हाम्रो धार्मिक यात्रा,राम्रो पाथीभरा

हाम्रो धार्मिक यात्रा,राम्रो पाथीभरा परशु घिमिरे ३० चैत्र २०७८, बुधबार १२:१०
हाम्रो धार्मिक यात्रा,राम्रो पाथीभरा

नेपाल धेरै घुमियो । तर नेपालमा सूर्यको पहिलो झिल्को उदाउने ताप्लेजुङ जाने साईत भने जुरेको थिएन । कञ्चनजंघा हिमालको काखमा अवस्थित र पाथिभारा माताको सानिध्यमा रमाएको ताप्लेजुङ घुम्ने रहर यो पटक बल्ल पुरा हुन पायो । पूर्वि नेपाल आफैंमा धर्म, संस्कृति, इतिहास र जिवन्त जीवनशैलीका कारण परिचित छ । एक हप्ताको छोटो बसाँइमा पूर्वि नेपाल छिचोल्न सम्भव नै छैन । मकालु, वरुण, कञ्चनजंघा, कन्याम, इलाम, तिनजुरे, मिल्के, किच्चकबध,सप्तकोशी क्षेत्र, बराह क्षेत्र, बुढा सुब्बालगायतका अनेकौं रमणिय स्थानहरुमध्ये मैले यो पटकको यात्रामा पाथिभारा, बुढासुब्बा र बराह क्षेत्रलाई रोजें । एक प्रकारले यो पटकको मेरो लागि धार्मिक यात्रा नै बन्यो । पारिवारिक विरासतका कारण धर्म संस्कृतिमा जन्मेदेखिकै रुची अनि स्थान विशेषको इतिहासबारे सोधखोज गर्ने बानीका कारणपनि मैले बुढासुब्बा, बराह क्षेत्र र पाथीभाराको दर्शन भ्रमणलाई रोजेकों हुँ ।

पाथीभरा माता
लिम्बु भाषामा– मुकुम् लुङ, बिकट याचः मुकुम्लुङको अर्थ ः १) मुक = मानसिक र शारीरिक शक्ती २) मुकुम्म = अग्नी ज्वाला, सर्वशक्तीमान, शक्तीको देवता, रण देवता, थेबा या थेवासाम देवताको अर्को नाम; ३) लुङ= ढुङगा, ढुंगाको मूर्ती या प्रतीमा, केन्द्र ४) मुकुम्लुङ = सर्वशक्तीमान देवाताको प्रतिमा या सर्वशक्तीमान देवताको केन्द्र या मठ ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध पाथीभरा मन्दिर तीर्थस्थल हो । पाथीभरा लिम्बु जातिको आराध्या देवताको थान हो, जसलाई हिन्दू एवं बौद्धहरूले समेत पुज्ने महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३,७९४ मिटरको उचाइमा छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुग्न सकिन्छ । यो मन्दिरमा वर्षभरि नै भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुकुम्लुङ“ भनेर चिन्दछन् अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।

विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३,७९४ मिटरको उचाइमा छ ।

मुकुम्लुङ माङ अर्थात पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् । भनिन्छः– परापूर्वकालमा मुकुम्लुङ अर्थात पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ मुकुम्लुङ माङ, पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढङ्गले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा माङले दर्शन दिनु भयो । आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बामा बलि दिए । बलि के दिएका थिए, ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्योभन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाइन्छ । तर बलिस्थलमै रगत हराएको वा सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृिष्टगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्याे तर त्यस्तो हुँदैन । यसैकारण पनि रक्तकाली मुकुम्लुङ्माङले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा छ । आज मुकुम्लुङमाङको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ, जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट माङ्गको दर्शन गर्नुका निम्ति आउने क्रम बढ्दो छ ।

पाथीभरा मन्दिरबाट देखिने हिमालहरुको दृष्य
कञ्चनजंघा : सेवालुङ ८,५८६ मिटर
कञ्चनजंघा : ८,४८२ मिटर
कुम्भकर्ण अर्थात फक्ताङलुङ : ७,७१० मिटर
काङबाचेन : ७,९०३ मिटर
मकालु : ८,४६३ मिटर
लोत्से : ८,५१६ मिटर
लोेत्से : ७,८५५ मिटर
डोम हिमाल : ७,४४२ मिटर

