कृषकको समस्या समाधान मेरो पहिलो प्राथमिकता

कृषकको समस्या समाधान मेरो पहिलो प्राथमिकता तरुण खबर २६ बैशाख २०७९, सोमबार १०:१४
कृषकको समस्या समाधान मेरो पहिलो प्राथमिकता

काभ्रेपलाञ्चोक । देशको राजधानी काठमाडौंबाट काभ्रेपलाञ्चोक जिल्ला प्रवेशद्वार साँगा २१ किलोमिटर पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ किलोमिटरको दूरीमा छ । रोशी गाउँपालिका पुग्न धुलिखेलबाट २५ किलोमिटर पर्दछ । २०२१ सालअघि पूर्व १ नम्बर चौताराबाट प्रशासित २८ मौजाहरूमध्ये दुई मौजा काभ्रे र पलाञ्चोक थिए । यिनै दुई मौजाको नामबाट काभ्रेपलाञ्चोक जिल्लाको नाम रहन गएको हो ।

वागमती प्रदेश अन्तर्गत पर्ने काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिकामध्ये रोशी गाउँपालिकाकोे पूर्वमा सुनकोसी गाउँपालिका (सिन्धुली), पश्चिममा नमोबुद्ध नगरपालिका, उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन् । रोशी गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्गकिमि रहेको छ । अब नेपालमा जम्मा ७५३ स्थानीय तह छन्, जसमध्ये काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिकामध्येको एक हो रोशी गाउँपालिका ।

राजनीतिलाई सम्मानित र समाजसेवाको उपमा दिन अगाडी बढेका एक युवाको नाम हो दिनेश लामा । विद्यावारिधी (पिएचडी) अध्ययनरत लामा नेपाली काँग्रेस संघिय क्षेत्र नम्बर १ काभ्रेपलाञ्चोकका बर्तमान सभापति समेत हुन् । रोशी गाउँपालिकालाई समृद्ध बनाउने योजनासहित स्थानीय तहको निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा गठबन्धन दलहरुको तर्फबाट उम्मेद्वार बनेका छन् ।

दिनेश लामाको जन्म वि.सं. २०३६ साल जेठ १७ गते महाभारत–४, बुढाखानीमा भएको हो । कान्छामान योन्जन तामाङ र कान्छी माया तामाङका तेस्रो सन्तानको रुपमा जन्मिएका उनको परिवारपछि रोशी–१० वाल्टिङ्गमा स्थायी रुपमा बसोबास गर्दै आएको छ । आफू जन्मिएको स्थानमा विद्यालय नहुँदा लामाले निकै संघर्ष गरेर पढ्नु परेको थियो । आफुले गर्नु परेको संर्घषलाई आत्मसाथ गर्दै आफुले चुनाव जितेपनि हारेपनि शिक्षा र कृषि क्षेत्रको परिवर्तनका लागि लागि पर्ने बताउँछन् । सुरुवाती ६ महिना अनौपचारिक अध्ययन गरेका उनको औपचारिक शिक्षा हालको महाभारत गाउँपालिका स्थित गाम्रोन्नती प्राविबाट भयो । त्यहाँ कक्षा १ मा अध्ययन गरेपनि कक्षा २ मा पढ्न उनी विन्धवासिनी प्रावि मंगलटार आए । जन्मथलो बुढाखानीमै विद्यालय स्थापना भएपछि कक्षा ३ मा पढ्न गाउँकै भुमेश्वरी प्राविमा भर्ना भए । कक्षा ४ पढ्नको लागि गाउँमा विद्यालय थिएन । सन्तानको शिक्षाकै लागि उनको परिवार वाल्टिङमा बसाई सर्यो । एसएलसी सम्मको अध्ययन उनले रोशी गाउँपालिका वडा नं.१० स्थित स्थानीय पञ्चकन्या माविबाट गरे । महेन्द्र रत्न क्याम्पस ताहाचलबाट आइ.एड उत्तीर्ण उनले ताचहलबाटै अंग्रेजी विषय लिएर वि.एड. अध्ययन गरे । २०६६ सालमा त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र विषयमा स्नातकोत्तर फष्ट डिभिजनमा पास गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमै एम.फिल. गरे । अहिले त्रि.वि.मै पिएचडी अध्ययन गरिरहेका छन् ।

विद्यार्र्थी जीवनदेखिनै विद्यार्थी राजनीति शुरु गरेका उनी २०५२ सालमानै पञ्चकन्या माविमा नेविसंघ एकाइ समितिको सभापति भए । २०५७ सालमा नेविसंघको जिल्ला सदस्य भएका उनी २०५९ सालमा जिल्ला सहसचिव र २०६३ सालमा जिल्ला उपाध्यक्ष बने । २०६२ र ६२ को आन्दोलनका बेला सक्रिय भूमिका निर्वाह गरेका लामाले त्यस समयमा ७२ घण्टासम्म प्रहरी प्रशिक्षण महाराजगन्जमा बन्दी जीवन विताए । जनआन्दोलनमा घाइते भएका बेला उनी बागबजारबाट नेता शिवप्रसाद हुमागाईसँगै पक्राउ परेका थिए । जनआन्दोलनकै समयमा नेविसंघ काभ्रे सभापति सुन्दरमणी हिरासत परेपछि नेविसंघ काभ्रेको कार्यबहाक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका थिए । पत्रकारीतामा पनि सक्रिय उनी प्रतिगमन विरुद्ध पटक पटक अनसनमा बसेका छन् ।

