नेवारलाई अघि सार्दा जातीय सेन्टिमेन्टका कारण चुनाव जित्न सजिलो हुने प्रस्ताव गिरिजाबाबुले राख्नुभयो । गिरिजाबाबुले भनेपछि गणेशमानजी र किशुनजीले पनि ठिकै छ भन्नुभयो । मंगला भाउजूले मार्शलजुलुम शाक्य र श्यामलाल श्रेष्ठमध्ये एकजनालाई काठमाडौंको प्रधानपञ्चमा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राख्नुभयो । तर नेतात्रयको बीचमा भने अर्कै सल्लाह भयो । मार्शल र श्यामलाल दुवैलाई अहिले प्रयोग गर्नु हुन्न, रिजर्भमा राख्नुपर्छ भन्ने निष्कर्षमा नेताहरू पुग्नुभयो । तर यी दुईजनाबाहेक अरुलाई जिताउन सकिन्न कि भन्ने सुझाव कार्यकर्ताबाट आउन थाल्यो । मंगला भाउजूले पनि चुनाव भनेको हार्नका लागि होइन भन्दै अड्डी लिनु भयो । यसपछि मार्शललाई अघि बढाउने कुरा भयो ।

बीपी निकै विरामी भएकाले त्यति सक्रिय हुनुहुन्थेन । निकै महत्वपूर्णबाहेक अरु भेटघाट गर्न छाड्नु भएको थियो । एक हिसाबले त्रयनेतालाई जिम्मेवारी दिइसक्नुभएको थियो । वास्तवमा भन्ने हो भने त्यतिबेला गणेशमानजी र किशुनजीको कुरा कुनै हालतमा पनि पञ्चायतको चुनावमा भाग लिनु हुन्न भन्ने थियो । तर गिरिजाबाबुको कुरा चाहिँ चुनावमा भाग लिँदा दुईवटा फाइदा हुन्छ भन्ने थियो– जित्न सके आउट पोस्ट कब्जा भई पञ्चायतलाई धरापमा पार्न सकिने, जित्न नसके पनि जनताबीच जाने माध्यम बन्ने तर्क गिरिजाबाबुको थियो । त्यो तर्क ठिकै थियो ।

काठमाडौंको प्रधानपञ्चमा मार्शललाई चुनाव लडाउने सहमति नेताहरूबीच भयो । कार्यकर्ताहरूको पनि यही सेन्टिमेन्ट थियो । तर मार्शल स्वयं भने तयार भएनन् । म पञ्चायतको चुनावमा भाग लिने हैसियतको मान्छे हुँ ? भन्दै उनी रिसाए । उनलाई मनाउने जिम्मा नेताहरूले वीरनाथ कर्माचार्य र मलाई दिनुभयो । बडो सकसका साथ हामीले उनलाई मनायौं । तपाईलाई पञ्च हुन पठाउन लागेको हो र ? पार्टीको निर्णयका साथ पञ्चायतलाई कमजोर बनाउन जाने हो, चुनाव पनि जित्नुपर्छ, नेवारी सेन्टिमेन्ट काठमाडौंमा छ, अरुलाई अघि बढाएर चुनाव जित्न सजिलो छैन भन्दै हामीले मार्शल जुलुमलाई सम्झायौं । त्यसपछि उनी तयार भए । मनमोहन भट्टराईलगायतका केही साथीहरूले समय आउनुभन्दा पहिले नै यो कुरा एक्स्पोज गरिदिएछन् । नेताहरूले यो कुरा अहिलेलाई ‘ड्रप गर’ भन्नुभयो ।

बीपीले भन्नु भयो– म त फँसे फँसे, एउटा खुट्टा जेलमा छ, एउटा खुट्टा दरबारमा छ, गणेशमानजी त भोलिको प्रधानमन्त्री हो, उहाँलाई किन विवादमा पार्न खोजेका तिमीहरूले ?’ भनेर साफसँग हकार्नु भयो ।