पाथीभरा देवीको मन्दिर निक्कै उचाइमा (३,७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) डिग्रि सेल्सियसको हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले अक्सिजनको अभावका कारण लेकलाग्न (ज्ष्नज ब्तिष्तगमभ क्ष्अपलभकक) र चिसोका कारण न्युनताप (ज्थउयतजभचmष्ब) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लानु पर्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ भनिन्छ । ताप्लेजुङ बजार (फुङलिङ) बाट दुई तीन घण्टामा सिद्धिडाँडा नाम गरेको अति सुन्दर गाउँ आउँछ । यहाँको बुङकुलुङ भन्ने गाउँमा हेर्न लाएक बौद्ध गुम्बा छ, गुम्बामा अनेकौं धार्मिक पुस्तक र मूर्तिहरु छन् । बुङकुलुङमा शेर्पाहरुको ठूलो गुम्बा छ । यो गुम्बाहरुमध्ये प्रसिद्ध छ । यहाँ चार सय वर्षदेखि दियो बलिरहेको छ । मानिसहरु यो बत्तिलाई सत्य युगको बत्ती भन्दछन् । ताप्लेजुङ बजार समुन्द्र सतहदेखि करीब १,८५० मिटर उचाइमा छ । फुङलिङ बजारमा व्यापारीक केन्द्रको रुपमा विकास भैरहेको छ । यो ताप्लेजुङ जिल्ला लिम्बुवानको छ जिल्लाहरुमध्येको एक हो । २०१९ सालमा नेपाललाई १४ अंचल र ७५ जिल्लाहरुमा विभाजन गर्नुभन्दा पहिले यो जिल्ला धनकुटा गौडा अन्तर्गत पर्दथ्यो । ताप्लेजुङ जिल्लाको कुल क्षेत्रफल ३,१५८ वर्ग किलोमिटर क्षेत्रफल छ ।

यो पटकको मेरो धार्मिक तथा पर्यटकीय यात्रामा मेरी धर्मपत्नी गोमा घिमिरे, बिराटनगर टंकिसुनवारीबाट प्रकाश थापा मगर, उहाँकी धर्मपत्नी रञ्जिता थापा मगर, पटनाबाट रुमा बाग्ची, धरानबाट कलेज पढ्दाको प्रिय साथी शिवनाराणय शाह, उहाँको धर्मपत्नी सुशिलाकुमारी शाह र महेन्द्र प्रधान बोहजुको साथ रहयो । र, साथै चालक दिलिप लिम्बु याक्खाको साथ र सहयोग पनि अविस्मरणीय भयो । चालक दिलिप लिम्बु याक्खा रमाइलो हुनुहुदो रहेछ, गाडी चलाउन अति सिपालु सायद बाटामा किरा पनि किचिएन होला । मिठो मिठो गफ गर्दै गइयो–आइयो, उहाँहरुसँग छुट्दा नरमाइलो भयो । झापाको बिर्तामोडबाट इलाम–फिदिम–हुँदै २७० किलोमिटर मेची राजमार्गको यात्रा गरी फुङलिङबाट सुकेटारबाट तल्लो फेदी हुँदै ठूलो फेदी पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । पाँच किलोमिटर सडक तर ठाडो उकालो भएकाले हामीलाई कठिन नै भयो । महेन्द्रजी, म र मेरो श्रीमतीजीलाई जान–आउँन गरेर छ घण्टा लाग्यो भने साथीहरुलाई नौदेखि दश घण्टासम्म लागेको थियो ।

बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर
२०७८ साल चैत १४ हमी दम्पत्ती बिराटनगर ओलियौं । गएको दिन राणाकालिन समयदेखिनै राजनीतिक चेतनाको केन्द्र मानिने बिराटनगर घुमघाम गरेर शोभा होटलमा बास बस्यौं । नेपाली राजनीतिका शिखर व्यक्तित्व बीप कोइराला र ०४६ सालको आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाका कारणले पनि यो स्थान नेपालको राजनीतिक इतिहासमा अलग पहिचान बोकेर बसेको छ । १५ गते दिउसो हामी धरानतिर लाग्यौं, बिहानको खाना खादा दिउसोको दुई बजेको थियो ।

त्योभन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।

१५ गते अर्थात् गएकै दिन बुढा सुब्बा, पिण्डेश्वर मन्दिर र दन्तकाली मन्दिर गएका थियौं । बुढा सुब्बा मन्दिर अर्थात बुढा सुब्बा नेपालको पूर्वमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ । दन्तकालीदेखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइएको थियो भनिन्छ, जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता छ । धरान बिजयपुरको बूढासुब्बा स्थान किराती तथा गैरकिरातीहरूका लागि महत्वपूर्ण मन्दिर मानिन्छ । बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन्, जसलाई बूढासुब्बाको रूपमा पूजा–आजा गर्ने चलन पनि छ । त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो । यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँसहरूको बीचमा रहनु पनि हो । बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ । उक्त दिन बूढासुब्बालाई कुखुराको भाले र सुँगुरको बलि दिने गरिन्छ । नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ । व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढासुब्बा मन्दिरमा पँजा हुँदै आएको बुझिन्छ ।