नेपाली कांग्रेसको १२औं महाधिवेशनमा शिवप्रसाद हुमागाई नेतृत्वको जिल्ला कार्यसमितिमा सदस्य निर्वाचित भएपछि जिल्ला प्रशिक्षण शाखा प्रमुखको रुपमा उनले धेरै स्थानमा पार्टीका प्रशिक्षण समेत चलाए । १३औं महाधिवशेनमा मधु आचार्य नेतृत्वको जिल्ला कार्यसमितिमा सचिव निर्वाचित भएका थिए । कांग्रेसको १४औ महाधिवेशनमा उनी काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका छन् ।

शान्ति जनआदर्श सेवा केन्द्रको कार्यकारी निर्देशक भएर काम गरेका उनी जिल्लाका सबै टोल बस्तीमा पुगेका छन् । हाल जिल्लाको ठूलो मध्येको एक गैरसरकारी संस्था नाङ्गसाल एशोसिएसनको अध्यक्ष रहेका उनले संस्थामार्फत शिक्षण सिकाई कृयाकलाप, बालबालिका, स्वास्थ्य, भूकम्पपछिको पुननिर्माणको क्षेत्रमा काम गरेका छन् । रोशीको धेरै बस्ती र विद्यालयमा उनी राहत र संस्थाका कार्यक्रम लिएर पुगेका छन् । भूकम्पपछिको पुनर्निमाण र राहतमा काम गरेका उनी कोरोना महामारीको समयमा पनि राहत लिएर पुगेका थिए ।

रत्नराज्य क्याम्पसमा समाजशास्त्र विषयमा प्राध्यापन गराउदै आएका उनी भाषिक, जातीय उत्पीडनको विरुद्धमा आवाज उठाउने मध्येका एक सशक्त पात्र हुन् । योजना निर्माण, कार्यान्वयन, दातृ निकायको समन्वय साझेदारीमा विशेष क्षमता र दख्खल राख्ने दिनेश स्थानीय सरकारको नेतृत्व गर्ने उपयुक्त पात्रको रुपमा सबैसामु प्रष्ट रुपमा चिनिएका छन् । राम्रो पब्लिक रिलेसन भएका उनी स्थानीय तहलाई प्रदेश र संघ सरकारसंग जोड्ने दरबिलो पुल हुन सक्ने सबैको आकंलन छ । उनि भन्छन् चुनाव जिते पछाडीको पहिलो प्राथमिकता भनेकै कृषकहरुको समस्या समाधान हो । उनी भन्छन्– नाम्लो, दाम्लो, कुटो, कोदालो समात्दै हुर्किएको ब्यक्ति हुँ, त्यसैले कृषकको समस्या मेरो पहिलो प्राथमिकता हो । उनी भन्छन्– निर्वाहमुखी र व्यावसायिक कृषिको वर्तमान अवस्थालाई गाउँपालिकाले मूल्य अभिवृद्धि कृषिमा बदल्न जरुरी देखिएको छ ।

यसको पहिलो प्राथमिकिकरण गरिनेछ । रोशीका महाभारत शृंखलाअन्तर्गत रहेका पहाडी क्षेत्रमा अमिलोजन्य फलपूmलका लागि उर्वरभूमि देखिन्छ । मौसम, सुन्तला, जुनारलाई सोझै बेच्ने वा मूल्य बढेको बेला बेच्ने गरी चिस्यान गृहमा राख्ने भन्ने विषयमा मेरो ध्यान जानेछ । रोशीका उच्च पहाडी भेगका कृषि उत्पादनहरूमा उत्पादित ठाउँको उचाइ, हावापानी खुल्ने गरी प्याकेजिङसहित रोशी नामको ब्रान्डबाट बजारको खोजी गरिने उनको भनाइ छ । यसका लागि संकलन केन्द्र, उपभोक्त समूह, वितरण समूह जस्ता व्यवस्थापकीय पक्षको खोजी गर्दै संस्थागत गरिनेछ । सात महिनामा पाक्ने तोरी, मकै, आलु, गहुँ, जौ, फापरजस्ता उत्पादन तीन महिनाभन्दा कम समयमा पाक्ने खाद्यबालीसँगै मिसाएर बजारमा पठाउने अहिलेको प्रचलन रोक्दै यसको विकल्प गाउँपालिकाले खोजिदिने समेत बताए । रोशी ब्रान्डमार्फत रोशीका उच्च गुणस्तरीय र अर्गानिक सामग्रीहरूको बेचबिखनका लागि बजारीकरणमा कृषकहरुलाई सहयोग गर्ने उनको भनाइ छ ।
लामा रोशी गाउँपालिका अध्यक्षका उम्मेद्वार हुन्