राक्सिराङका जनप्रतिनिधिले सरकारी सुविधा नलिने

राक्सिराङका जनप्रतिनिधिले सरकारी सुविधा नलिने तरुण खबर २० चैत्र २०७८, आईतवार ११:३०
राक्सिराङका जनप्रतिनिधिले सरकारी सुविधा नलिने

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले २५ चैतदेखिको सरकारी सुविधा नलिने घोषणा गरेका छन् । कार्यकालको अन्तिमतिर आउँदै गर्दा राक्सिराङका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वःघोषणा गरेका हुन् ।

शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भए बापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्ययहरूले आ-आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन् ।

‘हामीले राजीनामै दिएर पनि चुनावमा होमिन सक्थ्यौं तर, त्यसो गर्दा जनताको काम प्रभावित हुने देखिएकाले कार्यालयबाट हुने जनताको कामचाहिँ गर्ने तर, सरकारी सुविधा त्याग गर्ने निष्कर्षमा पुगेका छौं,’ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने । उनले भने ‘अर्को पटक पनि पार्टीले टिकट दिएमा र जनताले पत्याएमा पुनः गाउँपालिकाको कामकारवाही सम्हाल्न हामी मध्येधेरै पुनः दोहोरिन सक्छौं । अहिलेलाई सबै सुविधा त्याग्ने छौं ।