काठमाडौं जिल्लाका साथीहरूबीच भएका गतिविधि बीपीले थाहा पाइसक्नु भएको रहेछ । बीपीले काठमाडौंका साथीहरूलाई बोलाउनु भयो । वीरनाथ कर्माचार्य जिल्ला सभापति थिए । बैठक कक्षमा हामी यू आकारमा बसेका थियौं । बीपी टक टक हिँड्दै आएर कुर्सीमा पनि नबसी उभिएरै सोध्नुभयो– ‘के छ काठमाडौं जिल्लाको वीरनाथजी ?’ वीरनाथजीले ठीक छ भन्नु भयो । के ठीक छ ? अहिले चुनाव लड्ने कुरा कहाँबाट आयो ? भन्दै बीपी झर्कनुभयो । ‘चुनाव लड्नु हुन्न भन्ने सुझाव गणेशमानजी र किशुनजीकै हो । अहिले आएर चुनाव लड्ने कुरा कसरी आयो ? प्रश्न गर्दै बीपीले भन्नुभयो, तिमीहरूले मार्शललाई लडाउन खोजेको होला, मार्शलले म सामाजिक कार्यकर्ताको हैसियतले चुनाव लड्दैछु भन्ला वा के भन्ला, तर तिमीहरू जस्तो कार्यकर्तालाई गणेशमानजीले हाम्रो उम्मेदवार भनेर भन्नै पर्ने हुन्छ । मार्शललाई सहयोग गर भनेर त भन्नै पर्ने हुन्छ । गणेशमानजी जस्तो नेतालाई पञ्चायतको चुनावमा भोट माग्न सडकमा ल्याउन हुन्छ अ? बीपीले भन्नु भयो– म त फँसे फँसे, एउटा खुट्टा जेलमा छ, एउटा खुट्टा दरबारमा छ, गणेशमानजी त भोलिको प्रधानमन्त्री हो, उहाँलाई किन विवादमा पार्न खोजेका तिमीहरूले ?’ भनेर साफसँग हकार्नु भयो । कसैले प्रत्युत्तर दिएनन्, दिनु पनि कसरी ? यसपछि २०३९ सालको स्थानीय निर्वाचनलाई उपयोग गर्ने कुरा यहीँ सेलायो । २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावलाई उपयोग गर्ने पक्षमा गिरिजाबाबु हुनुहन्थ्यो, तर किशुनजी र गणेशमानजी तयार हुनुभएन ।

२०४४ सालमा फेरि पञ्चायतको स्थानीय चुनाव हुने भयो । त्यतिबेलासम्म गिरिजाबाबुको दरबारमा आवत जावत बाक्लो भइसकेको थियो । राजाले केही सुधान गर्छन् भन्ने कुरामा आशावादी हुँदै गिरिजाबाबुले एक चरणको देश भ्रमण पनि गरिसक्नुभएको थियो । सत्याग्रह सकिएलगत्तै पञ्चायतको स्थानीय निर्वाचन हुने कुरा भयो । २०४४ सालको त्यो निर्वाचनमा पञ्चायतको आउट पोस्ट कब्जा गर्ने नीति पार्टीले लियो । जनताले डाइरेक्ट भोट हाल्ने भएकाले प्रधानपञ्चमा हामीले चाहेको उक्मेदवारलाई जिताउन सकिन्छ भन्ने आँकलन नेताहरूको रह्यो । जिल्ला–जिल्लाबाट पनि यही सुझाव आयो । धाँधली भएन भने पञ्चायतका आउट पोस्ट कब्जा गर्न सकिन्छ भन्ने ठहरमा धेरैजसो साथीहरू पुगे । काठमाडौंमा हरिबोल भट्टराईलाई अघि सारियो । तर पार्टी संगठन बलियो हुँदै गए पनि चुनावका लागि पैसा थिएन ।
(स्वर्गिय श्यामलाल श्रेष्ठसँग परशु घिमिरेले केही वर्षअघि कुराकानी गर्नु भएको थियो ।)