इतिहासकार इमान सिंह चेम्जोङका अनुसार राजा बिजय नारायण राय खेवाङको पालामा विजयपुर, लिम्बुवान (पल्लो किरात) राज्यको राजधानी थियो भनिन्छ । राजा बिजय नारायणको नामबाट नै विजयपुर नाम रहन गएको हो भनिन्छ । । बुढासुब्बा मन्दिर देशको राजधानी काठमाडौँबाट पूर्वमा लगभग २२० किलोमिटको दूरीमा छ । पिण्डेश्वर मन्दिर धरानको बिजयपुरमा छ । पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पु¥याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गर्ने गरिन्छ । यस मन्दिरमा श्रावण महिना भरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देश विदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गर्दछ ।

दन्तकाली मन्दिर धरान उपनगरपालीका विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ । दन्तकालीको मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो, हाल यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान लगायत अनेक स्थानबाट मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या र भताभङ्गे ,विजयपुरका रमणीय तथा भ्रमण गर्न योग्य स्थानहरू हुन् ।

बराह क्षेत्रमा हामी दुई
हामी दुई जना १६ गते सुनसरी जिल्लाको नेपालकै प्रसिद्ध बराह क्षेत्र गएका थियौं, बिहानको शुभमुहुर्तमा पौडेल थरका बाजेबाट श्राद्ध (सराद्ध) गरायौं । वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल मध्ये एक हो । कोका र कोशी नदी संगममा पर्ने स्थानमा बराहक्षेत्र छ । बराह क्षेत्रका बारेमा ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेख गरिएको छ । यो नेपालको सबैभन्दा प्राचीनमध्येको एक देवस्थल हो । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआजा हुने गर्दछ ।

यो नेपालको सबैभन्दा प्राचीनमध्येको एक देवस्थल हो । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआजा हुने गर्दछ । यो स्थान सुनसरी जिल्लाको धरानदेखि करीब २५ किमिटर उत्तर पश्चिममा छ । वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो ।

यो स्थान सुनसरी जिल्लाको धरानदेखि करीब २५ किमिटर उत्तर पश्चिममा छ । वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो । वि.सं. १९९० सालको भूकम्पबाट यहाँको मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा जुद्ध शमशेरले यो मन्दिरलाई पुनर्निर्माण गराएका थिए । वराह क्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका नौ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करीब १५०० वर्ष अगाडिदेखिका मूर्तिहरू पाइएका छन् ।

वराह क्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट भइनै रहन्छ । तर पनि यहाँ ठूलाठूला मेलाहरू लाग्ने अवसर भने कार्तिक पूर्णिमा र मकर संक्रान्ति आदि हुन् । कार्तिक पूर्णिमाका अवसरमा विशेषगरी भारत तिरबाट र मकर संक्रान्तिका अवसरमा नेपालको पहाडी भागबाट मेला भर्ने ज्यादा जसो मानिसहरू बराहक्षेत्रमा आउने गर्दछन् । यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र पर्वका दिनहरूमा पनि तीर्थयात्रीहरू बराहक्षेत्र पूग्ने गर्दछन् । तसर्थ उक्त स्थानमा दिनहुँजसो मेला लागेको जस्तो महशुस हुने गर्दछ । धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढा सम्म फैलिएको छ ।

हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये दुई वटा भारतमा र दुई वटा नेपालमा ः कुरुक्षेत्र र धर्मछेत्र भारतमा र बरहक्षेत्र र मुक्तिनाथ वा मुक्तिक्षेत्र नेपालमा छन् । भगवान विष्णु, वराहको अवतार लिएर आफ्नो लामो दाँतमा पृथ्वीलाई राखेर पातालमा डुब्नबाट बचाए । तब भगवान आफ्नो श्रीमती लक्ष्मीसँग हिमालय र पहाडको बेंशीमा कोशी नदीको किनारमा बस्नुभयो । त्यसो भएर त्यस ठाउँको नाम त्यो घटनाको पछाडी राखियो । त्यहाँ भगवान विष्णुको बराह अवतारको ठूलो र सुन्दर छवि छ ।

हामी त घुम्न गएका थियौं, १७ गते धनकुटासम्म पुग्यौ, फर्कदा भेडेटार घुम्यौं । भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन् । अझ भेडेटारको भ्यू टावर अर्थात चाल्र्सप्वाइन्ट यस्तो स्थान हो, जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्न सकिन्छ । पहाडको टुप्पोमा सानो तर सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । धनकुटा बजारको उचाइ समुन्द्र सतहबाट १,५२४ मिटरमा छ । धरानबाट धनकुटा बजार पुग्न २५ किलोमिटरमा पुग्न सकिन्छ । हिले बजार र बसन्तपुर जानै पर्ने ठाउँ हुन् तर हामी जान सकेनौं । किन भने १८ गते अर्थात भोलीपल्ट बिहान ३.०० बजे पाथीभरा जाने निर्धारित कार्यक्रम थियो । हिले बजार समुन्द्र सतहबाट २,१३३ उचाइमा छ ।
(वीपियोको सहयोगमा)